Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

उत्कृष्ट विद्यालय : स्थानीय तहले विशेष चासो देखाएको परिणाम

कतिपय विद्यालयमा १० वर्षपछि आउँदा न साइनबोर्ड हुन्छ, न नाम नै !

सोमबार, ०८ साउन २०८०

भक्तपुर - ‘कतिपय विद्यालयमा १० वर्षपछि आउँदा न साइनबोर्ड हुन्छ, न नाम नै !’ 

शिक्षक तालिम केन्द्र धुलिखेलका प्रमुख रुद्रहरि भण्डारीले शिक्षामा संगालेको एक अनुभव हो यो । यही अनुभव उनले आइतबार भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक सामु सुनाए । 

हुन पनि नेपाल सरकारकै शैक्षिक तथ्यांकले पनि विद्यालय संख्या घटेको देखिएको छ । शैक्षिक वर्ष २०७७ मा ३५ हजार ६ सय ७४ वटा विद्यालय रहेकोमा २०७८ मा त्यो संख्या १ हजार ३ सय ६ ले घटेको देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शैक्षिक सत्र २०७८ मा कूल विद्यालयको संख्या ३४ हजार ३ सय ६८ रहेको छ । 

सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेका छन् । कतिपय स्थानीय तहका लागि विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय ‘टोक्नु न बोक्नु’ भएका छन् । कतिपय स्थानीय तहले विद्यालय समायोजन समेत गरेका छन् । विद्यार्थी अभाव, विद्यालय समायोजन जस्ता कारणले विद्यालयको संख्या घटिरहेको बेला भक्तपुरको च्याम्हासिंह स्थित वागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८०÷०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई विद्यालयले गरेको स्वागत तथा अभिमुखीकरणमा प्रमुख भण्डारीले समग्र शिक्षाको अवस्थाबारे चित्रण गरेर दुखेसो पोखे पनि भक्तपुर आउँदा भने त्यो अवस्था नभएकोमा खुसी व्यक्त गरे ।

विद्यार्थी विहीनताको शिकारमा परेका विद्यालयको तीतो अनुभवसँगै उनले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा गएपछि कालो बादललाई चाँदीको घेराले घेरिएको अनुभव भक्तपुरका केही विद्यालय आउँदा गर्न पाएकोमा खुसी जनाए । 

‘स्थानीय जनता, शिक्षक र पूर्व विद्यार्थीको सहयोगी हातबाट बनेको वागीश्वरीले नमूना क्रियाकलाप गरेको छ, यही कारण यो स्कुल बागमती प्रदेश भित्र छनोट भएका २० विद्यालय मध्ये उत्कृष्ट नमूना विद्यालयमा छनोटमा परेको छ’ उनले भने । 

उनले त्यसका लागि स्थानीय तहले समेत विशेष चासो देखाएको परिणाम भएको चर्चा गरे ।

अभिमुखीकरणमा उनले नयाँ जोश, जाँगर र उमंगका साथ आएका विद्यार्थीले त्यसलाई कायम गर्न सही व्यवस्थापन गर्न सुझाव दिए । शिक्षाबाटै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नसके शैक्षिक उपलब्धी समेत नहुने जिकिर गरेका उनले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यार्थी मेहनती, लगनशील र इमान्दार हुनुपर्नेमा जोड दिए ।

अभिमुखीकरणमै वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले सामुदायिक शैक्षिक संस्था वागीश्वरीले समाजलाई बुद्धिजीवीकरण गर्न, प्राज्ञिक व्यक्ति तयार गर्न तथा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तयार गरिरहेको जनाए ।

भक्तपुरलाई देशकै शैक्षिक हव बनाउने भक्तपुर नगरपालिकाको लक्ष्यलाई वागीश्वरीले साकार पारिरहेको औंल्याउँदै ७७ वटै जिल्लाका विद्यार्थीले उज्वल भविष्य र उच्च शैक्षिक गन्तव्यका साथै रोजगारीको प्रस्थान विन्दुका रुपमा वागीश्वरीलाई रोजेकोमा खसी जनाए ।

वागीश्वरी मावि कक्षा ११÷१२ का संयोजक ज्ञानसागर प्रजापतिले डलरका लागि विदेशी दास हुनेहरु जिउँदो लास मात्रै भएको बताउँदै आफ्नो पढाइलाई स्वदेशमै सदुपयोग गर्न जोड दिए । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले उच्च शिक्षा अध्ययन गर्नेका लागि वागीश्वरीले विभिन्न शीर्षकका छत्रवृत्तिको व्यवस्था गरेको बताए ।

सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले विद्यार्थी आचार संहितालाई विद्यार्थीहरुले पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा भर्ना भएका विद्यार्थीलाई विद्यार्थी आचरण र विद्यालयको बारेमा जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरेको विद्यालयले जनाएको छ ।   

प्रतिक्रिया