Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

परीक्षा समिति संयोजक र विषय विज्ञ विरुद्ध मुद्दा, परीक्षाको परिणाम बदलेको आरोप

सोमबार, २८ कार्तिक २०७९

काठमाडौं - परीक्षाको नतिजा फेरबदल गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा समिति संयोजक र विषय विज्ञ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अंग्रेजी विषयका विज्ञ डा. विनय कुमार दास र परीक्षा समितिका संयोजक सहायक डिन कमलेश डि.सी.ले प्रश्नपत्रको गोपनीयता भङ्ग एवं परीक्षाको परिणाम फेरबदल गरेको अख्तियारको अभियोग छ । 

विश्वविद्यालयको मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयद्वारा २०७७ माघ १९ गते गरिएको विज्ञापनमा छलकपट भएको आयोगको ठहर छ । विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय (कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको) मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपिमा अङ्क थपघट गरिएको भन्ने उजुरी उपर छानविन गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

अंग्रेजी विषयका विज्ञ विनय कुमार दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तर पुस्तिकामा दिएको अङ्कलाई पटक–पटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरेको आयोगको ठहर छ । यस्तै अन्तर्वार्ताको क्रममा अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्ताङ्कको आधारमा अन्तर्वार्तामा अङ्क प्रदान गर्ने योजना बनाई सोही बमोजिम अङ्क प्रदान गर्न पहिले दिएको अङ्क केरमेट गरेको आयोगको ठहर छ । उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरी बदनियत गरेको आयोगले दावी गरेको छ । 

परीक्षा समितिका संयोजक सहायक डिन डि.सी.ले अंग्रेजी विषयको सेक्युरिटि बोर्डको तर्फबाट उत्तर पुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक–पटक दिएको अङ्क केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको, अन्तर्वार्तामा छनौट समितिको संयोजकको रूपमा सहभागी हुँदा विज्ञले अन्तर्वार्ताको क्रममा उत्तर पुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि सिम्बोल नम्बर लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तर्वार्ताको अङ्क समेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनको लागि बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परिमाण फेदबदल गरेको अख्तियारको आरोप छ ।  

 

प्रतिक्रिया