Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

शिक्षक

शनिबार, ०१ असोज २०७९

म भर्खरै स्कुल जान थालेको थिएँ । स्कुलमा के पढ्थेँ वा सिक्थेँ सम्म पनि याद छैन । तर केही शिक्षकहरुको अनुहार स्पष्ट याद छ ।

गाउँमै हामी खेल्दै गर्दा कहिलेकाहीँ शिक्षकहरु हाम्रै घरको बाटो हिँड्नुहुन्थ्यो । कोही पैदल त कोही साइकलमा आउनुहुन्थ्यो । दाइ दिदीहरु खेल्दा खेल्दै रोकिएर हतार हतार दौडन्थे । कोही घर पछाडि लुक्थे । कोही करेसाबारीतिर पुग्थे । म पनि धेरै पटक दिदीसँग दौडँदै ढोकाको चेपमा लुकेको छु ।

तर हामी ती शिक्षकहरुसँग किन डराउँथ्यौँ ?

पछि छ–सात कक्षामा पढ्ने भएपछि सर मिसहरुले आफ्ना पालाका शिक्षकहरुका बारेमा सुनाउनुहुन्थ्यो । उहाँहरुका वृत्तान्तमा मैले धेरै पटक आफ्ना गुरूहरुबाट पिटाइ खाएकै कथा सुनेँ । उहाँहरु आफैँ पनि कक्षाकोठामा लौरोबिना बिरलै आउनुहुन्थ्यो । लौरो नलिई आउने शिक्षकहरुका आवाज नै यति ठुला थिए कि उसै सातो जान्थ्यो धेरैको ।

एघार कक्षा पढ्न सुरू गरेसँगै म पनि मास्टर भएँ । सुरूसुरूमा लाग्यो, मास्टर भएपछि विद्यार्थी थर्कमान हुनैपर्छ । नभए विद्यार्थीले हेप्न थाल्छन् ।

जतिजति विद्यार्थीसँगको सामीप्यता बढ्दै गयो उति उति ज्ञान हुँदै गयो कि डराउनेहरुले सिकेकै छैनन् । विद्यार्थीका लागि डरलाग्दो देखिन खोज्दाखोज्दै सिकाउनु पर्ने कुरा चाहिँ छुटाइरहेको हुँदो रहेछु ।

...                                                                                                              ...                                                                                    ...

मेरा शिक्षकहरुले मलाई चिनाउनु भएको शिक्षक फरक थियो । मैले बुझेको शिक्षक फरक छ । मेरा विद्यार्थीले बुझ्दै गरेको शिक्षक यो भन्दा अझै फरक हुने छ ।

यो धेरै अघिको कुरा हो जति बेला आजका ‘शिक्षक’हरु ‘गुरू’ हुन्थे । गुरू कहाँ ज्ञान लिन शिष्य धाउँथ्यो । गुरूको सेवा गथ्र्यो । गुरूलाई प्रसन्न बनाउँथ्यो । गुरू ज्ञान बाँड्थे । शिष्य ज्ञान आर्जन गथ्र्यो । आफ्ना बुताले भ्याएको गुरूदक्षिणा दिन्थ्यो । गुरू लिन्थे । सिक्ने र सिकाउने समयको सीमा थिएन ।

अहिले गुरूहरु शिक्षक भएका छन् । विद्या व्यापार भएको छ । शिक्षण करिब करिब जागिर मात्रै भएको छ । शिष्यहरु विद्यार्थी भएका छन् । गुरूदक्षिणा शिक्षण शुल्क बनेको छ । शिक्षक विद्यार्थी दुबैको सिक्ने सिकाउने निश्चित समय तालिका छ । त्यो भन्दा बाहेक दुबैका आआफ्ना निजी जीवन छन् । स्वतन्त्रता छ ।

‘गुरू–शिष्य’ हुनु र ‘शिक्षक–विद्यार्थी’ हुनु सारमा उस्तै हो । तर व्यवहारमा आकाश पातालको फरक छ ।

गुरू–शिष्यको सम्बन्ध त्याग र समर्पणसँग छ । यो आत्मिक सम्बन्ध हो । यहाँ गुरू–शिष्य एक अर्कासँग हृदयको गहिराइसम्मै परिचित र समर्पित हुन्छन् । गुरूले शिष्य र शिष्यले गुरूको भावनाको गहिराइ मापन गर्न सक्दैन भने उनीहरुका बीचमा आत्मिक सम्वाद हुन सक्दैन । ज्ञानको साँचो अर्थमा सञ्चार हुन सक्दैन ।

