Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विना दर्ता शिक्षक महासंघ सञ्चालनमा ! कारवाहीको माग

विहीबार, ०१ पुस २०७८

काठमाडौं - विना दर्ता सञ्चालनमा रहेको दावी सहित नेपाल शिक्षक महासंघ र पदाधिकारीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरिएको छ । नमूना मच्छिन्द्र मावि लगनखेल ललितपुरका विद्यालय कर्मचारी शंकरबहादुर कुमाल र बेलर ईण्टरनेशनल एकेडेमी काभ्रेपलाञ्चोकका शिक्षक शिव राम सिग्देलले उक्त कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका हुन् । 

यस अघि महासंघको दर्ता बारेमा जानकारी सहित उसले प्रयोग गर्दै आएको दर्ता नम्बर प्रमाणित गर्न माग गर्दै उनीहरुले गत कात्तिक १० गते कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदन माथि कारवाही गर्दै कार्यालयले आफ्नो कम्प्युटर अभिलेखमा महासंघको दर्ता नदेखिएको व्यहोरा लिखित रुपमा जानकारी गराएको थियो । 

महासंघले साविकको यूनीयनको दर्ता नम्बर ०२/२०६० लाई नै आफ्नो दर्ता नम्बरका रुपमा प्रयोग गर्दै आएको छ । तर उक्त दर्ता नम्बर नेपाल शिक्षक  महासंघको नाममा नभएको भन्दै प्रशासकीय अधिकृत तेजिन्द्र गौतमको हस्ताक्षर सहितको पत्र प्राप्त भए पछि कारवाहीको माग गर्दै उनीहरुले गत मंसिर १८ गते अर्को निवेदन दर्ता गराएका हुन् । 

'दर्ता विनाको संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा अकुत रकम उठाएको' उल्लेख गर्दै उक्त पत्रमा महासंघका अध्यक्ष कमला तुलाधर, सहअध्यक्ष पुर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीलाई कारवाहीको माग गरिएको छ । 

साविकको शिक्षक यूनीयन नै महासंघमा रुपान्तरण भएको दावि सहित शिक्षकका विभिन्न घटकहरु आवद्ध भएर महासंघ गठन गरिएको थियो । शिक्षा ऐनको दफा १६ ङ मा सामुदायिक विद्यालयका शिक्षकको हकहितका लागि काम गर्न महासंघ रहने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया