Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

बन्द विद्यालयहरु खोल्ने प्रस्ताव, आवश्यक परे जिल्लाले बन्द गर्ने

आइतबार, १९ पुस २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) संक्रमण जोखिमका कारण गत बर्ष चैत देखि बन्द गरिएका विद्यालयहरु खोल्न कोभिड रोकथाम सम्बन्धी उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) ले प्रस्ताव गरेको छ । विद्यालय सहित सिनेमा हल, जिमखाना लगायत अहिले सम्म बन्द रहेका क्षेत्रलाई खोल्ने समितिको प्रस्ताव छ । 

आईतबार बसेको समितिको बैठकले जोखिम बढेको खण्डमा बन्द गर्ने अधिकार जिल्ला स्थित कोभिड -१९ संकट व्यवस्थापन केन्द्रलाई दिन सकिने प्रस्ताव गरेको छ । जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने अधिकार पनि जिल्लालाई नै दिने गरी प्रस्ताव गरिएको जनाईएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतका अनुसार सरकारले यस अघि गरेको निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरु खोल्ने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव मन्त्रीपरिषद् बैठकले अनुमोदन गरे पछि लागू हुने छ ।

सत्ताधारी दल भित्रको किचलोका कारण दिनहुँ जसो भईरहेका सडक प्रदर्शन र भेलाहरुले कोरोनाको जोखिम थप बढाएको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता जाहेर गरिरहेका छन् । त्यस माथि नयाँ कोरोना भाईरसको जोखिम पनि बढ्दै गरेको उनीहरुको विश्लेषण छ । संक्रमणको जोखिम कम नभएको तर परीक्षणको दायरा घटाएका कारण संक्रमितको संख्या कम देखिएकोले स्वास्थ्य सचेतना कायम राख्न जनस्वास्थ्यविद्हरुले भनिरहेका बेला समितिले यस्तो निर्णय गरेको हो ।

कोभिड संक्रमणका कारण अस्तब्यस्त बनेको शैक्षिक कृयाकलापलाई सही बाटोमा ल्याउन र सिकाइ निरन्तर राख्न शुरु देखि नै सरकार असक्षम रहेको भन्दै आलोचना हुँदै आईरहेको छ । बालबालिकाको शैक्षिक कृयाकलापलाई चुस्त र प्रभावकारी बनाउनका लागि शिक्षक र बालबालिका बिचको सम्बन्ध कायम गर्न समेत नसकेको भन्दै सरकारको आलोचना जारी छ । संक्रमण जोखिम नभएका ठाउँमा पनि लामो समय विद्यालय बन्द गरिएको थियो । शिक्षकहरु प्रत्यक्ष कक्षा विना बालबालिकाको सिकाइ नहुने पुरातन सोचमा रहने र अनलाईन कक्षा सञ्चालन गर्दा पनि शुल्क उठाउन नसकेका निजी विद्यालयहरु जतिसक्दो छिटो प्रत्यक्ष विद्यालय खोल्ने हतारोमा छन् । 

यो पनि पढ्नुहोस् : फेरी विषयान्तरको प्रयास

प्रतिक्रिया