शिक्षक–विद्यार्थी भैरहँदा पनि सैद्धान्तिक रुपमा यी सबै कुराहरुको अपेक्षा गरिन्छ । त्यसैले त दार्शनिक रूसोले भनेका छन्, ‘बालक एउटा पुस्तक हो जसको प्रत्येक पाना पाना पढ्नुपर्छ’ । अर्थात् शिक्षक पनि गुरू जत्तिकै दत्तचित्त भएर आफ्ना बालबालिकाको जीवनका प्रत्येक आयामहरुलाई अध्ययन गर्न सक्षम हुनुपर्छ । तर व्यवहारतः यस्तो पाइँदैन । यहाँ शिक्षकलाई विद्यार्थी वा विद्यार्थीलाई शिक्षक चिन्ने फुर्सदै भइरहेको छैन ।

आजको युगमा एउटा शिक्षक जहिल्यै हतारमा हुन्छ । एक समय थियो जतिबेला म अति व्यस्त थिएँ । बिहान पाँच बजेदेखि ट्युसन क्लास सुरू हुन्थ्यो । करिब नौ बजेसम्म चारवटा समूहलाई पढाए पछि हतारहतार घर आएर खाना खान्थेँ । स्कुल पुग्ने चटारो परिसकेको हुन्थ्यो । स्कुलमा दस बजेदेखि चार बजेसम्मको नियमित जागिर सक्ने बित्तिकै फेरि साँझको कक्षाको दौडधूप सुरू भैसकेको हुन्थ्यो । जिन्दगीका केही वर्ष यसरी बिताउँदै गर्दा यो सोच्ने फुर्सद नै कहिल्यै भएन कि मैले जसलाई पढाइरहेको छु उनीहरु कुन धरातलबाट आएका छन् ? उनीहरु मैले भनेको कुरा कति ग्रहण गर्न सक्छन् ? म उनीहरुलाई के सिकाउन सक्छु ? खालि एउटै ध्याउन्न कहाँ हुन्थ्यो भने मैले कति धेरै कक्षाहरु लिन भ्याउँछु ? कति धेरै विद्यार्थीलाई प्रत्येक समूहमा समेट्न सक्छु ? उनीहरुबाट कति आम्दानी हुन्छ ? त्यसले मेरो दैनिकीलाई कसरी सहयोग पुग्छ ?

यदि जिन्दगीको त्यो दौडमा म कुनै क्षमतावान् विद्यार्थीको खोजमा लागेको भए ! वा कुनै कमजोर विद्यार्थीको कमजोरीलाई सुधार्न आफैँलाई ऊ भित्र समावेश गर्न सकेको भए !

यी आदर्शका कुरा हुन् ।

...                                                                                                            ...                                                                                 ...

महाभारतमा एउटा प्रसङ्ग छ । 

एकबिहान गुरू द्रोणाचार्य आफ्ना शिष्यहरुसँगै नदी किनारमा स्नानका लागि जान्छन् । जब नदी किनारमा पुगिन्छ, उनलाई आफ्नो धोती बिर्सेको ज्ञान हुन्छ । अलि फुर्तिला अर्जुनलाई धोती ल्याउनका लागि फिर्ता पठाउँछन् । जब अर्जुन त्यहाँबाट जान्छन्, गुरू द्रोणको मनमा एउटा विचार आउँछ कि अर्जुन आउन त केही समय लाग्छ । त्यतिन्जेल बाँकी शिष्यलाई केही सिकाऊँ ।

गुरू द्रोणाचार्य आफ्ना शिष्यहरुलाई मन्त्रले शस्त्र अस्त्रलाई थप शक्तिशाली बनाउने कुरा बताउँदै जमिनमा एउटा मन्त्र लेख्छन् । सो मन्त्र उच्चारण गरेर एउटा वाण चलाउँछन् । सो वाणले एकैपटक एउटा रूखका सबै पातहरुमा प्वाल पार्छ । सबै शिष्य आश्चर्य चकित हुन्छन् ।

केही बेरमा जब अर्जुन आउँछन् उनी रूखका सबै पातहरुमा प्वाल देखेर सोचमग्न हुन्छन् । ‘पक्कै गुरूले केही नयाँ ज्ञान दिएको हुनुपर्छ’ भन्ने सोचेर उनी त्यसको खोजीमा लाग्छन् । यस्तैमा जमिनमा लेखिएको मन्त्रमा उनको आँखा पुग्छ । उनको मनमा दृढ सङ्कल्प हुन्छ कि यो यही मन्त्रको शक्ति हो । उनी सो मन्त्र पाठ गरेर आफ्नो धनुषबाट वाण चलाउँछन् । वाणले सो रूखका सबै पातहरुमा दोस्रो प्वाल पार्छ । अर्जुन आफूले पनि ज्ञान हासिल गर्न सकेकोमा मख्ख हुन्छन् ।

