Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शैक्षिक संस्था बन्द गर्ने नगर्ने अवस्था विश्लेषण पछि, मापदण्ड पालनामा ध्यान दिन आग्रह

मंगलबार, १० चैत्र २०७७

काठमाडौं - शैक्षिक संस्था बन्द गर्ने नगर्ने भन्ने निर्णय अवस्था विश्लेषण पछि मात्रै हुने भन्दै स्वास्थ्य मन्त्रालयले अहिलेलाई जनस्वास्थयका मापदण्ड गम्भिरता पूर्वक पालना तर्फ ध्यान दिन आग्रह गरेको छ । कोरोना भाईरस (कोभिड - १९) को दोश्रो लहरको त्रास सँगै शैक्षिक संस्था बन्द हुने त हैनन् ! भन्ने शंका र हल्लाका बिचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त कुरा स्पष्ट पारेका हुन् । 

एडुखबरसँग कुरा गर्दै उनले हरेक एउटा एउटा कुरालाई स्वास्थ्य मन्त्रालयले भनेर साध्य नहुने बताउँदै महामारीको अवस्थाका बारेमा शैक्षिक संस्थाहरुले आफैं पनि गम्भिरता पूर्वक कुरा बुझ्न जरुरी रहेको बताए । 

'हरेक एउटा एउटालाई स्वास्थ्य मन्त्रालयले भनेर साध्य हुन्छ ? एक एक चिज लेखेर साध्य हुन्छ र ? कति पेज निकाल्ने विज्ञप्ति ?' उनले भने 'यसबाट बुझ्न पर्यो नी त बुझ्न नचाहने, गर्न नचाहने अनी स्वास्थ्य मन्त्रालयले स्कुललाई त भनेन भन्न मिल्छ र ?'

त्यसैले शैक्षिक संस्था सञ्चालन गर्दा भिडभाड नगरी गर्न तथा सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न उनले आग्रह गरेका छन् । 

'जनस्वास्थ्यको मापदण्ड नअपनाईकन विद्यालय खोल्नु भनेर बितेको एक बर्षमा हामीले कहिले भनेका छौं ?' प्रश्न गर्दै उनले भने 'हामीले नजिकबाट ध्यान पूर्वक हेर्दै छौं, हामीले जति भन्यौं त्यति गर्दै जाने अरु के गर्ने भन्ने कुरा हामी अवस्था विश्लेषण गरेर भन्दै जान्छौं ।' 

पछिल्लो समय छिमेकी भारतमा संक्रमण बढेसँगै नेपालमा हुने जोखिमलाई ध्यान दिदैं सरकारले गत आईतबार देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्य नगर्न सूचना सार्वजनिक गरेको छ । सामाजिक भौतिक दुरी कायम गर्न तथा हात धुने वा सेनिटाईज प्रयोग तथा मास्कको अनिवार्य प्रयोगमा ध्यान दिन सरकारले भनेको छ । 

प्रतिक्रिया