Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

जनगणनामा शैक्षिक विवरण : ११ अध्ययन क्षेत्र र १६ तह छुट्याएर तथ्याङ्क संकलन

विहीबार, २५ कार्तिक २०७८

काठमाडौं - यस पटकको जनगणनामा ११ अध्ययन क्षेत्र र १६ तह छुट्याएर शैक्षिक विवरणको तथ्याङ्क संकलन गरिने भएको छ । बिहीबारबाट शुरु बाह्रौं श्रृंखला अन्तरगत अध्ययन गरेको क्षेत्रमा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य/चिकित्सा शिक्षा, ईञ्जिनियरिङ, कानून, कृषि, वन, पशुविज्ञान/ पशुचिकित्सा / मत्स्यपालन र कम्प्युटर / सूचना प्रविधिको विवरण संकलन गरिने छ । यसैगरी शिक्षाको तहमा नर्सरी/ के.जी बाट हरेक कक्षा र तह गरी पि.एच.डि. सम्मको विवरण संकलन गरिने छ । 

कक्षागत रुपमा नर्सरी/के.जी बाट कक्षा १० टेष्टपास सम्मको विवरण संकलन गर्दै त्यस भन्दा माथि एसएलसी/एसईई, १० जोड दुई, स्नातक वा सो सरह, स्नातकोत्तर वा सो सरह र पि.एच.डि सम्मको विवरण संकलन गरिने छ । 

अध्ययन गरेको क्षेत्र अन्र्तगत उल्लेखित बाहेकका क्षेत्रलाई अन्य र थाहा छैन भन्ने शिर्षक पनि राखिएको छ । यस्तै तह अन्र्तगत पनि अन्य, तह नभएको / तह नखुलेको र थाहा छैन भन्ने शिर्षक पनि समावेश गरिएको छ । शैक्षिक विवरण अन्र्तगत ५ बर्ष वा सो भन्दा माथिका उमेरकाको मात्रै विवरण संकलन गरिने छ । यसरी संकलन गरिएको विवरणमा पढ्न लेख्न जानेको / नजानेको, पढ्न लेख्न शैक्षिक संस्थामा गएको / नगएको, कति कक्षा उत्तीर्ण गरेको र अध्ययनको तहका बारेमा विवरण संकलन गरिने छ । 

जनगणनाका लागि घरघरमा पुग्ने गणकले शैक्षिक सहित अन्य ८० वटा प्रश्न सोध्नेछन् ।

बि.सं. १९६८ देखि हरेक १०–१० वर्षमा हुने जनगणना यस वर्ष बिहीबाटबाट शुरु भई आगामी मंसिर ९ गते सम्म सञ्चालन हुनेछ । जनगणनाको राष्ट्रिय कार्यक्रममा भाग लिन सरकारले सबैलाई अनुरोध गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग मार्फत् हुने जनगणनाका लागि देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।

सरकारले जनगणनाको पहिलो चरणमा गत कात्तिक १८ गते सम्म घर तथा घरपरिवारको सूचीकरण गरिसकेको छ । त्यतिखेर सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर विस्तृत विवरण संकलन गर्ने छन् ।

काठमाडौं जिल्लामा डिजिटल पद्दतिमा आधारित प्रविधि प्रयोग गरी ट्याबलोईटबाट र अन्य जिल्लाहरुमा कागजी प्रश्नावली प्रयोग गरी विवरण संकलन गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया