शिक्षण पेशा गर्व गर्न लायक हुनुपर्छ । त्यसका लागि शिक्षक स्वयं पनि असल हुनुपर्छ । सरकार भने असल शिक्षक भन्दा हाम्रा शिक्षक खोज्न लागिरहेको छ । भनिन्छ , शिक्षक हुनलाई जन्मजात गुण पनि चाहिन्छ । ऊ स्वस्थ्य हुनुपर्छ । आज हामी जो शिक्षक भन्छौं, हिजो गुरु थियौं, आज शब्दमा खैराँति माष्टरको उपाधि पाएका छौं !
शिक्षण पेशा र शिक्षकको मर्यादा समाजका दिन प्रतिदिन खस्कँदो छ । असल शिक्षकको लागि यो पीडाको बिषय बन्दै गएको छ । यसमा हामी शिक्षक पनि जिम्मेवार । सरकार त कारक तत्व नै हो । नवसंशोधनवाद, दलाल पूँजीवाद र उदारवाद आजको समाजको विशेषता बनेको छ । यसले आदर्शवादलाई कोमामा पुर्यायो !
प्राचीन कालमा गुरूबाट दीक्षा लिन्थ्यौँ । ज्ञान प्राप्त गथ्र्यौ । नैतिक उपदेश लिन्थ्यौं । गुरूका आफ्ना आचरण हुन्थे । गुरूमा विद्वत्ता हुन्थ्यो । भौतिक मोह थिएन । मोक्ष प्राप्ति जीवनको उद्देश्य थियो । समाजमा पाप र धर्ममा विश्वास थियो । तर आज समाज दलाल पुँजीवाद, नवसंशोधनवाद र अधिकनायकवादको दलदलमा फसेको छ । व्यक्तिको मूल्य, मान्यता र मर्यादा धनले निर्धारण गर्छ । अन्य कुरा गौण !
देशको सामाजिक, राजनीतिक एवं आर्थिक क्षेत्र विकृति र विसंङ्गतिको डङ्गुर भित्र फसेको छ । यस भित्र असल शिक्षकको खोज गर्नु व्यर्थ हुन्छ । शिक्षक पनि त्यसै भित्र रूमल्लिएको छ । छुट्टै पहिचान दिन सकेको छैन ।
आदर्श शिक्षक
आदर्श शिक्षक कस्तो हुनुपर्छ ? यसका मुल्याङ्नका आधार र सिद्धान्त पुस्तकमा छ्यापछ्याप्ति भेटिन्छन् । शिक्षक बन्न शिक्षकमा हुनुपर्ने गुणहरू पढ्नु पर्छ तर व्यवहारमा उतार्नु पर्दैन किनकि शिक्षक बन्ने परीक्षामा व्यवहारको मुल्याङ्कन हुँदैन । गुरूबाट शिक्षक बन्यौं । गुरूले जीवनलाई उज्यालो तर्फ डोर्याउँथे । आत्मा प्रकाशमान हुन्थ्यो । सादा जीवन उच्च विचार आदर्श थियो । जीवन प्रति आशा पलाउँथ्यो । जिजीविषा जाग्थ्यो । जीवन के हो ? बुझिन्थ्यो । अध्यात्मवाद शिक्षाको आदर्श थियो । आज हाम्रो भुमिका शिक्षकको हो । सहजकर्ता । शिक्षा भौतिकवादी । आधुनिक शिक्षक । समाजमा हुर्किएको दलाल पुँजीवादी चेतना । शिक्षक त्यस समाजको अङ्ग । यस भित्र शिक्षकको गरिमा खोज्नु अर्को अनर्थ । रूथवेनेडिक्टको शब्दमा – जस्तो प्रकारको समाज छ,त्यस्तै प्रकारको व्यक्तित्व विकसित हुन्छ ।
शिक्षक नियुक्ति प्रक्रिया
शिक्षकको मर्यादा यसको प्रवेशसँग जोडिएको छ । शिक्षकको रूपमा प्रवेश गर्ने द्वार फरक छन्ः आंशिक, करार, अनुदान, अस्थायी र स्थायी । नियुक्ति हुने प्रक्रियाः स्वतः स्थायी, खुल्ला प्रतिष्पर्धा, आन्तरिक प्रतिस्पर्धा र सामान्य कक्षा अवलोकन । शिक्षण पेशामा प्रवेश गर्दा शिक्षकको शैक्षिक योग्यता भन्दा नाता, धन र बल नै योग्यताको प्रमुख आधार बन्ने गरेकै हुन् ।