जब गुरू द्रोणले स्नानबाट फर्कँदा रूखका पातहरुमा अर्को प्वाल देख्छन् उनी सोध्छन्, ‘कसले यी पातमा दोस्रो प्वाल पारेको हो ?’ तब अर्जुनले विनम्रतापूर्वक आफूले सो कार्य गरेको बताउँछन् । साथै गुरूको अनुमतिबिना ज्ञानको प्रयोग गरेकोमा माफी पनि माग्दछन् । त्यतिखेर गुरू द्रोणको मुहारमा मन्द मुस्कान र अर्जुनका लागि स्नेह झल्किन्छ । उनी अर्जुनको लगनको प्रशंसा गर्छन् ।

महाभारतको उल्लिखित प्रसङ्गमा विचारणीय पाटो यी गुरू–शिष्यको एकअर्काप्रतिको बुझाइ नै हो । 

गुरू द्रोणाचार्यलाई राम्ररी थाहा छ कि अर्जुन कति चतुर छन् र सँगसँगै यो पनि थाहा छ कि अन्य शिष्यहरु अर्जुनको तुलनामा कति पछाडि परेका छन् । उनी अर्जुनको अनुपस्थितिमा पनि अन्य शिष्यहरुलाई केही नयाँ अध्याय सिकाउने जमर्को गर्न सक्छन् । यो उनको अर्जुन र अर्जुनको क्षमताप्रतिको विश्वास पनि हो । किनकि उनलाई थाहा छ अर्जुन जस्तोसुकै परिस्थितिमा पनि तुरून्तै सिक्न सक्छन् ।

ठिक उसैगरी अर्जुन पनि आफ्ना गुरूको स्वभावबारे जानकार छन् । गुरूले केही नयाँ अभ्यास सिकाउँदै गर्दा त्यसको कुनै न कुनै निशानी छाडेका हुन्छन् भन्नेमा उनी विश्वस्त छन् । जब गुरू र शिष्यबीचको यस किसिमको तादात्म्य मिल्छ, शिक्षण सिकाइ उसै प्रभावकारी बन्छ ।

  ...                                                                                                ...                                                                                 ...

‘शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरू, मास्टर’ ।

नेपाली बृहत् शब्दकोशले ‘शिक्षक’ शब्दलाई यसरी अथ्र्याएको छ । अर्थात् शिक्षक ती मानिस हुन् जो कुनै विद्यालयमा पढाउँछन् ।

शिक्षक हुनुको अर्थ यसरी एक प्रकारले शाब्दिक र व्यावहारिक रुपमै पनि सङ्कुचित भएको छ । हाम्रो समाज र हाम्रो परिवेशले आज बुझेको शिक्षक प्रतिको बुझाइ भन्नु नै यत्ति मात्रै हो । यसमा केही थप गरिहाल्यो भने जागिरे मानसिकता र तलबमुखी प्रवृत्तिलाई पनि जोड्न सक्छन् । 

२०५८ साल मङ्सिर ५ गते म एउटा संस्थागत विद्यालयको शिक्षक पदमा नियुक्त भएँ । त्यतिञ्जेलसम्म मेरो परिचय एउटा भर्खरै एसएलसी पास गरेर एघार कक्षा पढ्दै गरेको किशोरको रुपमा थियो । ठ्याक्कै एक हप्ता अघिसम्म म गाउँमा हल्लिँदै हिँड्थेँ । मैले जुवातास खेल्दै हिँडेको कसैलाई मतलब हुँदैनथ्यो । टोल छिमेकमा जति नै होहल्ला गर्दै झगडिँदै हिँडे पनि कसैले गम्भीरता पूर्वक लिँदैनथे । गोठालो जानु, खोलामा पौडिनु, घाँस दाउरा गर्नु, सबै सामान्य थिए । तर जुन दिन एउटा सोह्र वर्षे किशोर बोर्डिङ स्कुलको जागिरेको रुपमा दर्ज भयो ठिक त्यसै दिन देखि उसले बियरको बोतलको होर्डिङबोर्ड भएको होटलमा छिरेर मःमः खान पनि कैयौँ पटक सोच्न थाल्यो । टोलछिमेकमा बोल्दा आफ्नो स्वर अरूको भन्दा ठूलो नहोस् भनेर थुप्रैपटक सजग भयो । उसले हिजो अस्ति जस्तै घाँसदाउरा गर्दा कैयौँपटक छिमेकीले भने, ‘मास्टर सा’प पनि नाम्लो बोकेर !’ बिस्तारै बिस्तारै मैले उनीहरुलाई आश्चर्य लाग्ने थुप्रै कामहरु छाड्दै गएँ । आफूलाई मनपर्ने थुप्रै कामहरु त्याग्दै गएँ ।

सोच्नुस् त– एउटा होटलमा एक हुल मानिसहरु छन् । टेबलमा मदिराको बोतल छ । केही गिलास छन् । 

त्यो हुलमा एउटा व्यापारी छ ।

‘व्यापारमा मनग्गे फाइदा छँदै छ, उडाओस् !’

