Edukhabar
आइतबार, ०६ असोज २०८१
गतिविधि

शिक्षक, प्राध्यापकलाई खोप लगाउन बल्ल पत्राचार

मंगलबार, २७ माघ २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) विरुद्धको खोप अभियानको दोश्रो चरणमा समेत शिक्षक छुटेकोमा भएको आलोचना पछि बल्ल शिक्षा मन्त्रालयले यो वर्गलाई खोपमा प्राथमिकता दिन औपचारिक पत्राचार गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरिएको पत्राचारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले 'प्राथमिकताका आधारमा विश्वविद्यालयहरु र विद्यालयहरुमा कार्यरत प्राध्यापक तथा शिक्षकहरुलाई खोप लगाउने व्यवस्थाका लागि अनुरोध' गरेको छ । 

शिक्षा मन्त्रालयबाट गर्नु पर्ने आवश्यक प्रकृया र लविङ् तर्फ शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमा चासो नदिदाँ खोप अभियानको दोश्रो चरणमा पनि शिक्षक छुटेका हुन् । 

पढ्नुहोस् : शिक्षा मन्त्रीको प्राथमिकता अन्तै हुँदा दोस्रो चरणमा पनि परेनन् शिक्षक

मंगलबार गरिएको सचिव स्तरीय निर्णयको हवाला दिदैं पठाईएको उक्त पत्रमा खोप लगाउने व्यवस्थाका लागि शिक्षक अभिभावकको पेशागत संस्थाहरुबाट भएको अनुरोधका कारण निर्णय गरिएको उल्लेख छ । उक्त निर्णय अघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतका संस्थाहरुले लाखौं विद्यार्थीसँग प्रत्यक्ष जोडिने वर्गलाई खोपमा प्राथमिकता दिन औपचारिक अनौपचारिक रुपमा शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।  

गत माघ १४ गतेबाट शुरु भएको खोप अभियानको सोमबारबाट शुरु दोश्रो चरणमा सरकारले पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शु्रु गरेको छ । 

कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो । स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ । 

प्रतिक्रिया