Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

शैक्षिक योग्यता घटाउँदा आकाँक्षीको संख्या बढी

दलगत आवद्धता वा मन्त्री निकट भएकै आधारमा नियुक्ति हुने आशाले धेरैले आवेदन हालेको शंका

सोमबार, २९ साउन २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष हुन ७९ जनाले आवेदन हालेका छन् । गत शुक्रबार दिउँसो ३ बजे सम्म बायोडाटा सहित आवेदन दिन तोकिएको समय भित्र उक्त संख्यामा आवेदन परेको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । 

आयोगको सदस्यका लागि प्राध्यापक हुनु पर्ने व्यवस्था भए पनि अध्यक्षको योग्यता तोकिएको छैन । तर पनि सामान्यतया प्राध्यापकहरुबाटै आयोग अध्यक्ष नियुक्त गर्ने प्रचलन रहि आएको छ । यस पटक योग्यता नतोकिएको सोही छिद्र समातेर कम्तिमा सहप्राध्यापक पदमा कार्य गरेकोले आवेदन हाल्न पाउने उल्लेख गरिएको थियो । 

दलगत आवद्धता वा मन्त्री निकट भएकै आधारमा नियुक्ति गर्ने अभिप्रायले यस्तो व्यवस्था राखिएको हुन सक्ने विश्वविद्यालयका प्राध्यापकहरुले गर्दै आएको शंकालाई उक्त संख्याले बल पुगेको छ । अध्यक्ष छनौटका लागि कार्यविधि तय गरेर अँक निर्धारण गर्ने गरिन्थ्यो । शैक्षिक योग्यता र अनुभव सहितको व्यक्तिगत विवरण, पदीय दायित्व,  प्रशासनिक दक्षता, तालिम, राष्ट्रिय अन्र्तराट्रिय जर्नलहरुमा प्रकाशित लेख रचना, कार्यक्षेत्रमा प्राप्त प्रशंसा, पदक र पुरस्कार जस्ता विषय खुलाएर  आवेदन हाल्न भनिन्थ्यो । सोही आधारमा सिफारिस समितिले सिफारिस गर्ने गरिन्थ्यो । 

तर यस पटक अध्यक्षको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको गत मंगलबारको बैठकले त्रिभुवन विश्वविद्यालयमा कम्तिमा सहायक प्राध्यापक पदमा कार्य गरेकालाई आवेदन हाल्न पाउने निर्णय गरेको थियो । सोही अनुसार यस पटक आकाँक्षीको संख्या ह्वात्तै बढेको हो ।   

गत बर्ष भदौ २८ गते माग गरिएको आवेदन पछि छनौट भएका ३४ उम्मेद्वारको प्रकृया रद्द गरेर शिक्षा मन्त्रालयले यस पटक फेरी प्रकृया शुरु गरेको हो । 

यस अघि कै रोष्टरका आधारमा नियुक्ति हुने ब्यापक चर्चा चलिरहेको थियो । तिनै ३४ मध्ये सत्ताधारी दल नेकपा एकिकृत समाजवादी निकट प्राध्यापक संगठनका अध्यक्ष प्रा. विजय सिलवालको नियुक्ति हुने चर्चा चलेको थियो । तर, विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री अशोक राईले नयाँ प्रकृया शुरु गराएका हुन् । चार बर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले यस अघिका अध्यक्ष प्रा.डा. लालु पौडेलको नियुक्ति गरेका थिए । पौडेलको कार्यकाल गत बर्ष साउन १७ गते सकिए पछि एक बर्ष यता आयोग नेतृत्व विहीन छ ।  

पौडेलको अवधि सकिए पछि विश्वविद्यालयका कुलपति समेत रहका तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले सहकुलपति समेत रहेका तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेलको संयोकत्वमा सिफारिस समिति बनाएका थिए । त्यतिखेर ३५ जनाले आवेदन हालेकोमा एक जनाको योग्यता नपुगेको भनेर ३४ जनाको नाम अन्तिम रोष्टरमा राखेको थियो । तर नियुक्ति गर्नु अघि नै सरकार परिवर्तन भए पछि एक बर्ष देखि अध्यक्ष पद रिक्त छ । यसले गर्दा विश्वविद्यालयका शिक्षक, कर्मचारीको नियुक्ति र बुढुवाका परीक्षा लगायतका काम अलपत्र छन् ।

प्रतिक्रिया