अर्को एउटा राजनीतिकर्मी छ ।

‘फेरि कुनै चुनावको सेटिङ होला, खाओस् ।’

अरू कुनै पेसाकर्मी छ ।

‘फ्रेस हुन आएको होला, मोज गरोस् !’

तर त्यहाँ एउटा शिक्षक छ ।

‘ल हेर, आफैँ यसरी धोक्नेले केटाकेटीलाई के सिकाउला ?’

‘मास्टर भएर यसरी जाँड खाने ?’

यो हाम्रो समाजको स्वाभाविक प्रतिक्रिया हो । त्यहाँ बसिरहेको त्यो ‘मास्टर’ले भलै जिन्दगीमा कहिल्यै मदिरा सेवन गरेको नहोस् ।

यो एउटा सानो उदाहरण मात्रै हो । शिक्षक हुँदै गर्दा शिक्षकले यस्ता धेरै कुराहरुबाट सजग भइदिनुपरेको छ । यसरी एउटा शिक्षकले शिक्षक मात्रै भइदिएर विद्यालयमा पढाएर मात्रै पुगेको छैन । यो समाजको स्वाभाविक अपेक्षा पनि हो किनकि तपाईँ शिक्षक हुनुहुन्छ ।

जब तपाईँ शिक्षक बन्नुभयो तब तपाईँले जस्तो पायो लगाउनु भएन । जता पायो जानु भएन । जसरी मन लाग्यो हिँड्नु भएन । जे पायो खानु भएन । तपाईँ त शिक्षक हो नि !

एउटा अभिभावकले जहिल्यै के सोच्नुहुन्छ कि तपाईँ भनेको सबै कुराको ज्ञाता हो । अझ गाउँघरमा जहाँ यस खालको चियोचर्चो ज्यादा हुन्छ त्यहाँ अभिभावकहरुको बोलीमै हुन्छ, ‘मास्टर भएर यत्ति पनि थाहा छैन ?’ कसैलाई कुनै रोगव्याधीले छोयो भने डाक्टरी पनि शिक्षकले गरिदिनुपर्छ । कसैका घरमा रेडियो टिभी बिग्रे प्राविधिक पनि बनिदिनुपर्छ । खेतीबाली बिग्रे त्यता पनि उपाय सुझाइदिनुपर्छ । बाटोघाटो पुलपुलेसा बनाउँदा प्राविधिक पनि बनिदिनुपर्छ । गाउँछिमेकमा झैझगडा हुँदा प्रहरीदेखि न्यायाधीशसम्मको प्रारम्भिक भूमिका पनि शिक्षकबाटै अपेक्षा हुन्छ । कतै कुनै कार्यालयमा निवेदन लेख्नुपर्दा पनि निर्विकल्प ठोक्किने तपाईँ शिक्षकसँगै हो ।

यदाकदा यस किसिमको अपेक्षा देखि वैराग्य लागेर आए पनि मनन गर्ने हो भने यो हाम्रा लागि सुन्दर पक्ष पनि हो । कोही हामीबाट सकारात्मक स्वभाव र आचरणको अपेक्षा किन गर्छ ? किनकि उसलाई हामी प्रति विश्वास छ । कम्तीमा यस्तो एउटा बिन्दुमा आएर समाजको भरोसा टिकेको छ जहाँ उनीहरुलाई नराम्राहरु पनि राम्रा हुन्छन् भन्ने लाग्छ । यो विश्वासलाई टिकाइराख्न हामीले हामीलाई नै थोरै बदल्नु छ । हाम्रो बोलीको भाषालाई बदल्नु छ, हाम्रो व्यवहारको भाषालाई बदल्नु छ । 

- शनिबार हेटौंडामा विमोचन भएको* छवि अनित्यको पुस्तक 'शिक्षकको भाषा'बाट । झण्डै दुई दशक शिक्षण क्षेत्रमा विताएका लेखक, शिक्षक सेवा आयोग पास गरेर २०७२ सालको माघ महिनामा निमावि तहमा अँग्रेजी शिक्षकका रुपमा स्थायी नियुक्त भएका थिए । २०७५ बैशाखमा राजीनामा गरेका उनी त्यस यता पनि शिक्षणमा संलग्न छन् । कविता, निबन्ध र समसामयिक आलेखहरुमा कलम चलाउँदै आएका उनको यो पुस्तक आफ्ना अनुभव र शैक्षिक दृष्टिकोणको एक संग्रह हो  – सं.

अपडेट गरिएको - सं.

प्रतिक्रिया