Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

प्रधानाध्यापक हुन ईच्छुकबाट दरखास्त आह्वान, पाँच बर्षे करार हुने

आइतबार, ०१ चैत्र २०७७

रुकुम - विद्यालय विकासको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्ति गर्ने गरी चौरजहारी नगरपालिकाले ईच्छुक शिक्षकहरुबाट दरखास्त आह्वान गरेको छ । नगरपालिका भित्रका विभिन्न १२ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्नका लागि शुरु यो प्रकृया अन्र्तगत आगामी शुक्रबारसम्ममा ईच्छुक शिक्षकहरुले आवेदन पेश गर्नु पर्ने छ । 

आधारभूत तहको कक्षा पाँच सम्मका लागि कम्तिमा १२ कक्षा वा सो सरह, आधारभूत तहको अन्य विद्यालयका लागि कम्तिमा स्नातक वा सो सरह र माध्यमिक तहको विद्यालय भए कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको र विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको शिक्षकले आवेदन हाल्न पाउने छन् । यसरी आवेदन पेश गर्दा प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपी, शिक्षक नियुक्तिपत्रको प्रतिलिपी, यस अघि प्रधानाध्यापक भएको भए नियुक्तिपत्र र आफूले सम्पादन गरेको मुख्य कार्यहरुको विवरण पनि बुझाउनु पर्ने छ । आवेदकहरुले विद्यालय विकासको प्रस्ताव समेत बुझाउनु पर्ने छ ।

प्राप्त दरखास्तहरुको छानवीन गरी प्रधानाध्यापक हुन योग्य व्यक्तिहरुलाई शिक्षा अधिकृतले बढिमा पाँच बर्षको लागि प्रधानाध्यापक पदमा नियुक्ति गर्ने छ । विद्यालय विकासको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्ति पूर्व प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा शिक्षा अधिकृतसँग तोकिएको ढाँचामा पञ्चवर्षीय कार्य सम्पादन करार सम्झौता गर्नु पर्ने छ । तोकिएको अवधि भित्र दरखास्त पेश नगरेमा नगर शिक्षा समितिले विद्यालयमा कार्यरत जुनसुकै शिक्षकलाई योग्यता र क्षमताको मूल्याँकन गरी प्रधानाध्यापक पदमा नियुक्तिको निर्णय गर्ने पालिकाले जनाएको छ ।  

सामुदायिक विद्यालय सुधार गर्ने अभियान अन्र्तगत पालिकाले यस अघि नै घोषणा गरेको शैक्षिक पुर्नजागरण अभियान कार्यान्वयनका लागि प्रधानाध्यापक नियुक्तिको यो शैली अपनाईएको पालिकाले जनाएको छ । उक्त अभियानको सफल कार्यान्वयनका लागि प्रत्येक विद्यालयमा विद्यालयको प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रुपमा काम गर्ने प्रधानाध्यापकसँग व्यवस्थापकीय र नेतृत्वदायी क्षमता हुनु जरुरी रहेकोले यो विधि अपनाईएको जनाईएको छ । यसरी नियुक्त हुने प्रधानाध्यापकको कार्यले सामुदायिक विद्यालयहरुको गति गुणात्मक ढंगले अघि बढ्ने अपेक्षा गरिएको पालिकाले जनाएको छ । 

नयाँ प्रधानाध्यापक नियुक्ति गर्नु पर्ने १२ विद्यालयमा अमलाटाकुरा स्थित मालिका आधारभूत विद्यालय, कालापत्थर स्थित ज्ञानकुञ्ज आधारभूत विद्यालय, कोटजहारी स्थित  श्री माध्यमिक विद्यालय, खागल स्थित जनकल्याण माध्यमिक विद्यालय र मुलपानी स्थित  जनज्योती आाधरभूत विद्यालय छन् । यसैगरी पुरानापानी स्थित जनआस्था आधारभूत विद्यालय, मुलडाडाँ स्थित बाल कल्याण आधारभूत विद्यालय, नाख्ला स्थित बालज्योती आधारभूत विद्यालय, घरेलीचौर स्थित  सरस्वती माध्यमिक विद्यालय, सिमलचौर स्थित जनता आधारभूत विद्यालय रातामाटा स्थित  जनकल्याण आधारभूत विद्यालय र तिमिलेपोखरी स्थित जनचेतना आधारभूत विद्यालय रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जनाएका छन् ।   

प्रतिक्रिया