Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रालय भन्छ : कोभिड संक्रमणको जोखिम बढ्ने सम्भावना, कार्याढाँचा अनुसरण गर्न अनुरोध

विहीबार, १२ चैत्र २०७७

काठमाडौं - कोरोना भाईरसको जोखिम बढेर जाने सम्भावना देखिएको भन्दै शिक्षा मन्त्रालयले सजग र सचेत रही सावधानीपूर्वक कृयाकलाप सञ्चालन गर्न शैक्षिक संस्थाहरुको ध्यानाकर्षण गराएको छ । संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सभा, जुलुस, भेला, गोष्ठि, जस्ता भिडभाड हुने व्यवसाय र कार्य नगर्न सूचना सार्वजनिक गरेको पाँच दिन पछि बल्ल शिक्षा मन्त्रालयले उक्त विषय प्रति ध्यानाकर्षण भएको सार्वजनिक गरेको हो । 

बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अहिलेको अवस्थाको समीक्षा गर्दै स्वास्थ्य मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न शिक्षण संस्थाहरुलाई ध्यानाकर्षण गराएको हो । बैठक पछि मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ । वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको उक्त विज्ञप्तिमा उल्लेख छ । 

‘शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र  कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन हुन अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।’

शैक्षिक संस्थाहरुले दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’ को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारवाट निर्णय भए बमोजिम गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।  

पढ्नुहोस् उक्त विज्ञप्ति :

पछिल्लो समय छिमेकी भारतमा संक्रमण बढेसँगै नेपालमा हुने जोखिमलाई ध्यान दिदैं सरकारले सचेत हुन आह्वान गरे पनि शैक्षिक संस्था बन्द गर्ने नगर्ने भन्ने विषयका बारेमा शिक्षा मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एडुखबरसँग कुरा गर्दै शैक्षिक संस्था बन्द गर्ने नगर्ने भन्ने निर्णय अवस्था विश्लेषण पछि मात्रै हुने भन्दै अहिलेलाई गम्भिरता पूर्वक जनस्वास्थयका मापदण्ड पालना तर्फ ध्यान दिन आग्रह गरेका थिए । 

शैक्षिक संस्था बन्द गर्ने नगर्ने अवस्था विश्लेषण पछि, मापदण्ड पालनामा ध्यान दिन आग्रह

प्रतिक्रिया