Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सार्वजनिक शिक्षा प्रति स्थानीय सरकारको खोट देखिएको आरोप, निजी विद्यालयलाई दिएको रकम फिर्ता गर्न माग

बुधबार, २४ साउन २०८०

ललितपुर - सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्न छाडेर निजी विद्यालयलाई गरिएको आर्थिक सहयोगको विप्लव निकट अखिल क्रान्तिकारीले विरोध गरेको छ । गत बर्षको कक्षा १० को अन्तिम परीक्षा एसईईमा चार जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई ललितपुर महानगरपालिकाले प्रोत्साहन भन्दै ५२ लाख रुपैंया वितरण गरेको थियो । पालिका भित्रका नाम चलेका विभिन्न ६ वटा निजी विद्यालयलाई चार लाख रुपैंयाको दरले र ती विद्यालयका १४ विद्यार्थीलाई दुई लाख रुपैंयाको दरले गत मंगलबार रकम वितरण गरिएको थियो । 

उक्त कार्यले सार्वजनिक शिक्षा प्रति स्थानीय सरकारको खोट देखिएको आरोप लगाउँदै संगठनले उक्त रकम सामुदायिक विद्यालयको शैक्षिक सुधारमा खर्च गर्न माग गरेको छ । उक्त माग सहित संगठनका कार्यकर्ताले महानगरपालिका अघिल्तिर विरोध प्रदर्शन समेत गरेका छन् । भण्डाफोर कार्यक्रमको व्यानर सहित भएको उक्त कार्यक्रममा संगठनका नेता कार्यकर्ताले सम्बाधेन गर्दै मेयर चिरीबाबु महर्जनलाई तत्काल उक्त रकम फिर्ता गर्न स्मरण गराएका छन् । 

कार्यक्रममा वितरित ललितपुर संयोजक जनक सी र ईञ्चार्ज निगम सीको हस्ताक्षर रहेको विज्ञप्तिमा उक्त कार्यलाई स्थानीय सरकारबाट भएको सामुदायिक शिक्षा विरोधी कार्य भनिएको छ । 

'नाफाखोर निजी स्कललाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्ने कार्य न संविधान अनुरुप छ न त नीतिगत रुपमा नै मिल्छ' विज्ञप्तिमा भनिएको छ, 'निजी विद्यालय र निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई दिएको ५२ लाख रुपैंया सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयको पुर्वाधार विकास, पुस्तकालय लगायत अन्य कार्यमा खर्च गर्नु पर्नेमा उल्टै निजी शिक्षालाई प्रोत्साहन गर्नुले स्थानीय सरकार भनिएको महानगरपालिकाको सामुदायिक शिक्षालाई हेर्ने दृष्टिकोणमै खोट रहेको कुरा उजागर गरेको छ ।'

प्रतिक्रिया