भक्तपुर - भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले विज्ञान शिक्षक समक्ष नेपालको कृषि अनुसन्धान केन्द्र 'नार्क' हो कि 'नरक' छुट्टयाउन गाह्रो भएको बताउँदा विज्ञान शिक्षकहरूमा अन्यमनस्कता फैलियो ।
साँच्चै, नगरप्रमुख प्रजापतिले भनेजस्तै नार्क, नरकमा बदलिँदै छ त ? गम्भीर प्रश्नसँगै विज्ञान शिक्षकहरूले आफूले पढाउँदै आइरहेको विद्यालयका विज्ञान प्रयोगशाला अर्थात् साइन्स ल्याब सम्झन पुगे ।
नगरपालिकाको मावि तहका विज्ञान शिक्षकहरुको कार्यशाला गोष्ठीमा मेयर प्रजापतिको उक्त धारणा उद्घाटन सत्रमा मात्र सीमित भएन ।
'हाम्रा विद्यालयका साइन्स ल्याब पनि खासमा ल्याब जस्ता छैनन्, ठाउँ पुगेको छैन, ल्याबका लागि चाहिने सामान र सामग्री छैनन्, विद्यार्थीलाई साइन्स पाठमै भएका चित्रको भरमा सम्झाउन, बुझाउन परेको छ' गोष्ठीमा सहभागी एक विज्ञान शिक्षकले चिया खाने बेलामा बाध्यता सुनाउँदै ल्याबलाई विद्यालयले प्राथमिकतामा नराखेकोमा दुखेसो समेत पोखे ।
इमानदारी पूर्वक काम भएको भए हाम्रो देशको कृषि अनुसन्धान केन्द्र ‘नार्क’ लाई नरक भनिने थिएन भन्दै उद्घाटन सत्रमा नगरप्रमुख प्रजापतिले शिक्षकहरूलाई विज्ञान ल्यााबलाई जीवन्त बनाउन आग्रह गरेका थिए ।
विज्ञान विषयको शिक्षण प्रयोग विना प्रभावकारी हुँदैन । संसारको विकास र विनास विज्ञानकै कारण भएको हो । विद्यार्थीलाई विज्ञान देश र समाजको सेवा गर्ने उद्देश्यसँग जोडेर अगाडि लानुपर्ने छ, उनले भने, नगरपालिकासँग मावि तहका विद्यालयहरुमा विज्ञान र गणित प्रयोगशाला बनाउँदै जाने नीति रहेको छ ।
विज्ञानको प्रगतिको लागि संसारमा अहिले चीन र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले थपे, ‘अनुसन्धानमा अमेरिकाले वार्षिक ६ खर्ब डलर खर्च गर्छ भने चीन ४ खर्ब डलर खर्च गर्छ जबकि नेपालले ४१ करोड रुपैयाँ अनुसन्धानको लागि बजेट छुट्याउँछ, त्यही पनि पूरा गर्न सक्दैन ।’
प्रमुख प्रजापतिले शिक्षण पेशालाई केबल जीविका निर्वाह गर्ने ढंगले नहेरी नयाँ पुस्तालाई देश र समाजको लागि सेवा गर्ने भावना सहितको जनशक्ति तयार गर्ने पेशाको रुपमा ग्रहण गर्न आग्रह गर्न पनि भुलेनन् ।
गोष्ठीमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले आफू पनि १७ वर्ष शिक्षण पछि निजामतिमा आएको बताउँदै हरेक शिक्षकले पाठ्यपुस्तक मात्र होइन पाठ्यक्रम पनि पढ्नुपर्नेमा जोड दिए । उनले भय रहित शिक्षणको चर्चा गर्दै विद्यार्थीलाई बढीभन्दा बढी प्रश्न गर्न सक्ने बनाउन सके शिक्षण सिकाइ बढी प्रभावकारी हुने बताए ।
विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक एव वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले समस्या पहिचान गरी समाधानको खोजी गर्ने र विज्ञान शिक्षण आगामी दिन थप प्रभावकारी हुने अपेक्षासहित गोष्ठीको आयोजना गरेको जानकारी दिए ।
गोष्ठीमा नगरका ५० जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको छ । गोष्ठीमा सहजकर्ताको भूमिकामा वरिष्ठ विज्ञान शिक्षक राजेन्द्रबहादुर कायष्थ रहेका छन् । ११ वटा पाठ्य इकाइ अनुसार ११ वटा समूहमा विभाजन गरी छलफल गराइएका नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले जानकारी दिए ।
प्रतिक्रिया