Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

प्राध्यापक माथि कालोमोसो दल्ने विद्यार्थी नेता निलम्बन

शिक्षक प्राध्यापकलाई मोसो दल्नेलाई निष्कासन गर्ने पाँच दिन अघि निर्णय समेत भएको थियो

सोमबार, १५ साउन २०८०

काठमाडौं - प्राध्यापक माथि कालोमोसो दलेको आरोपमा पक्राउ परेका सत्ताधारी दल निकट नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता निलम्बनमा परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा पक्राउ परेका संघका मोरङ अध्यक्ष सरोज पोखरेल सहितका नेता कार्यकर्तालाई निलम्बन गरेको नेविसंघले जनाएको छ । 

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भए पछि केहीलाई निलम्बन गरिएको र केहीलाई नसियत दिईएको संघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य–मान्यतावको विपरीत भएकोले कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ । 

शिक्षक प्राध्यापकलाई मोसो दल्ने बढ्दो घटना रोक्न नेपाली काँग्रेसले त्यस्तो कार्य गर्ने कार्यकर्तालाई निष्कासन गर्ने निर्णय गरेको छ । साउन २ गतेबाट शुरु भई चार दिन अघि सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको थियो । 

गत जेठ २९ गते दाहाललाई कालोमोसो दलेको भिडियो सामाजिक सञ्जालमा भाईरल भए पछि सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट जेठ ३१ गते पोखरेललाई पक्राउ गरेको थियो । 
विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेल सहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

विभिन्न शैक्षिक संस्थामा हुने कार्यक्रममा काँग्रेस निकट विद्यार्थीले शिक्षक प्राध्यापक माथि मोसो दल्ने कार्य गर्दै आएको भन्दै व्यापक आलोचना हुँदै आएको छ । 

प्रतिक्रिया