Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

अभिभावकको सहमती विना विद्यालय खोल्न नपाईने, वैकल्पिक सिकाइलाई निरन्तरता

शुक्रबार, २६ मंसिर २०७७

भक्तपुर - अभिभावक, शिक्षक र विद्यार्थीको सहमती विना बन्द रहेका विद्यालय खोल्न नपाईने भक्तपुर नगपालिकाले निर्णय गरेको छ । कोरोना भाईरस कोभिड - १९ संक्रमण जोखिमका कारण बन्द रहेका विद्यालयहरु खोल्नु अघि विभिन्न ३ वटा विषयलाई ख्याल गर्न र कडाईका साथ पालना गर्न नगरपालिकाको शिक्षा शाखाले सबै विद्यालयहरुलाई निर्देशन दिएको हो । 

कतिपय स्थानमा अभिभावकको सहमती विना हतारमा विद्यालय खोल्ने र संक्रमण देखिना साथ हतार हतार बन्द गर्ने क्रम बढिरहेका बेला भक्तपुरले स्वास्थ्य सजगता विना र पूर्व सावधानी नअपनाई हतारमा विद्यालय नखोल्न सचेत गराएको छ । विद्यालय खोल्नु अघि सबै विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, विद्यार्थी र अभिभावकसँग सर सल्लाह गर्न अनिवार्य रुपमा बैठक बस्नु पर्ने व्यवस्था गरिएको छ । विद्यालय खोल्ने बारे उक्त बैठकको निर्णय सहित मंसिर मसान्त भित्र विद्यालय सञ्चालन सम्बन्धि कार्ययोजना पेश गर्नु पर्ने छ । 

विद्यार्थी संख्या सय भन्दा कम भएका विद्यालयहरुको हकमा स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालन सम्बन्धि प्रस्तावना सहितको कार्ययोजना पेश गरी कक्षा सञ्चालन गर्न सकिने पालिकाले जनाएको छ । यसरी कक्षा सञ्चालन गर्दा  कक्षा ८, ९ र १० को कक्षा आलोपालो हुने गरी पुष १ गते देखि सञ्चालनको सुरुवात गर्न सकिने पालिकाले जनाएको छ । तर यी सबै कार्य अघि विद्यालय सञ्चालन सम्बन्धि प्रस्तावना सहितको कार्ययोजना अनिवार्य रुपमा पेश गर्नु पर्ने छ । 

प्रत्यक्ष रुपमा विद्यालय खोल्न नसक्ने अवस्थामा अनलाईनबाट जारी वैकल्पिक सिकाइलाई निरन्तरता दिन सकिने जनाईएको छ । 

शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचाले संक्रमणको अवस्था हेरी स्थानीय सरकारले विद्यालय खोल्न सक्ने व्यवस्था गरेसँगै विद्यालय खोल्ने क्रम बढ्दै छ । 

प्रतिक्रिया