Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

न्यून गुणस्तरको सेनिटरी प्याड खरीद नगर्न विद्यालयलाई सचेत

एकै पटक किन्दा बिग्रे पछि विद्यालयहरुले नै किन्ने गरी बजेट निकाशा

सोमबार, ०८ साउन २०८०

काठमाडौं - न्यून गुणस्तरको सेनिटरी प्याड उपलब्ध गराउँदै आएको भन्दै काठमाडौं महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई सचेत गराएको छ । सेनिटरी प्याडको अभावका कारण रजश्वला अवधिमा विद्यालय आउने छात्राको संख्या घटेको निष्कर्श सहित सरकारले सबै सामुदायिक विद्यालयका छात्रालाई निशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएको छ । तर यसरी उपलब्ध गराउने सेनिटरी प्याड कमसल गुणस्तरको भएको उजुरी आएका कारण सचेत गराईएको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए । 

'न्यून गुणस्तरका र समय गुज्रिएका सेनिटरी प्याड खरीद गरिएको गुनासो प्रति हाम्रो ध्यानाकर्षण भएको हो' उनले भने 'तोकिएको गुणस्तरमा ध्यान दिन सबै सामुदायिक विद्यालयलाई अनुरोध गरेका हौं ।'

आर्थिक बर्ष २०७६/७७ बाट सरकारले देशभरीका सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड उपलब्ध गराउन बजेट व्यवस्था गरेको थियो । महानगरपालिकाका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले २०७७ साउन २० गते महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण शुरु गरेका थिए । यसको शुरुवात बाफलमा रहेको ज्ञानोदय स्कुलबाट भएको थियो । 

शुरुमा महानगर आफैंले खरिद गरेर विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको थियो । तर एकै पटक खरिद गर्दा म्याद गुज्रने र विग्रने भएको भन्दै विद्यालयहरुलाई नै खरीद गर्ने गरी बजेट निकाशा गर्दै आएको छ । दोश्रो बर्ष खरीद ठेक्का गर्दा प्रकृया नपुगेको भन्दै ठेक्का रद्द गरिएको थियो । सानो संख्यामा किन्ने र प्रयोग गर्ने गर्दा उपयुक्त हुने भन्दै महानगरले ठूला विद्यालयमा बोलपत्र आह्वान र सानामा कोटेशन मार्फत खरीद गर्ने विधि अपनाएको छ । काठमाडौंका ८९ सामुदायिक विद्यालयमा छात्राका लागि सेनिटरी प्याड खरीदमा आर्थिक बर्ष २०७८ / ७९ मा १ करोड ५५ लाख ८७ हजार रुपैंया बजेट विनियोजन गरिएको थियो । 

प्रतिक्रिया