Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

आयोगको नयाँ उपाध्यक्षको नियुक्ति प्रकृया शुरु

व्यवसायिक कार्ययोजना र सोचपत्र सहितको आवेदन १५ दिन भित्र सिफारिस समिति समक्ष पेश गर्नु पर्ने

आइतबार, २८ साउन २०८०

काठमाडौ - अहिलेका उपाध्यक्षको कार्यकाल सकिन एक महिना बाँकी रहँदा शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगको नयाँ उपाध्यक्षको नियुक्ति प्रकृया शुरु गरेको छ । २०७६ साल भदौ २६ गते नियुक्त भएका प्रा.डा. श्रीकृष्ण गिरीको चार बर्षे कार्यकाल आगामी भदौ २६ गते सकिने भए पछि मन्त्रालयले नयाँ नियुक्तिको प्रकृया शुरु गरेको हो । चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सिफारिस समिति गठन गरी मन्त्रालयले प्रकृया शुरु गरेको हो । 

ईच्छुक व्यक्तिले ४ बर्षे व्यवसायिक कार्ययोजना र सोचपत्र सहितको आवेदन १५ दिन भित्र सिफारिस समिति समक्ष पेश गर्नु पर्ने छ । प्राप्त आवेदनहरु मध्येबाट अन्तिम तीन जनाको नाम समितिले सरकार समक्ष सिफारिस गर्ने छ । 
चिकित्सा शिक्षामा जारी वेथिती अन्त्य र नियमन तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउनका आवश्यक नियमन, अनुगमन गर्नका लागि आयोगको गठन गरिएको थियो । चिकित्सा शिक्षामा बढ्दो बेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीको आन्दोलनको बलमा आयोग गठन भएको थियो । 

चिकित्सा शिक्षा ऐन प्रमाणीकरण भएको ६ महिना पछि तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको पालामा अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरी उपाध्यक्ष बन्न सफल भएका थिए । त्यतिखेर आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र गिरी अन्तिम तीनको सूचीमा परेका थिए । 

आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । आयोगको अध्यक्षमा भने प्रधानमन्त्री रहने व्यवस्था छ । 

आयोगलाई चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने जिम्मेवारी छ । यसैगरी एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिने लगायतका काम आयोगको हो । 

प्रतिक्रिया