Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

अदालतको आदेश पछि पाठ्यक्रम प्रारुप परिमार्जन, गणितको समस्या समाधान

शुक्रबार, १६ माघ २०७७

काठमाडौं - कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम प्रारुप परिमार्जन गर्दै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले जीवन उपयोगी वा गणित पढ्न पाउने निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले प्रारुपमा उल्लेख सामाजिक अध्ययन र जीवन उपयोगीको सट्टामा विद्यार्थीले चाहेमा गणित विषय रोज्न पाउने निर्णय गरेको हो । 

अब सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणित ऐच्छिकको चौथो समूह अन्र्तगत अनिवार्य एवं ऐच्छिक विषय भएका छन् । यो निर्णय सँगै यही शैक्षिक सत्रबाट ती दुई मध्ये एक विषय अनिवार्यका रूपमा छनोट विद्यार्थी स्वतन्त्र भएका छन् । 

यो निर्णय सँगै पछिल्लो समय देखिएको पाठ्यक्रमको विवाद र अन्योल हटेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रतिकृया दिए । अब विद्यार्थीले सामाजिक अध्ययन तथा जीवन उपयोगी अनिवार्य विषयका रुपमा लिएका भए ऐच्छिकमा गणित लिन र गणित अनिवार्य लिएकाले ऐच्छिकमा सामाजिक अध्ययन तथा जीवन उपयोगी विषय लिन सक्ने गरी दुवै मार्ग प्रसस्त गरिएको उनले बताए । 

नयाँ पाठ्यक्रम प्रारुपले अँग्रेजी, सामाजिक अध्ययन तथा जीवन उपयोगी र नेपाली विषयलाई अनिवार्य बनाए पनि गणितलाई नसमेटेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको थियो । प्रारुप विरुद्ध गणित समाजको समर्थनमा भागवता अर्यालको नाममा अदालतमा हालिएको मुद्दाको सुनुवाई गर्दै अदालतले निर्देशनात्मक आदेश दिएको थियो । न्यायाधिसहरु तेज बहादुर के सी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा दुई दिन लगातार चलेको बहस पछि गत पुस २८ गते अदालतले माग बमोजिम नहुने भन्दै उक्त आदेश जारी गरेको थियो । सो आदेश सँगै नयाँ पाठ्यक्रम प्रारुप लागू गर्ने बाटो खुले पनि गणितको विषय सम्बोधन गर्न बाँकी थियो । उक्त आदेशको फैसला औपचारिक रुपमा पाठ्यक्रम विकास केन्द्रमा प्राप्त हुन बाँकी रहे पनि केन्द्रका अधिकारीहरुले अदालतमै पुगेर फैसला अध्ययन गरेका थिए । सोही फैसलाका आधारमा परिषद्ले निर्णय गरेको केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले जानकारी दिए । 

पाठ्यक्रम प्रारुपले गणित विषयलाई अवमूल्यन गरेको भन्दै लामो समय देखि आन्दोलनरत गणित समाजले उक्त निर्णयको स्वागत गरेको छ । उक्त निर्णयले यस अघि गणित विषयलाई गरिएको विभेद र विद्यार्थीको भविष्य माथिको खेलवाडको अन्त्य भएको समाजका सहसचिव जीवन काफ्लेले बताए । 

'सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षाको स्ल्यासमा गणित पढ्न पाउने परिषद्को निर्णयलाई हामीले स्वागत गरेका छौं' उनले भने 'यो निर्णय सँगै विद्यार्थीको भविष्य माथि गर्न खोजिएको खेलवाड अन्त्य भएको छ ।'

प्रतिक्रिया