Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कम नम्बर आएकालाई उजुरीको मिति गुजारेर फेरी सिफारिस !

बुधबार, ०८ मंसिर २०७८

काठमाडौं - २१ दिन अघि गरेको सिफारिसलाई बदलेर त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम नम्बर आएका उम्मेद्वारलाई सहप्राध्यापकमा फेरी सिफारिस गरेको छ । शिक्षा शास्त्र संकाय अन्र्तगत शारिरिक शिक्षा विषयका लागि गरिएको आन्तरिक विज्ञापन अन्र्तगत गत कात्तिक १५ गते गरिएको सिफारिस बदलेर आयोगले उजुरी गर्ने मिति सकिएकै दिन गत सोमबारको मितिमा अर्कै व्यक्तिलाई फेरी सिफारिस गरेको हो । 

आवेदन नम्बर ४०६३ का माधवकुमार श्रेष्ठको सिफारिसलाई बदलेर आयोगले आवेदन नम्बर ४८५० का मित्रलाल श्रेष्ठलाई फेरी सिफारिस गरेको छ । सोमबारको मितिमा गरिएको सिफारिस मंगलबार सार्वजनिक भएसँगै आयोगको कार्यसम्पादन माथि प्रश्न उठेको छ । 

सानोठिमी शिक्षा क्याम्पसका माधव कुमार श्रेष्ठ ७६ दशमलब ८२ अँक सहित सहप्राध्यापकमा बढुका भएका थिए । तर, आयोगले ७३ दशमलब ४० अँक प्राप्त गरेका महेन्द्ररत्न क्याम्पस ताहाचलका मित्रलाल श्रेष्ठलाई फेरी सिफारिस गरे पछि आयोगको विश्वसनीयता माथि नै प्रश्न उब्जिएको छ । शिक्षक नियुक्ति सिफारिस सम्बन्धि विनीयम २०७५ अनुसार सिफारिस भएको व्यक्ति उपर उजुर बाजुर गर्नका लागि २१ दिनको समय तोकिएको हुन्छ तर आयोगले उक्त समय गुज्रे पछि अर्कै व्यक्तिलाई सिफारिस गर्दा  आयोगको कार्य सम्पादन माथि प्रश्न उठेको हो । 

पहिला भएको सिफारिस प्रति चित्त नबुझाएका मित्रलालले आयोग अन्र्तगतको पुनरावेदन आयोगमा उजुरी हालेका थिए । उक्त उजुरी माथि छानविनको प्रकृया नसकिदैं सेवा आयोगले पेशी आउनु दुई दिन अघिको निर्णय भन्दै हतार हतार उनको नाम सिफारिस गर्नुले पनि आयोगको कार्य माथि शँका गर्ने ठाउँ दिएको विश्वविद्यालयका एक जना उपप्राध्यापक बताउँछन् । 

'यदि माधवको सिफारिसमा त्रुटि भएको थियो भने यतिका दिन सम्म नहेरेर उजुरी गर्ने मिति गुज्रेकै दिन मित्रलालको सिफारिस गर्नु पर्नाको कारण के हो ?' प्रश्न गर्दै ति उपप्राध्यापक भन्छन्, 'यस अघि पनि आयोगका पदाधिकारीहरु यस्तै विवादमा परेका थिए, फेरी त्यही क्रम दोहोरिनुले आयोगको विश्वसनीयता माथि नै गम्भिर प्रश्न उठेको छ, यस बारेमा के भएको हो आयोगले छिट्टै सार्वजनिक गर्नु जरुरी छ ।'

आयोगका सदस्य  हेमराज ढकालले भने सेवा आयोगले पहिले गरेको सिफारिसमा भएको सानो त्रुटि सच्याउँदा यस्तो हुन गएको भन्दै बचाउको प्रयास गरे । 

'सेवा आयोगले पहिले गरेको सिफारिसमा सानो एरर भएछ, सम्बन्धित व्यक्तिले उजुरी हाले पछि छानविन गर्दा अनुभवको नम्बर गणनामा त्रुटि फेला परकाले सच्याईएको हो' उनले दावी गरे, 'यसमा सेवा आयोगको कुनै बदनियत छैन, क्राईटेरिया ओपन छ ईच्छा लागेकाले हेर्न सक्नु हुन्छ ।'

बढुवाका लागि ४० नम्बर अनुभव, ४ नम्बर कार्यरत संस्थाको प्रमुखको सिफारिस, २१ नम्बर आर्टिकल प्रकाशन, १० नम्बर अन्र्तवार्ता र २५ नम्बर शैक्षिक योग्यताका लागि निर्धारण गर्ने कानूनी व्यवस्था छ । यी सबैका आधारमा माधवले ७६ दशमलब ८२ अँक प्राप्त गरेका थिए । मित्रलालको भने ७३ दशमलब ४० अँक मात्रै थियो । कम नम्बर प्राप्त गरेकाको सिफारिस भए पछि अहिले विश्वविद्यालयमा आयोगको कामको आलोचना भईरहेको छ । त्यस माथि सिफारिसमा चित्त नबुझे उजुरी हाल्न तोकिएको मिति कटाएर, पुनरावेदनमा पेशीको मिति तय भएको अघिल्लो दिन सिफारिस परिवर्तन गर्नुले आयोगको बदनियत देखिएको विश्वविद्यालयका प्राध्यापकहरु बताउँछन् ।  

प्रतिक्रिया