Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त

मंगलबार, ३० साउन २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भट्टराईलाई सेवा आयोगको अध्यक्षमा नियुक्ति गरेका हुन् ।

सत्ताधारी दल नेपाली काँग्रेस निकट प्राध्यापक संघ त्रिभुवन विश्वविद्यालय कमिटिका निवर्तमान अध्यक्ष भट्टराई ईतिहास विषयका प्राध्यापक हुन् । उनी हाल विश्वविद्यालयको 'टुरिज्म एण्ड हस्पिटालिटि' कार्यक्रमको संयोजकका रुपमा कार्यरत थिए ।  

चार बर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले यस अघिका अध्यक्ष प्रा.डा. लालु पौडेलको नियुक्ति गरेका थिए । पौडेलको कार्यकाल गत बर्ष साउन १७ गते सकिए पछि एक बर्ष यता आयोग नेतृत्व विहीन थियो ।

नयाँ अध्यक्षका लागि तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेलले गत बर्ष अध्यक्ष छनौटका लागि प्रकृया शुरु गरेका थिए । गत बर्ष भदौ २८ गते माग गरिएको आवेदन पछि छनौट भएका ३४ उम्मेद्वारको प्रकृया रद्द गरेर सहकुलपति समेत रहेका शिक्षा मन्त्री अशोक कुमार राईले यस पटक फेरी नयाँ प्रकृया शुरु गराएका थिए ।  

गत शुक्रबार दिउँसो ३ बजे सम्म बायोडाटा सहित आवेदन दिन तोकिएको समय भित्र आवेदन हालेका ७९ जना मध्येबाट सिफारिस समितिले भट्टराई सहित गणितका टंकनाथ धमला र निलम श्रेष्ठ प्रधानको नाम सिफारिस गरेको थियो । 
अध्यक्ष नहुँदा विश्वविद्यालयका शिक्षक, कर्मचारीको नियुक्ति र बुढुवाका परीक्षा लगायतका काम अलपत्र छन् ।

प्रतिक्रिया