शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार हो । जनशक्ति निर्माणको सुत्राधार हो । प्रत्येक व्यक्तिमा अगम्य क्षमता रहेको हुन्छ । त्यो क्षमतालाई शासकले शिक्षालाई साधन बनाएर आफ्नो हित र स्वार्थ अनुकुल प्रयोग गर्छन् र गर्दै आएका छन् । हामी शिक्षा भन्छौं, पढ्छौं र घोक्छौं तर त्यसको व्यवहारिक प्रयोग हुन्छ कि हुदैन ? हामीलाई थाहा छैन । अञ्जानमै सिक्दा रहेछौं । लादिएको शिक्षा । हामी के बन्दैछौं ? कस्तो बनाउँदै छन् ? त्यो ख्याल हामीलाई हुँदो रहेनछ । शिक्षा नशा रहेछ । चेतना र विवेकको हत्या गर्ने । विवेक गुम्नु शिक्षा रे !
धन, धर्म, वाद वा विचार, जात, क्षेत्र र सत्ताको आडका दिने शिक्षाले विवेकको हत्या हुँदोरहेछ । शिक्षाको आफ्नो छुट्टै मुल्य मान्यता हुँदो रहेनछ । शिक्षाले व्यक्तिलाई अन्धो र कसै न कसैको अन्धभक्त बनायो । अन्धभक्त हुनुलाई सच्चा शिक्षा मान्यौं । यसको अर्को नाम स्कुलिङ्ग रे ! औपचारिक शिक्षामा भने पाठ्यक्रमको साँघुरो धेराभित्र शिक्षार्थीलाई बन्द कोठामा उसको दिमागमा भर्ने गरिन्छ ।
अरीतिक शिक्षाको क्षेत्र भने व्यापक छ । यसको प्रकृति र समाज पूरै पाठ्यक्रम बन्छ । यसबाट व्यक्ति आफू अनुकुल शिक्षा लिइरहेको हुन्छ ।
वर्तमान अवस्था
वि.सं २००७ साल पछि विद्यालयको संख्या भने ज्यामितीय आधारमा थप भए । वि.सं २०३७ पछि निजी विद्यालय समेत च्याउ उम्रे झैँ उम्रिए । विद्यालय स्थानीय आवश्यकता भन्दा नेताको पहुँचका आधारमा खोलिए । विद्यालय भने टोलटोलमा पुगे । शैक्षिक गुणस्तरको पाटो भने फरक रह्यो । नयाँ शिक्षा भनियो । स्थानीय ज्ञान र सीप कोमामा पुग्यो ।
गाउँगाउँबाट विदेशमा काम गर्ने मजदुर उत्पादन भए । विद्यालयले रोजगारीको अवसर प्रसस्त सिर्जना गर्यो । कयौँ विद्यालयमा विद्यार्थीको संख्या भन्दा शिक्षकको संख्या बढी छ । उच्च शिक्षामा पनि बिषयगत शिक्षक छन्, विद्यार्थी छैनन् । शिक्षामा कर्मचारी छन्, काम छैन । प्रमाणपत्र छन्, रोजगारी छैन ।
विद्यालयमा सत्र थरीका शिक्षक छन् । केही शिक्षकले दाम पाएका छन्, तर काम छैन । केहीको काम मात्र छ, दाम छैन । सरकारी तलब बुझ्ने केही शिक्षक र कर्मचारी निजी विद्यालय मालिक बनेका छन् । समग्रमा शिक्षा प्रणालीमा खोटैखोट छ । यसको पुनर्मूल्याङ्कन गर्ने बेला भएको छ । हामीले शिक्षा भित्र कहिल्यै सुधारका विकल्पका सम्भावना खोजेनौं बरू विदेशी प्रयोगलाई जस्ताको त्यस्तै नक्कल गरयौँ । यसले शिक्षा न घरको न घाटको भयो ।
शिक्षक विनाको शिक्षाको प्रयोग पनि सफल भयो । शिक्षालाई धर्म र सेवासँग जोड्यौ । कलियुगका गुरूहरूले समेत सेवा र धर्मको नाममा कसैले विना तलब र कसैले कम पारिश्रमिकमा विद्यालयमा पढाए । कविताको निम्न हरप घोके “देशभक्ति त मर्दैन चुत्थै देश भए पनि । पति भक्ति त मर्दैन पापी पति भए पनि ।“ सत्ययुग आउने सोचे । तर सतिले सरापेको देश । भिमसेन थापा आफैं सेरिएर मर्नु परेको देश । इतिहास नपढेका शिक्षक । आशावादी सोच !
