Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विद्यालयमा राजनीति कल्पना भन्दा बाहिर, ताल्चा लाउनुलाई अपराधको संज्ञा

मंगलबार, ३० जेठ २०८०

काठमाडौं - कुनै पनि राजनीतिक दल आवद्ध संगठनले शैक्षिक संस्थाको पठनपाठनमा गर्ने अवरोधलाई अपराधको संज्ञा दिदैं काठमाडौं महानगरका मेयर बालेन साहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न नसक्ने बताएका छन् । महानगरका विभिन्न विद्यालयमा अखिल क्रान्त्रिकारीले लगाएको ताल्चा फोडे पछि उनले आफ्नो यस्तो धारणा सार्वजनिक गरेका हुन् । साहको निर्देशन पछि महानगर शिक्षा विभागको अगुवाईमा महानगर प्रहरीले ती ताला फोडेका छन् ।  ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । 

छात्रवृत्ति वितरण र शैक्षिक शुल्कमा भईरहेको मनपरी तथा कर्मचारीको पारिश्रमिकमा भईरहेको शोषणका विरुद्ध भन्दै अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले सानो भ¥याङ स्थित संस्कृति स्कुल, बाँसबारी स्थित युलेन्स स्कुल र नक्सालमा रहेको बृहस्पती स्कुलमा तालाबन्दी गरेको थियो । 

'पढ्ने ठाउँमा ताला लगाएर  एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ । चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ, त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ' साहले फेसबुकमा लेखेका छन्, 'काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो, हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौं र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो, यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो ।'

महानगरले पालिका भित्रका शैक्षिक संस्थाहरुमा दलगत राजनीतिक गतिविधि र बन्द हड्ताल गर्न नपाउने व्यवस्था गरेको छ ।

महानगरभित्र ५ सय ४ वटा निजी विद्यालय सञ्चालनमा रहेको महानगरसँग तथ्याँक छ । यी मध्ये अधिकाँशले सरकारी नियमको पटक पटक उलंघन गर्दै आएको आरोप लाग्ने गरेको छ । यसरी नियम उलंघन गर्नेमा दलगत राजनीतिक सम्बन्धमा रहेका सञ्चालकहरुकै विद्यालय रहेको भन्दै आलोचना हुँदै आएको छ । यसको पछिल्लो उदाहरण निजी विद्यालयहरुलाई पाँच दिनको सूचना दिएर महानगरले बुझाउन भनेको छात्रवृत्ति विवरण एक हो ।  महानगरले गत जेठ २३ गते छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरे पनि अझै सय वटा निजी विद्यालयले विवरण नबुझाएका महानगरको शिक्षा विभाग श्रोतले जनाएको छ । 

प्रतिक्रिया