खुल्ला प्रतिस्पर्धा भन्दा स्वतः स्थायी वा सीमित व्यक्ति बीच प्रतिष्पर्धा गरेर स्थायी हुन खोज्ने शिक्षकको प्रवृत्तिले समेत समाजमा कमजोर व्यक्ति मात्र शिक्षक बन्छन् भन्ने सोचको विकास भएको छ । यसले वौद्धिक दरिद्रतालाई छताछुल्ल बनाएको छ । अर्को तर्फ गैरजिम्मेवार र अनुदारवादी राजनीतिक एवं प्रशासनिक नेतृत्वको कारण शिक्षण पेशा अमर्यादित बन्दै गएको छ । सरकार शासक र शिक्षक शासित । वौद्धिक शोषण । शैक्षिक अस्तव्यस्ता भित्रको मज्जामा रमाइरहेको छ । सरकार शिक्षक नियुक्तिमा स्वच्छ, निष्पक्ष र तटस्थ प्रणालीको विकास गर्न चाहँदैन । ऊ धमिलो पानीमा माछा मार्न खोजिरहेको छ । राजनीतिक चरित्र समेत उस्तै छ । समूह चेतनाको विकास ।
शिक्षक नियुक्तिको लागि सिफारिश गर्ने शिक्षक सेवा आयोगलाई निकम्मा बनाइएको छ । आयोगका सबै कामहरू ठप्प भएका छन् । अधिकनायकवादी सरकारको चरित्रका कारण शिक्षक सेवा आयोग प्रतिको निष्पक्षता प्रति प्रश्न उठ्न थालेको छ । शिक्षा ऐनको दफा ११ ख को ३ को उपदफा २ अनुसार लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उप–कुलपति र मन्त्रालयको सचिव रहेको समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यमा नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार गत पुसमा भएको सिफारिस कार्यान्वयनमा आलटाल गरेर सरकारले कानुनी व्यवस्थाको धज्जी उडाँएको छ । आफ्नो अधिनायकवादी चरित्रलाई उदाङ्गो पार्दै छ । असल व्यक्ति भन्दा पनि आफ्ना मान्छेको खोजीले हजारौं शिक्षकको वृत्ति विकास ठप्प पारेको छ । आयोग खुलाएर नयाँ शिक्षक छनौट गर्ने र तीनै योग्य शिक्षकबाट पढ्न पाउने बालबालिकाको अधिकार हनन् समेत गरिरहेको छ ।
शिक्षक नियुक्तिको प्रमुख आधार भनेको शिक्षा ऐन, नियमावली र शिक्षक सेवा आयोग नियमावली नै हो । राज्यले भने शिक्षकमा पार्टीका कार्यकर्ता कति छन्, त्यसको टाउको गनेर शिक्षक नियुक्ति प्रक्रियामा समयानुकूल संशोधन गर्दै आएको छ । कहिले खुल्ला प्रतिष्पर्धा, कहिले आन्तरिक प्रतिस्पर्धा त कहिले स्वतः स्थायी । कसलाई भित्र्याउने, कसलाई गलहत्याउने ? यो खेलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आफैँ लागि परेको छ । प्रस्तावित शिक्षा ऐनको नवौं संशोधनमा ऐनको दफा ३९ हटाउनु यसको ज्वलन्त उदाहरण हो ।
शिक्षण पेशालाई मर्यादित बनाउन असल शिक्षकको नियुक्ति हुनु पर्छ । शिक्षकको नियुक्ति विद्यार्थीको भविष्यसँग जोडिएको छ । अन्ततः राज्यको समृद्धिसँग समेत जोडिएको हुन्छ । नियुक्ति प्रक्रिया विश्वसनीय हुनुपर्छ । नियुक्ति गर्ने निकाय पनि निष्पक्ष र तटस्थ हुनुपर्छ । यसले शिक्षक हुनुमा गर्व गराउँछ । सरकार नै असल शिक्षकको नियुक्ति भन्दा पनि पार्टीका कार्यकर्ता भर्ती गर्न सक्ने व्यक्तिलाई आयोगको सदस्यमा नियुक्ति गर्न लागि परेको छ । यसको पछिल्लो उदाहरण भनेको शिक्षक सेवा आयोग महिनौं देखि पदाधिकारीविहीन हुनु हो । यसले बिस्तारै शिक्षक आयोग प्रतिको निष्पक्षता, तटस्थता र विश्वसनीयता गुम्ने छ । शिक्षक पदको गरिमालाई घटाउने छ । शिक्षक हुनुको अस्तित्व समेत हराउनेछ ।
