Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

अवकास योजनामा शिक्षकले देखाएनन् रुचि

सोमबार, ०९ चैत्र २०७७

काठमाडौं - उमेर बाँकी रहेर पनि सेवा अवधि पुरा भई पेन्सनका लागि योग्य भएका शिक्षकलाई लक्षित गर्दै ल्याईएको अवकास योजनामा शिक्षकले अरुचि देखाएका छन् । दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका प्राथमिक तहमा अध्यापनरत त्यस्ता वर्गका शिक्षकलाई लक्षित गर्दै ल्याएको योजनामा जम्मा १ जना शिक्षकले मात्रै रुचि देखाएको पालिकाको शिक्षा शाखाले जनाएको छ । 

शिक्षा मन्त्रालयबाट पुर्नवितरित शिक्षक दरबन्दी वितरण अनुसार पालिकाको प्राथमिक तहका लागी स्विकृत दरबन्दी भित्र रहेका शिक्षकलाई समेट्ने यो योजनाको लक्ष्य थियो । पालिका भित्रका ५१ शिक्षक दरबन्दी पुर्नवितरणमा परेका थिए । उक्त संख्यामा थोरै भन्दा थोरै शिक्षक परुन भनेर यो योजना ल्याईएको हो । 

योजनामा सहभागी हुन चाहने शिक्षकलाई गत शुक्रबार सम्म आवेदन हाल्ने गरी म्याद तोकिएको थियो । तर, लक्ष्य अनुसार शिक्षकको चासो नदेखिएको पालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहालले बताए । यो योजनामा सहभागी हुँदा थप कति रकम प्राप्त हुन्छ भन्ने यकिन नभएका कारण कम आवेदन परेको हुन सक्ने उनको अनुमान छ । 

पालिका भित्र रहेका २० सामुदायिक विद्यालयमा प्राथमिक तहमा मात्रै एक सय २७ शिक्षक कार्यरत छन् । यी मध्ये ६३ जना २५ बर्षे सेवा अवधि पार गरेका शिक्षक छन् । यो योजनामा कम्तिमा १५ जना सम्म सहभागी हुने पालिकाको अपेक्षा थियो ।

'पालिकाको शिक्षा समितिको निर्णय अनुसार आवेदन हाल्ने म्याद तोकेर सार्वजनिक सूचना जारी गरिएको हो, अब प्राप्त आवेदन र यो योजनाको आगामी कार्यका बारेमा समितिको बैठक बसेरै निर्णय हुने छ' उनले भने '२०५० साल पछिका शिक्षकहरु फरक जिल्लामा पनि छन्, तर २०४८ सालको आयोगबाट आएका शिक्षकहरु मध्ये अधिकाँश घरपायक नै रहेकाले उमेर छँदै छ अहिल्यै किन जागिर छाड्ने भन्ने सोच भएका कारण पनि आवेदन कम परेको हुन सक्छ  ।'

पेन्सनको अवधि पुगेका शिक्षकहरुलाई विदाई गरी उनीहरुका ठाउँमा नयाँ शिक्षक ल्याएर समयानुकुल पठनपाठन अघि बढाउने लक्ष्य साथ देशका अन्य पालिकाहरुले पनि यस्ता योजना ल्याएका छन् । 

यो पालिका भित्र रहेका २० विद्यालयहरु मध्ये निम्न माध्यमिक तहमा ४७ र माविमा ४५ जना स्थायी शिक्षक छन् । साविकको उच्च मावि दरबन्दीमा तीन जना शिक्षक कार्यरत छन् । पालिका भित्र १२ वटा निजी विद्यालय सञ्चालनमा छन् । 

 

प्रतिक्रिया