Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

सिटीइभिटीमा सिपिएससीको ‘इन्कोवेशन’

मंगलबार, १४ चैत्र २०७९

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीइभिटी) मा कोलोम्बो प्लान स्टाफ कलेज (सिपिएससी)ले इन्कोवेशन सुरु गरेको छ ।

कलेजले  प्राविधिक व्यवसायिक शिक्षा तथा तालिम टिभीइटी  संस्थाका पदाधिकारीहरुका लागि सो कार्यक्रम सुरु गरेको हो । सो कार्यक्रम पाँच  दिनसम्म चालू रहनेछ । टिभीइटी सञ्चालित संस्थाहरुले उद्यम विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले ती संस्थाका पदाधिकारीहरुको क्षमता र दक्षता विकासका लागि पाँच दिने सघन भेला तथा अन्तरक्रिया सञ्चालन गरिएको सिपिएससीका महानिर्देशक प्रोफेसर जीएलडी विक्रमासिंगेले बताए ।

कार्यक्रममा शिक्षा सचिव रामकृष्ण सुवेदीले विद्यालय तथा शैक्षिक संघ संस्थाहरुलाई इन्क्युवेशन सेन्टरका रुपमा विकास गर्न सकेमात्र शिक्षाको उद्देश्य पूरा भई बेरोजगारी समस्या हल गर्न सकिने बताए ।

‘हामीले विद्यार्थी त उत्पादन गरिरहेका छौं, तर तिनीहरुलाई हामीले आत्मनिर्भर बनाउने सिप दिन सकिरहेका छैनौं’, उनले सिंगापुरका विद्यालयहरुले व्यवसायीहरुसँग नियमित रुपमा अन्तरक्रिया गर्ने गरेको अभ्यासको अनुभव सुनाउँदै भने, ‘हामीले तालिम लिइरहेका छौं, दिइरहेका छौं, तर तिनीहरुलाई कहाँ जोडिरहेका छौं, त्यस विषयमा अब गहन छलफल जरुरी भइसकेको छ ।’ 

उनले व्यवसायलाई पृथक र नयाँ तरिकाले सञ्चालन गर्नका लागि सघन छलफल जरुरी रहेको बताउँदै सो छलफलले व्यवसाय सञ्चालनमा नवप्रवर्तनात्मक कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले शिक्षासँगै काम गरी खाने जाँगर बढाउने सीप र तरिका आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘जसरी कुखुरा ओथारो बसेर नयाँ चल्ला कोरल्छ, त्यसरी नै इन्कुबेशनमा बसेका व्यक्तिहरुले नयाँ सोच, विचार र अवधारणाको विकास गर्न सघाउ पुर्याउँछ ।’

सिटीइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले नेपालको माटो र परिवेश सुहाउँदो व्यावसायिक अवधारणा बनाउन सो भेलाले सहयोग गर्ने उल्लेख गर्दै शिक्षालयहरुलाई व्यसायउन्मुख बनाउन घच्घच्याउने समेत दावी गरे ।

सिटीइभिटी अन्तर्गत सञ्चालित ६५ संस्थाहरुमध्ये २५ वटा संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको सो भेलाले टिभेटलाई कसरी व्यवसायमा इन्कुभेसन गर्न सकिन्छ ?, व्यवसाय इन्कुभेशनको नमूना बनाउने तरिकाबारे गहन छलफल हुने आयोजकले जनाएको छ ।

भेलामा सिपिएससीका वरिष्ठ संकाय विशेषज्ञ इञ्जिनियर डा.मियाम कुरान असान, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल, सिपिएसीका पूर्व महानिर्देशक डा. रामहरि लामिछाने, सिटीइभिटीका निर्देशक इञ्जिनियर डा. अजोज भट्टराई, सिपिएससीका इञ्जिनियर संयोग भट्टराई, इम्प्याक्ट हब काठमाडौंकी रचना खत्री, इञ्जिनियर पल्लब श्रेष्ठ र सिएनआइका निर्देशक वीरेन्द्र पाण्डेले विभिन्न विषयमा सहजीकरण गर्नेछन् ।

इन्कुभेशन चैत १७ गतेसम्म सञ्चालन हुने सिटीइभिटीका उपनिर्देशक गोविन्द पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया