Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कक्षा १० को अन्तिम नतिजा सार्वजनिक, ७ बर्ष सम्म पनि सुधारिएन शैली

विहीबार, २१ असार २०८०

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । साविककै एसएलसीको शैलीमा परीक्षा र परीक्षाफल प्रकाशनको कामले यो बर्ष पनि निरन्तरता पाएको छ । परीक्षा सञ्चालन देखि नै निरन्तर रहेको साविकको शैली नतिजा प्रकाशन सम्म पनि निरन्तर रह्यो । उही तामझाम र उही शैलीमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको घोषणा गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजा अनुसार यस बर्षको नतिजाको विवरण यस प्रकार छ :


नजिजा सार्वजनिक गर्न बोर्डले साविकको एसएलसीकै शैलीको तामझामलाई निरन्तरता दिएको छ । नतिजा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा कोठा, शिक्षण सिकाइ, परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण देखि नतिजा प्रकाशन सम्मका प्रकृयाको बेलिविस्तार लगाएका थिए । 

लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै बोर्डले नतिजा प्रकाशित गरेको हो । जब की २०७८ मा नयाँ कार्यविधि लागू गरिसकेको थियो । २०७२ सालमा लागू गरेको ग्रेडिङ निर्देशिका अनुसार अन्तिम पटक नतिजा प्रकाशित गरिएको बोर्डका पदाधिकारीले जनाएका छन् । उक्त प्रणाली अनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् । 

जस अनुसार ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । 

२०७८ को निर्देशिकामा भने सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था छ । जस अनुसार सबै विषयमा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउनेलाई नन् ग्रेडेडमा राख्ने व्यवस्था छ । नयाँ निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थी नन् ग्रेडमा पर्ने सम्भावना रहेकाले बोर्डले धेरै विद्यार्थीलाई माथिल्लो तह पढ्न पाउने गरी नतिजा सार्वजिनक गरेको हो । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने बोर्डले जनाएको छ । पुरानो व्यवस्था अनुसार दुई विषयसम्म ननग्रेड भए पनि तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने छ ।

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा परिवर्तन गरेर १२ कक्षालाई विद्यालय तहको अन्तिम कक्षा हुने व्यवस्था गरेको छ । तर, ऐन संशोधन भएको ७ बर्ष सम्म पनि परीक्षा र नतिजा प्रकाशनको शैली बदल्ने तर्फ शिक्षा मन्त्रालय र परीक्षा बोर्ड अक्षम भएका छन् । सरकारले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले पनि कक्षा १० को परीक्षा र नतिजा प्रकाशनको कामलाई प्रदेश मातहत गर्न सुझाव दिएको छ । तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको पालामा गठित आयोगले प्रधानमन्त्री केपी वलीलाई बुझाएको प्रतिवेदन अहिले सम्म सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । 

शिक्षा ऐनको आठौं संशोधनले साविकका उच्च माध्यमिक शिक्षा परिषद् विघटन गरी बोर्डको अवधारणा ल्याएको थियो । तर, व्यापार केन्द्रित निजी प्लस टु सञ्चालकहरुको दवावका कारण शिक्षा मन्त्रालय र बोर्ड परीक्षा र नतिजा प्रकाशन प्रणाली बदल्न अनिच्छुक हुँदै आएको आरोप लाग्ने गरेको छ । विगत ७ बर्ष देखि कक्षा १२ सम्म विद्यालय तह भए पनि निजी प्लस टु सञ्चालकहरुले  कक्षा ११ मा कुस्त रकम लिएर विद्यार्थी भर्ना गर्दै आएका छन् । उनीहरुको स्वार्थमा मन्त्रालय र बोर्डका अधिकारीहरुले साथ दिदाँ आवश्यक नीतिगत कार्य नभएको आरोप छ । 

गत चैत १७ गतेदेखि २९ गतेसम्म देश भरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित कक्षा १० को अन्तिम परीक्षामा चार लाख ८४ हजार ९ सय ३९ जना विद्यार्थीको सहभागिता रहेको बोर्डले जनाएको छ । जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थी समेत कक्षा १० को अन्तिम परीक्षामा सहभागी थिए ।

प्रतिक्रिया