Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीसँग कुनै पनि शिर्षकमा शुल्क नअसुल्न सचेत

कतिपय विद्यालयहरुले मासिक शुल्क मात्रै छात्रवृत्ति भन्दै भर्ना शुल्क माग गरेको गुनासो

मंगलबार, ३० साउन २०८०

काठमाडौ - छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीसँग कुनै पनि शिर्षकमा शुल्क नअसुल्न काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई सचेत गराएको छ । कक्षा ११ मा विद्यालयले दिनु पर्ने छात्रवृत्तिका लागि महानगरले परीक्षा लिएर विद्यार्थीको योग्यताक्रम अनुसार अन्तिम भर्ना सूची सार्वजनिक गरेर सम्बन्धित विद्यालयमा भर्नाका लागि सिफारिस गरिसकेको छ । 

यसरी भर्ना हुन गएका विद्यार्थीबाट निजी विद्यालयहरुले धरौटी, ल्याव, पुस्तकालय जस्ता विभिन्न शिर्षकमा रकम असुल्न थाले पछि महानगरले सम्बन्धित विद्यालयहरुलाई सचेत गराएको हो । कतिपय विद्यालयहरुले मासिक शुल्क मात्रै छात्रवृत्ति भन्दै भर्ना शुल्क माग गरेको गुनासो आए पछि महानगरले विद्यालयहरुलाई सचेत गराएको हो । 

छात्रवृत्ति भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याव, पुस्तकालय वापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भएका बारे महानगरले विद्यालयहरुलाई पुुन सूचित गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले स्पष्ट पारेका छन् ।

संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि महानगरपालिकाले लिएको परीक्षाको नतिजा गत २० गते सार्वजनिक भएको थियो । छात्रवृत्ति कोटा भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी नभएका कारण परीक्षामा सहभागी प्राय सबैले पढ्न पाउने भएका थिए । यसरी छनौट भएका हरेक विद्यार्थीले आफ्नो रोजाई अनुसार क्रमशः १० वटा विद्यालय छान्न पाउने र मेरिटका आधारमा विद्यालय छनौट गर्दै विद्यार्थी चयन गर्ने प्रणाली महानगरले विकास गरेको छ । सोही प्रणालीका आधारमा सिफारिस भएका विद्यार्थीबाट शुल्क असुल्न थाले पछि महानगरले सचेत गराएको हो ।  

महानगर भित्रका करिव दुई सय निजी विद्यालयमा ति विद्यार्थीले पढ्न पाउने भएका छन् । गत बर्ष कक्षा १२ को परीक्षामा सहभागिताको आधारमा छात्रवृत्ति दिने विद्यालय तय गरिएको महानगरले जनाएको छ । छात्रवृत्तिका लागि आवेदन हालेका छ हजार १७ विद्यार्थी मध्ये पाँच हजार एक सय ६२ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । 

यस अघि राष्ट्रिय परीक्षा बोर्डले वितरण गर्ने छात्रवृत्तिमा पहुँचवालाको मात्रै वाहुल्यता भए पछि स्थानीय सरकारहरुले आफ्ना क्षेत्र भित्रका विद्यालयमा परीक्षा लिएर आफैंले विद्यार्थी छनौट गर्न थालेका हुन् । 

प्रतिक्रिया