Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कक्षा १२ सञ्चालित विद्यालयले दुई बर्ष भित्र कक्षा एक देखि नै सञ्चालन गर्नु पर्ने

कक्षा एकबाट नै शुरु गर्नुपर्ने वा कम्पनी वा गुठीसँग मर्ज भइ एकै नामबाट सञ्चालन हुनुपर्ने

विहीबार, ३२ साउन २०८०

काठमाडौ - कक्षा ११ र १२ मात्रै सञ्चालन हुँदै आएका निजी विद्यालयहरुले दुई बर्ष भित्रमा कक्षा एक देखि नै सञ्चालन गर्नु पर्ने भएको छ । काठमाडौ महानगरपालिकाले २०७५ सालमा जारी गरेको शिक्षा ऐनको पहिलो संशोधन गर्दै कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम मात्र सञ्चालन गरिरहेका शिक्षण संस्थाले दुई वर्षभित्र कक्षा १० सम्मका शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्नु पर्ने व्यवस्था गरेको हो  । 

त्यस्ता शिक्षण संस्थाले तल्ला तहका नयाँ कक्षा सञ्चालन गर्न निजी वा सार्वजनिक गुठीका रूपमा दर्ता भई कक्षा एकबाट नै शुरु गर्नुपर्ने वा कम्पनी वा गुठीसँग एकीकरण (मर्ज) भइ एकै नामबाट सञ्चालन हुनुपर्ने व्यवस्था गरेको हो ।

साविकको उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धनबाट सञ्चालित १० जोड २ अर्थात् साविकका निजी उच्च माध्यमिक विद्यालयहरुले कक्षा एक देखि नै सञ्चालन गर्नु पर्ने नियम लामो समय देखि उलंघन गर्दै आएका छन् । २०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले परिषद् खारेज गरे पनि निजी विद्यालयहरुले अहिले सम्म उच्च माविकै शैलीमा भर्ना लगागतका शैक्षिक कृयाकलाप गदै आएका छन् । ऐनको उक्त संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी एक - आठ लाई आधारभूत र नौ - १२ लाई माध्यमिक हुने व्यवस्था गरेको छ । 

सोही व्यवस्थाका आधारमा महानगरले कडाई गर्ने गरी ऐनमा संशोधन गरेको हो । नगरसभाको १३ औं अधिवेशनबाट स्विकृत विधेयक गत साउन ११ प्रमाणिकरण गरी स्थानीय राजपत्रमा प्रकाशन गरिएको छ । 

प्रतिक्रिया