Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

कोरोनाको बहानामा विद्यालय नगएका शिक्षकको तलब कटौती

आइतबार, २१ मंसिर २०७७

खोटाङ - कोरोना भाईरस (कोभिड - १९ ) को बहानामा विद्यालय नगएका रावा बेसी गाउँपालिका क्षेत्रका शिक्षकको तलब काटिएको छ । गाउँपालिका क्षेत्रमा रहेका विभिन्न विद्यालयका २७ जना शिक्षकको तलब काटेर कोरोना कोषमा जम्मा गरिएको पालिकाले जनाएको छ । 

कोभिड संक्रमणको जोखिम रहे पनि बालबालिकाको सिकाइ अवरुद्ध गर्नु हुँदैन भन्ने मान्यताले पालिकाले असार देखि नै शिक्षकलाई सिकाइमा जोड्ने अभियान शुरु गरेको थियो । पालिकामा तुलनात्मक रुपमा अवस्था सामान्य हुँदा समेत अन्य ठाउँको अवस्था देखाएर केही शिक्षकहरु आफ्नो कामबाट विमुख हुँदै आएका थिए । 

महामारी विरुद्धको सचेतना जगाउँदै स्वास्थ्य सुरक्षा अपनाएर सिकाइ गर्नका लागि पालिकाले शिक्षकलाई टोलटोलमा पुर्याउने अभियान सञ्चालन गर्दा समेत कतिपय शिक्षकले अटेरी गरेका थिए । त्यसैले नसियत स्वरुप तलब काटिएको अध्यक्ष लिलानाथ निरौलाले बताए । महामारीबाट जोगिनका लागि हुल गर्नु हुँदैन भनेर विद्यालय बन्द गरिए पनि शिक्षकलाई विदा नदिईएको र उनीहरुलाई शैक्षिक कृयाकलापमा संलग्न गराईएको अध्यक्ष निरौलाले बताए । 

'विद्यालय बन्द हुनु, बालबालिका विद्यालय नआउनु फरक कुरा थियो, तर विदा नदिईएका शिक्षक समेत विद्यालय नआउनु, शैक्षिक गतिविधिमा नजोडिनु भनेको अटेरी हो, त्यस माथि शिक्षकलाई टोल टोल भाग लगाएर सिकाइमा जोड्ने अभियान शुरु गर्दा समेत केही शिक्षकको अटेरी जारी रहे पछि वाध्य भएर हामीले यो नसियत दिनै पर्ने अवस्था आएको हो' निरौला भन्छन् 'उनीहरुको तलबबाट काटिएको रकम विद्यालयमा आवश्यक कोभिड सँग सम्बन्धित कार्य जस्तै मास्क, सावुन, स्यानिटाईजर खरिद, पानीको प्रवन्ध लगायतका काममा खर्च गर्ने योजना बनाएका छौं ।'  

ती २७ जना शिक्षकको कम्तिमा एक साता देखि बढिमा एक महिना सम्मको तबल काट्दा ७ लाख ४० हजार रुपैंया संकलन भएको छ । ७ मावि सहित २८ विद्यालय रहेको पालिकामा २ सय ४ जना शिक्षक कार्यरत छन् । 

पछिल्लो समय गत कात्तिक ३ गतेबाट पालिकामा प्रत्यक्ष कक्षा शुरु गर्दा समेत शिक्षकहरु अनुपस्थित रहे पछि तलब काट्नै पर्ने अवस्था आएको निरौला बताउँछन् । अहिले भौतिक दुरी सहित स्वास्थ्य सावधानी अपनाउँदै विद्यालय सञ्चालन गरिदैं आएको छ । विद्यार्थीको संख्याका आधारमा विहान दिउँसो, जोडी बेजोडी कक्षा गर्दै बालबालिका बोलाईएको छ ।  

'यो शैक्षिक सत्र यस्तै अन्योल र अलमलमा वित्ने भए पनि बालबालिकाको बर्ष खेर जान दिनु हुँदैन भनेर हामी वडा वडामा गएर छलफल गर्दै छौं' उनले भने 'त्यही छलफलका आधारमा आगामी योजना निर्माण गर्दै शैक्षिक कृयाकलाप सञ्चालन हुने छन् ।'

प्रतिक्रिया