Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सामुदायिक विद्यालयको भर्नादर २५ प्रतिशतले वृद्धि गर्ने, नाफामुखी निजी लगानी दुरूत्साहित गर्न संयन्त्र

विहीबार, ०७ असार २०८०

काठमाडौं - खस्कदोँ सिकाइका कारण अभिभावकको रुची घट्न थालेको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको भर्नादर वृद्धि गर्ने लक्ष्य लिएको छ । बुधबार सार्वजनिक आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा महानगरले  सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने शैक्षिक लक्ष्य लिएको उल्लेख छ । 

'सुबिधा सम्पन्न प्रारम्भिक बाल विकास कक्षा, आवश्यक भौतिक पुर्वाधार विकास, बुक फ्रि फ्राइडे, सिपमूलक शिक्षा, मेरो विद्यालय म बनाउछुँ, विद्यालयको सुन्दरता तथा हराभरामा विद्यार्थीहरूको सहभागिताका साथै सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर कम्तिमा २५ प्रतिशतले वृद्धिगर्ने शैक्षिक लक्ष्य लिइएको छ ।' नगरसभाको वैठकमा मेयर बालेन्द्र शाहद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ । 

यसैगरी नाफामुखी निजी लगानी दुरूत्साहित गर्न संयन्त्र निर्माण गर्ने विषय पनि कार्यक्रममा उल्लेख छ । संविधानले शिक्षालाई मौलिक हकका रुपमा व्यवस्था गरेको र आधारभूत तहसम्म निशुल्क तथा अनिवार्य र माध्यमिक तह सम्म अनिवार्य शिक्षा हुने व्यवस्थालाई दृष्टिगत गर्दै महानगरले सेवामुखी शिक्षा विकासका लागि एक संस्थागत संयन्त्र सञ्चालनमा ल्याइने आफ्नो कार्यक्रम तय गर्ने जनाएको छ । 

'शिक्षा विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । संस्थागत विद्यालयहरूको व्यवस्थापन तथा पठनपाठन कार्यको नियमित अनुगमन नियमनका माध्यमबाट नाफामुखी शिक्षालाई दुरूत्साहित गर्दै सेवामुखी शिक्षा विकासका लागि एक संस्थागत संयन्त्र सञ्चालनमा ल्याइनेछ' कार्यक्रममा भनिएको छ । 

नीति तथा कार्यक्रमको कार्यनीतिहरू खण्डमा शिक्षा सम्बन्धी नौ बुँदा समेटिएको छ । 

१. महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिकस्तर सुधारका लागि शिक्षा विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । संस्थागत विद्यालयहरूको व्यवस्थापन
तथा पठनपाठन कार्यको नियमित अनुगमन नियमनका माध्यमबाट नाफामुखी शिक्षालाई दुरूत्साहित गर्दै सेवामुखी शिक्षा विकासका लागि एक संस्थागत संयन्त्र सञ्चालनमा ल्याइनेछ ।

२. सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सिपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यकपर्ने पूर्वाधार सहितको गरिखाने शिक्षा, महानगरको ईच्छा भन्ने नाराकासाथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

३. सबै निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

४. सामुदायिक विद्यालयहरूको सुन्दरता बढाउन विद्यार्थीहरूको सहभागितामा सम्पूर्ण विद्यालयहरूलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउनका लागि स्वर्णिम योजनाका रूपमा सुन्दर विद्यालय परियोजना सञ्चालनमा ल्याइनेछ । यसका लागि विद्यार्थीहरुको संलग्नतामा क्लव गठन गरी बुक फ्रि फ्राइडे कार्यक्रमसँग यस परियोजनालाई आवद्ध गरी सञ्चालन गरिनेछ ।

५. निजीस्तरमा संचालित शैक्षिक परामर्श सेवा केन्द्र, कोचिब सेन्टर, तालिम केन्द्र, छात्रावास आदिको प्रभावकारी नियमन गरिनेछ ।

६. विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा, नैतिक शिक्षा, प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग शिक्षण सिकाइका अनुभवहरू आदानप्रदानको व्यवस्था
मिलाइनेछ । अपाङ्गता भएका विद्यार्थीहरूलाई अनुकुल हुने गरी समावेसी शैक्षिक वातावरणको सिर्जना गरिनेछ ।

७. सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिनेछ ।

८. सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गरिनेछ ।

९. परम्परागत कला र साहित्यको प्रवर्धन गर्दै ललितकला विकासको लागि छुटृै विश्वविद्यालय स्थापनाका लागि अध्ययन गरिनेछ ।

नगरसभाको वैठकमा चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको प्रगतिको सार संक्षेप प्रस्तुत गर्दै मेयर शाहले विद्यालयहरुमा सिकाइको नवीन अवधारणा बुक फ्री फ्राइडे सञ्चालनमा ल्याईएको उल्लेख गर्दै सो कार्यक्रम अन्तर्गत ८० प्रकारका सिपमूलक कार्यक्रम सञ्चालन भैरहेको छ जनाए । विद्यालयहरुमा अतिरिक्त कृयाकलापको प्रवर्धन जस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको उल्लेख गर्दै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन भैरहेको जनाए । 

वडास्तरीय सामुदायिक सिकाई केन्द्र मार्फत अनौपचारिक शिक्षा र सिप विकास प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गरिएको, महानगरपालिकाको पहलमा १२ हजार नौ सय ७० जना विद्यार्थीलाई संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्रदान गरिएको, हालसम्म ४६५ वटा संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गरेको विवरण प्राप्त भएको र बाँकी विद्यालयहरुबाट विवरण प्राप्त हुने क्रम जारी रहेको उनले उल्लेख गरे ।

एक वर्षको अवधिमा नीति तथा कार्यक्रमको कार्यान्वयनबाट प्राप्त उपलब्धि सन्तोषजनक रहेको बताउँदै उनले चालु आर्थिक वर्षको नीति विश्लेषण गर्दा शतप्रतिशत कार्यान्वयनमा आउन नसकेको स्विकार गरे । 

नीतिले निर्दिष्ट गरेका कतिपय कार्यक्रम कार्यान्वयनमा सार्वजनिक खरिद प्रक्रिया, योजना छनौट र प्राथमिकीरण, संस्थागत क्षमता आदि समेतका कारण अपेक्षाकृत नतिजा प्राप्त हुन सकेको देखिएन उनले भने नगर सभाबाट पारित नीति तथा कार्यक्रमको शतप्रतिशत कार्यान्वयनका लागि संस्थागत क्षमतामा बृद्धि, आवश्यक संस्थागत संयन्त्र तथा कानुनी प्रबन्धको थप व्यवस्था गरी स्वीकृत कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन, अनुगमन र मुल्याङ्कन पद्धतिको विकास गर्न आवश्यक देखिएको छ ।

नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा समेटिएको छ । महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्ष भित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ । उक्त योजना मार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण, महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक शहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने उल्लेख छ ।

महानगरबासीको दैनन्दिनका समस्या समााधन गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको छ । 

प्रतिक्रिया