Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विजोग विद्यालय : पुर्वाधार विकासका लागि अभियान

बुधबार, ०७ माघ २०७७

अछाम - विद्यालयको रेकर्डमा दुई सय चार विद्यार्थीको नामावली अंकित छ । विद्यालयमा एक जना स्थायी, एक जना राहत, निजी स्रोतका दुई जना, एक जना बालविकास सहजकर्ता र एक जना कार्यालय सहयोगी छन् ।

२०५० सालमा स्थापना भएको कमलबजार नगरपालिका १ खिरीचौका स्थित श्री कालीका आधारभूत विद्यालयमा २०७१ सालमा बनेको दुइ कोठे भवन त छ त्यसको एउटा कोठामा विद्यालयमा रहेका केही डेक्स बेञ्च र अन्य सामग्री थन्क्याईएको छ भने अर्को कोठामा कार्यालय छ । 

हेर्नुहोस् : 

उक्त विद्यालयमा नाम लेखाईएका प्रायः सबैजसो विद्यार्थी विपन्न, गरीब तथा दलित समुदायका छन् । विद्यालय भवनको अवस्था भने विजोग छ । 

हेर्नुहोस् :  

विना ढोकाका यस्ता विद्यालयमा डेक्स बेञ्च रख्दा चोरी हुने डरले नयाँ भवनको कोठामा थन्क्याउनु परेको प्रधानाध्यापक देवीराम सन्याल बताउँछन् । त्यसैले जिर्ण धुलोयुक्त चिसो भुइँमा बसेर बालबालिका आफ्नो भविष्य नियाल्न वाध्य छन् ।  

यो अवस्थाबाट बालबालिकालाई मुक्ति दिलाउन पुर्वाधार विकासको अभियान शुरु गरिएको छ । स्थानीय सरकार तथा सरोकारवाला निकायबाट पुर्वाधार निर्माणमा पर्याप्त सहयोग प्राप्त हुन नसकेका कारण सहयोगको अपिल गरिएको सन्याल बताउँछन् । 

गत बर्ष स्थायी नियुक्ति पाएर प्रधानाध्यापकका रुपमा विद्यालयमा आएका सन्यालको अगुवाईमा ५० वटा डेस्क बेञ्च खरिद गर्ने कार्यबाट अभियान शुरु गरिएको हो । ती मध्ये २० जोडा विद्यालयमा ल्याइ सकेको र बाँकी थप ३० जोडा निर्माणाधीन अवस्थामा छन् । उक्त अभियान अबको केही समयमै दुइ कोठे पक्की भवन निर्माणमा परिणत हुँदै छ । यसका लागि गत पुस २३ गते सम्म सय जना दाताबाट तीन लाख ९२ हजार नौ सय एक रुपैंया र वडा कार्यालय मार्फत थप एक लाख रुपैंया प्राप्त भएको विद्यालयको अभिलेखबाट देखिन्छ । 

सहयोग संकलन अभियानमा सघाउन सामाजिक सञ्जालमा सक्रिय नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायलाई आग्रह गरे पछि रकम संकलनमा उल्लेख्य वृद्धि भएको सन्याल बताउँछन् । उपाध्यायले सामाजिक सञ्जाल मार्फत् आह्वान गरे पछि स्वदेश तथा भारत, अमेरिका, जापान, अष्ट्रेलिया, बेलायत, कोरिया, अफ्रिका आदि देशहरूमा रहेका नेपालीबाट अभुतपुर्व सहयोग प्राप्त भएको उनी बताउँछन् । प्रदेश सभा सदस्य अक्कल बहादुर रावल मार्फत विद्यालय घेरा पर्खाल निर्माणका लागी योजना छनौट गरिएको छ । 

बालबालिकाको सुन्दर भविष्य निर्माणको पहिलो स्थान भनेको विद्यालय भए पनि पर्याप्त पुर्वाधार नहुँदा त्यो लक्ष्य हासिल नहुने निष्कर्श साथ यो अभियान शुरु गरेको सन्याल बताउँछन् । 

'चुनौती त प्रसस्तै छन्, तर समस्या नै सम्भावनका खानी हुन्, समस्या भित्रै रहने सम्भावनाहरूलाई पहिचान गर्न नसक्दा हाम्रा विद्यालहरु दिर्घ रोगीको पर्यायको रुपमा चित्रित हुने खतरा देखिएको छ' सन्याल भन्छन् 'रुपान्तरणको ईच्छा शक्ति र जिम्मेवारी बोध हुने हो भने उपाय निकाल्न सकिन्छ र परिवर्तन गर्न सकिन्छ भन्ने लागेको छ ।'

विद्यालयमा भौतिक पक्षको सुधार संगै शैक्षिक गुणस्तर सुधारको अभियान पनि संगै लैजाने उनले बताए । 

'हजारौं माइलको यात्रा पहिलो पाइलाबाटै त हो शुरु हुने' उनी भन्छन् । 

प्रतिक्रिया