Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

कोभिड विरुद्धको खोप अभियान शुरु : शिक्षकलाई कहिले ?

बुधबार, १४ माघ २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी गरी तीन प्रशितलाई प्राथमिकतामा राखेर पहिलो चरणमा खोप लगाउन शुरु गरिएको हो । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने सरकारको तयारी छ ।

खोप अभियान शुरु भएसँगै बालबालिकाको प्रत्यक्ष सम्पर्कमा रहने शिक्षकलाई कहिले देखि शुरु हुन्छ त ? 

यसको ठ्याक्कै उत्तर शिक्षा मन्त्रालयसँग पनि छैन । शिक्षकलाई पनि प्राथमिकतामा राख्नु पर्छ भनेर लेखिपठाए पनि यहि दिन देखि शुरु हुन्छ भन्ने बारेमा अहिले नै यकिन भन्न नसकिने शिक्षा सचिव गोपीनाथ मैनालीले बताए । 

'आजबाट खोप अभियान शुरु भयो, हामीले चाहँदा चाँहदै पनि पहिलो चरणमा शिक्षक नसमेटिएको त पक्का भईहाल्यो, यो चरणमा अग्रपंक्तिमा खटिने ३ प्रतिशतलाई खोप दिईने छ' उनले भने 'त्यस पछि शुरु हुने दोश्रो चरणमा सरकारले लक्ष्य लिएको २० प्रतिशत अन्र्तगत शिक्षक पनि पर्छन् ।' 

खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले एक महिना अघिनै सबै स्थानीय सरकारका शिक्षा शाखालाई परिपत्र गरेको थियो ।  स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले उक्त प्रकृया शुरु गरेको थियो । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता देखि संस्थागत विद्यालयको मन्टेसरी स्तर सम्मकै शिक्षक कर्मचारीको विवरण तयार भएको केन्द्रले जनाएको छ । 

भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएसँगै नेपालमा खोप अभियान शुरु गरिएको हो । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीका अनुसार पहिलो दिन बुधबार १२ हजार व्यक्तिले खोप लगाउने छन् । 

खोप अभियानको प्रधानमन्त्री केपी ओलीले बुधबार भर्चुअल माध्यमबाट सुरु गरेको घोषणा गरे । तीन महिना भित्र सबै नेपालीहरुलाई निशुल्क रुपमा कोरोना विरुद्धको खोप उपलब्ध गराइसक्ने उनको दावी छ । 

ओलीले अभियान उद्घाटन गरेको घोषणा गरे लगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकु स्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोना विरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ । यो खोप भारतमा ७० प्रतिशत सम्म प्रभावकारी भएको अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । 
काठमाडौं उपत्यकामा १७ सहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने छ । 

करिब ७२ प्रतिशत नेपालीलाई खोप लगाउने गरी यस अघि नै स्वास्थ्य मन्त्रालयले योजना बनाएको छ । जस अन्र्तगत तीन चरणको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई छुटाएको भन्दै आलोचना भएको थियो । पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूहको वर्ग अन्र्तगत कुल जनसंख्याको ३ प्रतिशत हुने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । दोस्रो चरणमा ५५ वर्ष भन्दा माथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका प्रवासी कामदार सहितका दीर्घरोगीलाई लगाइने योजना बनाईएको छ । यो संख्या १७ प्रतिशत हुन्छ । यही समूहमा शिक्षक पनि पर्ने सचिव मैनालीको दावी छ । 

तेस्रो चरणमा ४० देखि ५४ बर्षका बाँकी सबैलाई खोप दिईने छ । यो संख्या ९ दशमलब ५५ प्रतिशत हुन्छ र रहेका र १५ देखि ३९ वर्ष उमेर समूहका ५२ प्रतिशतलाई लगाउने सरकारले योजना बनाएको छ । १५ बर्ष भन्दा मुनिका बालबालिकाका लागि भने अहिले सम्म खोप तयार भएको छैन ।

प्रतिक्रिया