Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

संसद विघटनको विरोध सँगै उठ्यो रोकिएको पाठ्यसामग्री वितरणको माग

मंगलबार, २१ पुस २०७७

काठमाडौं - नेकपाको प्रचण्ड- माधव समूह निकट विद्यार्थी सँगठनले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा रोकिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहित शिक्षा मन्त्रालयले प्रकाशन गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न माग गरेको छ । सत्ताधारी दल भित्रको किचलोका कारण संसद विघटन भए पछि विरोधमा उत्रिएको संगठनले आफ्नो दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने क्रममा उक्त विषयलाई पनि समेटेको हो । 

असंवैधानिक रुपमा संसद विघटन गरिएको विरुद्धमा घोषणा गरिएका आन्दोलनका कार्यक्रममा शैक्षिक संघर्ष अन्र्तगत उक्त बुँदा समेटिएको छ । संघीय संसदवाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भुमि सहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने उक्त बुँदामा उल्लेख छ । 

भारतले मिचेको भूमी समेटेर तयार नक्सा गत जेठ ३१ गते संघीय संसदले सर्वसम्मत रुपमा जारी गरेको थियो । सोही  नक्सा अनुसार  नेपालको भूभाग र सिमाना सम्बन्धी जानकारी दिने उद्देश्यले तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम विकास मेन्द्र मार्फत् स्वाध्याय सामग्रीको विकास गराएका थिए । 

पढ्नुहोस् : शिक्षा मन्त्रीद्वारा नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय पुस्तिका सार्वजनिक

गत भदौ ३० गते मन्त्री पोखरेलले सार्वजनिक गरेको उक्त स्वाध्याय सामग्रीलाई वितरण नगर्न प्रधानमन्त्री ओलीले असोजको पहिलो साता निर्देशन दिएका थिए । संसदबाट दुई तिहाई भन्दा बढी मतले पारित नक्साका बारेमा विद्यार्थीलाई जानकारी दिन तयार सामग्री वितरण नगर्न भएको निर्देशनको चौतर्फी आलोचना भएको थियो । 'भाषणमा राष्ट्रवादी देखिने तर व्यवहारमा उल्टो कार्य गर्ने' प्रधानमन्त्री ओलीको शैली देखिएको भन्दै आलोचना हुँदै आएको छ । 

संगठनका सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौल तत्काल अन्त्य गर्न दवाव मुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने पनि उल्लेख छ । 

प्रधानमन्त्रीको संसद विघटनको कार्यलाई असंवैधानिक भन्दै संगठनले दोसो चरण अन्तर्गत आन्दोलनका निम्न कार्यक्रम घोषणा गरेको जनाएको छ ।

- पुस २१ गतेदेखि - ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने 

- पुस २१ गते - प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने।

- पुस २२ गते - उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरस्टिीरलाठी जुलुस ।

- पुस २३ गते - देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।

- पुस २४ गते - सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।

- पुस २५ गते - असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।

- पुस  २६ गते - बयलगाडा प्रदर्शन।

- पुस २७ गते - प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने । 

- पुस २८ गते - सडक नाटक र सडक आर्ट ( स्ट्रिट वाल पेन्टिङ) 

- पुस  २९ गते - सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन। 

प्रतिक्रिया