राजनीति र शिक्षक
राजनीति राज्य सञ्चालनको मुल नीति हो । यो दर्शनमा आधारित हुन्छ । नीति, ऐन, नियम यसैबाट निश्रित हुन्छन् । तर सरकारमा मौलाउँदै आएको नवसंशोधनवाद, दलाल पुजीँवाद, नवउदारवाद, अधिनायकवादी सोच र त्यसको पृष्ठपोषणले राज्यका निकायहरू निकम्मा बन्दै गएका छन् । इमर्सनका शब्दमा – विचारनै चरित्रमा परिणत हुन्छ ।
राज्यका सबै निकायमा नियुक्ति हुँदा शर्त र कबोलको ठेक्का पूरा गर्नु पर्ने भएको छ । विकासमा त कुरै भएन । यसले राज्य झन् आक्रान्त बन्दै गएको छ । सही व्यक्तिले सही काम पाउन सक्ने अवस्था छैन । असल र अनुभवी भन्दा पनि हाम्रो मान्छे हुनु पर्ने देखिन्छ । सच्चा शिक्षक उही मारमा ।
अब के गर्ने ?
जबसम्म मेधावी र असल व्यक्तिलाई शिक्षकमा भित्र्याउन सकिन्न तबसम्म शिक्षा क्षेत्रमा परिवर्तनको सोच दिवा स्वप्न मात्र बन्न पुग्छ । शिक्षक सेवा आयोग स्वतन्त्र निकायको रूपमा विकास हुन सकेन । आयोगको पदाधिकारी नियुक्तिमा हुने यस्ता शकुनि खेल सँधैंका लागि समाप्त हुनुपर्छ । यसको अन्त्यका लागि माध्यमिक शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षक नियुक्तिका लागि संवैधानिक शिक्षक सेवा आयोग गठन हुनु पर्ने वा शिक्षक नियुक्ति सम्बन्धी अधिकार लोक सेवा आयोगलाई दिनुपर्ने भनी आवाज उठाउँदै आएको छ । सरकारी कर्मचारीको सेवामा प्रवेश जुन द्वारबाट हुन्छ, शिक्षकको प्रवेश त्यही द्वारबाट हुनुपर्छ । यसले शिक्षण पेशालाई सम्मान जनक बनाउँछ । सक्षम व्यक्ति मात्र शिक्षण पेशामा प्रवेश गर्न सक्छन् । यसले शिक्षक हुनुमा समेत गर्व लाग्ने वातावरण निर्माण गर्छ ।
शिक्षक सेवा आयोग पदाधिकारी विहीन हुनुको प्रत्यक्ष प्रभाव साविकको उच्च माध्यमिक तहमा कार्यरत शिक्षक माथि परेको छ । एकातर्फ शिक्षा ऐनको नवौं संशोधनको शिक्षा विधेयकमा शिक्षा ऐनको दफा ३९ लाई हटाएको छ । जुन साविकको उमाविमा कार्यरत शिक्षकको हकको एकमात्र कानुनी व्यवस्था थियो । ऐनको कार्यान्वयन हुन अझै बाँकि छ । उमावि तहको २ हजार शिक्षक दरबन्दीले समेत पूर्णता पाउन सकेको छैन । कुन बिषयको दरबन्दी हो ? कुन श्रेणीको हो ? कुन तहको हो ? ऐन, नियमावलीमा कहीँ केही उल्लेख भएको छैन । ऐनको दफा ३९ ले २०७८ श्रावण १५ गते भित्र २ हजार उच्च माध्यमिक तहको शिक्षक दरबन्दीमा विज्ञापन खोलिनु पर्छ । नत्र उमावि तहमा अध्यापन गराउने शिक्षकको भविष्य अन्धकारमय बन्दैछ । सरकार आफूलाई जन उत्तरदायी दावी गर्छ भने यस तर्फ बेलैमा ध्यान दिनु जरुरी छ । नत्र त जे गर्दा पनि भै हाल्यो !
भट्टराई माध्यमिक शिक्षक युनियन नेपाल (हिस्टुनका) का केन्द्रीय अध्यक्ष हुन् ।
प्रतिक्रिया