Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

भूकम्प पीडित विद्यार्थीलाई जिशिअको नम्बर, भेदभाव भए फोन गर्नु !

विहीबार, २१ जेठ २०७२

भक्तपुर २१ जेठ / भूकम्पका कारण सिन्धुपाल्चोकबाट विस्थापित भएर भक्तपुरको बोडेमा अस्थाई बसोवास गर्दै आएका विद्यार्थीलाई बोडे उच्च माविमा पठन पाठनको ब्यवस्था मिलाईएको छ । जुन जुन कक्षामा पढ्दै आएका हुन् सोहि सोहि कक्षामा पढ्ने गरी उनीहरुलाई ब्यवस्था मिलाईएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

विस्थापितहरु घर फर्कने कुनै टुङ्गो नभएको र यस्तो अवस्थामा यी बालबालिकाको पढाई बिग्रन सक्ने ठहर गरेर जिल्ला शिक्षा कार्यालयले पठन पाठनको व्यवस्था मिलाएको हो ।

गाउँबाट आएका तथा रिती थिती नमिल्ने हुँदा विद्यार्थी विद्यार्थी बिच समस्या हुन सक्ने तर्फ ध्यान दिन शिक्षा कार्यालयले विद्यालय र शिक्षकलाई सचेत गराएको छ । नयाँ ठाउँमा विद्यार्थी माथि भेदभाव हुन सक्ने अनुमान गर्दै यदी त्यस्तो भएमा तुरुन्त खबर गर्न कार्यालयले भनेको छ । ‘यदी विद्यार्थीले भेदभावको महशुस गरेमा सिधैं मलाई फोन गर्न भनेको छु’ शर्माले भने, ‘नयाँ ठाउँमा समस्या हुन सक्छ, तर विद्यार्थी विद्यार्थी बिच सुमधुर सम्बन्ध विकास भएर सिकाईको फरक शैली निर्माण गर्न पनि यसले सघाउन सक्ने अपेक्षा लिएका छौं ।’

शिक्षा कार्यालय, विद्यालय प्रशासन, स्थानीय युवा क्लव तथा विस्थापित समुदायको छलफल पछि पठन पाठनको ब्यवस्था मिलाईएको हो । आवश्यक परे अस्थाई सिकाई केन्द्र निर्माण गर्ने सोच भए पनि विद्यालयका प्रधानाध्यापक श्यामकृष्ण दसी सहित ब्यवस्थापनले विद्यालयमै कक्षा सञ्चालन गर्न कुनै अप्ठ्यारो नहुने बताए पछि सोहि विद्यालयमा पठन पाठनको ब्यवस्था मिलाईएको हो । विद्यार्थी थप हुँदा पनि ब्यवस्थापनमा कुनै समस्या नहुने शर्माले बताए ।

सिन्धुपाल्चोकका विभिन्न १२ गाविसका विस्थापित हरु मध्यपुर थिमी नगरपालिका ९ बोडेको खुल्ला ठाउँमा पाल टाँगेर बस्दै आएका छन् । ८५ परिवारका २ सय १७ बालबालिका पढ्ने उमेरका छन् ।

तस्विर : ईन्टरनेट

प्रतिक्रिया