Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

अझै सकिएन विद्यालय परीक्षणको काम : निजी विद्यालयले ढोकै खोलिदिएनन्

शुक्रबार, २२ जेठ २०७२

काठमाडौं २२ जेठ / भूकम्पका कारण क्षती पुगेका उपत्यकाका संस्थागत विद्यालयहरुको प्राविधिक परीक्षणको काम अझै सकिएको छैन । सरकारले सुरक्षित र असुरक्षित विद्यालयलाई हरियो र रातो स्टिकर टाँस्दै आएको छ । तर सबै विद्यालयमा परीक्षण नहुँदा विद्यार्थी र शिक्षकको सुरक्षामा गम्भिर प्रश्न उठेको छ । गत आईतबारदेखि विद्यालयहरु सञ्चालन भएपनि सबै विद्यालयको परीक्षण हुन सकेको छैन । बिना परीक्षण विद्यालय खुलेपछि अभिभावक चिन्तित बनेका छन् ।

जिल्ला शिक्षा कार्यालयका प्राविधिक सहितको टोलीले विद्यालयहरुको परीक्षण गरी रातो र हरियो स्टिकर दिदैं आएका छन् । तर कतिपय संस्थागत विद्यालयमा परीक्षणका लागि प्राविधिक पुग्दा विद्यालय सञ्चालकहरुले ढोकै नखोलिदिएको जिल्ला शिक्षा कार्यालय काठमाडौंका एक जना प्राविधिकले बताए । तर, निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसी यो कुरा स्विकार्दैनन् ।

कुनै पनि स्कुलले आफ्ना नानीहरुको सुरक्षामा ध्यान नदिई लुकाउन खोज्छ भने त्यस्ता स्कुल खारेज गर्न आफूले सघाउने उनले बताए । 'कुन स्कुल हो स्पष्ट भनिदिनुहोस् म आफैं कारवाहिको सिफारिस लिएर आउँछु,' उनले भने, 'विद्यालय खोल्ने भन्ने तर प्राविधिक परीक्षण समेत नभ्याउने सरकारले आफ्नो सुस्त गतिको कामलाई ढाकछोप गर्न यस्तो भनेको हो ।'

सामुदायिक विद्यालय कहाँ कहाँ छन् भन्ने जानकारी भएपनि संस्थागत विद्यालयहरु कहाँ कहाँ छन् भन्ने पर्याप्त जानकारी नहुँदा समस्या परेको ती प्राविधिकको भनाई छ । त्यस माथि आवश्यक प्राविधिक जनशक्तिको अभावले पनि समस्या भएको उनले स्विकारे ।

मन लाग्दि रुपमा घर घरै विद्यालय खोल्ने क्रमलाई बेलैमा नियन्त्रण गर्दा परीक्षण र अनुगमन सहज भएको भक्तपुरका जिशिअ रमाकान्त शर्माले बताए । 'बेलैमा प्रभावकारी संयन्त्र बनाएर काम गर्दा यस्ता विपद्को बेलामा सजिलो हुने रैछ भन्ने पाठ सिकिएको छ' उनले भने, 'हामीले सबै काम सकेका छौं ।'

उपत्यकाका बाँकी दुई जिल्ला काठमाडौं र ललितपुरमा भने भूकम्पका कारण क्षती पुगेका संस्थागत विद्यालयहरुको प्राविधिक परीक्षण सकिएको छैन ।

उपत्यकाका तिन वटै शिक्षा कार्यालयले सामुदायिक विद्यालयको परीक्षण सकिसकेको जनाएका छन् । तर संस्थागत विद्यालयको परीक्षणको काम बाँकी हुँदा विद्यार्थी र शिक्षकको सुरक्षा कसरी हुन्छ भन्ने अन्यौल बढेको छ ।

बिहीबार शिक्षा मन्त्रालयले सुरक्षामा ध्यान दिन भन्दै विज्ञप्ति प्रकाशित गरे पनि काठमाण्डौ जिल्लाकै विद्यालयहरुको परीक्षणको काम नसकिनुले सुरक्षाको अवस्थालाई गम्भिर बनाईदिएको छ ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंको रेकर्ड अनुसार १ हजार ५० संस्थागत विद्यालय मध्ये अहिले सम्म ६ सय ६० विद्यालयको मात्रै परीक्षण भएको छ । उक्त विद्यालयका १ हजार ८ सय ७० ब्लकको परीक्षण गरी १ हजार १ यि ५० मा हरियो तथा ७ सय २० मा रातो स्टिकर टाँसिएको कार्यालयले जनाएको छ । यस्तै २ सय ८० सामुदायिक विद्यालयको ८ सय ४ ब्लक मध्ये ५ सय ३० मा हरियो र २ सय ७४ मा रातो स्टिकर टाँसिएको छ । 

बाँकी विद्यालयहरुको परीक्षण गर्न आवश्यक जनशक्ति नभएको भन्दै मंगलबार देखि परीक्षणको काम स्थगित गरिएको छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका ईञ्जिनीयर तथा जिल्ला शिक्षा कार्यालयका प्राविधिक सहितको टोलीले विद्यालयहरु निरिक्षण गर्दै आएका थिए । एनसेटका प्राविधिक अन्य काममा ब्यस्त भएको तथा आफूहरुसंग पर्याप्त प्राविधिक नभएकाले काम स्थगित गरिएको कार्यालयका ईञ्जिनीयर गिरीधर मिश्रले बताए । 'जिल्लामा भएका सबै २ सय ८० सामुदायिक विद्यालयहरुको परीक्षण सकिसकेका छौं, बाँकी संस्थागत विद्यालयको निरिक्षण आउँदो आईतबारबाट फेरी शुरु गर्छौं' उनले भने, 'शुरुमा २० दिन सम्म १४ समूह बनाएर काम गरेका थियौं, माथिल्लो निकायले प्राविधिकहरुको ब्यवस्थापन नगर्दा समस्या भयो ।'

यस्तै ललितपुरमा रहेका २ सय ७० संस्थागत विद्यालय मध्ये अहिले सम्म २ सय हाराहारीको मात्रै परीक्षण सकिएको छ । उक्त विद्यालयका ६ सय ३४ ब्लक मध्ये ५ सय १७ ले हरियो र १ सय १७ ले रातो स्टिकर पाएका छन् । बाँकी विद्यालयको परीक्षण अर्को हप्ता सम्म सक्ने गरी काम भईरहेको जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले बताए । जिल्लामा रहेका सबै १ सय ८८ सामुदायिक विद्यालयका ६ सय ९० ब्लकको परीक्षण सकिएको ईञ्जिनीयर ईन्द्रलाल महर्जनले बताए । यी मध्ये ३ सय ५१ ले हरियो र ३ सय ३९ ले रातो स्टिकर पाएका छन् ।  शुरुमा ६ टोली सम्म बनाएर परीक्षण गरे पनि पर्याप्त जनशक्तिको अभावले अहिले ३ टोलीले मात्रै काम गरेको उनले बताए ।

भक्तपुरमा रहेका सबै १ सय २९ वटा सामुदायिक विद्यालयको परीक्षण सकिएको र ९४ वटाले रातो स्टिकर पाएको शिक्षा अधिकारी शर्माले बताए । १ सय ६७ वटा संस्थागत विद्यालय मध्ये ४५ वटाले रातो स्टिकर पाएको उनले बताए । 

तस्विर : ईन्टरनेट

प्रतिक्रिया