Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

अनलाईन कक्षा यथावत, पहुँच बाहिर भएकालाई प्रत्यक्ष कक्षामा प्राथमिकता

सोमबार, २२ मंसिर २०७७

काठमाडौं - अनलाईन कक्षाहरुलाई यथावत कायम राख्दै अनलाईनको पहुँच बाहिर भएका विद्यार्थीलाई प्राथमिकता दिएर प्रत्यक्ष विद्यालय सञ्चालन गर्न सकिने कीर्तिपुर नगरपालिकाले निर्णय गरेको छ । कोरोना भाईरस कोभिड १९ संक्रमण जोखिमका कारण चालु शैक्षिक सत्रमा बालबालिकाको पठनपाठन अवरुद्ध हुँदै आएको छ । संघीय शिक्षा मन्त्रालयले हालै जारी गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचाका आधारमा पालिकाले विभिन्न प्रकृया पुरा गरेर प्रत्यक्ष कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो । 

महामारी जोखिमका आधारमा स्थान विशेषमा फरक शैली अपनाउँदै सिकाइ निरन्तर राख्न सकिने विज्ञहरुको सुझावको शिक्षा मन्त्रालयले वेवास्ता गर्दै आएको थियो । ८ महिना पछि बल्ल जारी गरेको कार्यढाँचालाई उदृत गर्दै नगरपालिकाले प्रत्यक्ष कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो । तर यसरी प्रत्यक्ष कक्षा सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्डहरुलाई अनिवार्य पालना गरी परीक्षणको लागि प्रत्यक्ष विद्यालय सञ्चालन गर्न सकिने पालिकाले जनाएको छ । यसरी विद्यालय सञ्चालन गर्दा  विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधि, दलका प्रतिनिधि, शिक्षक विद्यार्थीसँग व्यापक छलफल गर्नु पर्ने पालिकाले जनाएको छ । शुरुमा माथिल्ला कक्षा वा तल्ला कक्षाबाट कक्षा सञ्चालनको शुरुवात गर्न सकिने पालिकाले जनाएको छ ।  

यसरी कक्षा सञ्चालन गर्ने विद्यालयलाई नगरपालिकाबाट आधारभूत स्वास्थ्य सामग्री उपलब्ध गराईने छ । कक्षा सञ्चालनको शरुमा विद्यार्थी तथा अभिभावकसँग स्वास्थ्य जनचेतना सम्बन्धिका कार्यहरु गर्ने र सबै शिक्षक, कर्मचारी विद्यालयमा उपस्थित भई सहजीकरण गर्ने व्यवस्था मिलाउन पालिकाले भनेको छ । 

कक्षा सञ्चालन गर्दा स्वास्थ्य समस्या देखिए सम्बन्धित वडा कार्यालय, नजिकको स्वास्थ्य केन्द्र वा शिक्षा शाखा तथा वास्थ्य शाखामा खबर गर्न पालिकाले भनेको छ । 

 

प्रतिक्रिया