Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

विद्यालयको संरचना बदलिएको ६ बर्ष बित्यो, पुरानै शैली निरन्तर !

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौं - विद्यालय शिक्षाको संरचनामा भएको परिवर्तन अनुसार परीक्षा सञ्चालन प्रकृयामा गर्नु पर्ने परिवर्तन तर्फ वास्ता नगरि यस बर्ष पनि पुरानै शैलीमा कक्षा १० को अन्तिम परीक्षा एसईई सञ्चालन गरिएको छ । २०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था कार्यान्वयन तर्फ शिक्षाका निकायहरु कुन हद सम्म गैह्र जिम्मेवार छन् भन्ने उदाहरण भएको छ शुक्रबारबाट शुरु कक्षा १० को अन्तिम परीक्षा !

शिक्षा ऐनको आठौं संशोधनले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ का लागि तोकेको छ । ६ बर्ष अघि २०७३ सालमा भएको ऐनको संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरे पनि राष्ट्रिय परीक्षा बोर्डले पुरानै शैलीमा कक्षा १० को परीक्षा र नतिजा प्रकाशनलाई निरन्तरता दिदैं आएको छ । ऐनको दफा ४ ट को उपदफा १ मा माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा, बोर्डबाट सञ्चालन हुने र उपदफा २ मा कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन हुने उल्लेख छ । 

तर बोर्डले ऐन अनुसार आवश्यक संरचना विस्तार र कार्यशैलीमा परिवर्तन नगर्दा कक्षा १० को अन्तिममा लिईने परीक्षा र नतिजा प्रकाशनको शैली परिवर्तन हुन नसकेको हो । पुरानै शैलीले निरन्तरता पाउनुको पछाडि निजी लगानीमा खुलेका दश जोड २ को व्यापारको स्वार्थ भएको विश्लेषण हुँदै आएको छ । कक्षा १० को परीक्षाफलका आधारमा राम्रा विद्यार्थी आफूले पढाउने भन्दै प्रचार गर्ने दश जोड २ सञ्चालकहरुको स्वार्थमा बोर्डका पदाधिकारीहरुले पुरानै परीक्षा शैलीलाई निरन्तरता दिदैं आएको आरोप लाग्ने गरेको छ । 

६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेश अनुसार फरक–फरक तयार पारिएको र  उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेको आधारलाई नै बोर्डका पदाधिकारीहरुले ऐन अनुसार परीक्षा सञ्चालन गरेको दावी गर्दै आएका छन् । तर नतिजा प्रकाशनको शैली पनि पुरानै कायम राखिएको छ । ऐन नियम र कार्यशैली बिचको बेमेलको यो कथाले 'स्वार्थ समूह'को चंगुलमा राजनीतिक र प्रशासनिक नेतृत्व डुब्दा के हुन्छ भन्ने उदाहरण देखाएको छ । 

यस वर्ष कक्षा १० को अन्तिममा हुने परीक्षाका लागि ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले बोर्ड अन्र्तगत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिष्ट्रेसन फाराम भरेका थिए ।  उनीहरुका लागि जापानमा एक सहित २ हजार ३७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जापानबाट १४ विद्यार्थीले परीक्षा दिदैं छन् । बोर्डका अनुसार ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी यो परीक्षामा सहभागि भएका छन् । 

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ ।

परीक्षा तालिकाका लागि पढ्नुहोस् : कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत परीक्षा व्यवस्थित र भयरहित बनाउन अपिल गर्दै परीक्षामा सहभागी सबै विद्यार्थीको उज्जवल भविष्यको कामना समेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो अपिल गरेका हुन् । 

प्रतिक्रिया