मनोविज्ञान र शिक्षा
व्यक्तिमा भिन्न इच्छा, आकांक्षा, चाहाना हुन्छन् ।
व्यक्ति जन्मदै स्वार्थी भ्रष्टाचारी र गुवाज प्रकृतिको हुन्छ – मेकियावेली ।
मस्तिष्कमा जन्म देखिनै जन्मजात विचारहरू आउँछन् – दिकार्ते ।
आयातित शिक्षाले जन्मजात र अनुभवबाट प्राप्त गरेको शिक्षालाई नष्ट गर्न सक्दैन, सकेन पनि । साहित्यमा यी गुणलाई स्थायीभाव भनियो । व्यक्तिका इच्छा, चाहाना र गुण एकातिर र सरकारबाट लादिएको शिक्षा अर्कोतिर । खोजेको शिक्षा र लादिएको शिक्षा बीच अन्तर भयो । व्यक्तिको प्रतिभा मर्यो । अवसर पाउना साथ दबिएर बसेको व्यक्तिवादी, जातिवादी, क्षेत्रवादी शिक्षा प्रवल हुन्छ र भएको छ । व्यक्तिलाई बाहिरबाट आयातित शिक्षाले सधाउने काम गर्यो । पिञ्जरामा राखेको सुँगालाई रटाए जस्तै । आयातित शिक्षा बोलीबाट र सक्कली शिक्षा भने व्यवहारबाट प्रस्तुत भईरहेको हुन्छ । वास्तबमा व्यक्तिका भाव र विचार उसका व्यवहारबाट प्रस्तुत हुन्छन् । शिक्षालाई मनसँग जोड्न सकेमा शिक्षा स्थायी र प्रभावकारी हुनसक्छ ।
शिक्षाले के सिकायो
कसैले पढ्न पाइन भनेर चिन्ता वा पश्चाताप गर्नुपर्ने कुनै कारण छैन । पढेर प्रमाणपत्र धारण गर्ने हामी नै हौं । हाम्रो शिक्षाले नेता बनायो । कर्मचारी उत्पादन गर्यो । मजदुर बनायो। शिक्षाले शिक्षक बनायो । सबैलाई शिक्षाले के के सिकायो, के बनायो ? हाम्रो व्यवहारबाट छर्लङ्ग भएको छ । जो तपाईंले पढ्न पाउनु भएको छैन, तपाईं भर्जिन हुनुहुन्छ । तपाईंले विदेशी दानापानी र विदेशी ज्ञान सेवन गर्नु भएको छैन । तपाईंले देश र जनतालाई कसरी लुट्ने त्यो नयाँ सीप सिक्नु भएको छैन । देशको माया छ । आफ्नै देशमा बनेको कुटो, डोको, हथौडा, हलो चलाउनु भएको छ । गाग्रीको पानी, घ्याम्पाको जाँड र ठेकीको मोहीले तपाईंले तिर्खा मेटाउनु भएको छ । ढिंडो, सिस्नु, गिठ्ठाले पेट भर्नुहुन्छ । राडी र गुन्द्री माथि निन्द्रा परेको छ । गीता, रामायण र महाभारत ज्ञानका स्रोत भएका छन् । शिलामा देवता देख्नु भएको छ ।
भिमसेन थापा, वलभद्र कुँवर, भक्ति थापाले अहिलेको औपनिवेशिक शिक्षा पढ्न पाएनन् । त्यसैले, होला सायद साम्राज्यवादसँग झुकेनन् । देश बेचेनन् । देशको ढिकुटी लुटेनन् । अहिले शिक्षा औपनिवेशिक भयो । यसले विदेश प्रतिको मोह जगाएको छ । सबैको धन कमाउनु नै एउटै साझा लक्ष्य बनेको छ । नजानिंदो रूपमा नेपाली संस्कृति प्रति वितृष्णा जगाउँदै लगेको छ । बरू नपढ्नेहरूले देश बचाए । राष्ट्रियता त जोगाए ।
दासता र शिक्षा
शिक्षा श्रीखण्ड हो । नेपालीमा एउटा उखान छ “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड“ भनेझैं कतिपय राष्ट्रले शिक्षाको महत्व बुझे, चन्द्रलोक पुगे । यसको हामीले मुक्त कण्ठले प्रशंसा गरयौं । यो यात्रा त्रिपुर विमान, पुष्पक विमान, तारामुख विमान, सुत विमान बन्नु भन्दा कयौं हजार बर्ष पछिको कुरो हो । हात्तीको टाउको जोडेका गणेश, बोकाको टाउको जोडिएका सेतिदेवीका पिता दक्षप्रजापति जस्ता पात्रलाई हेर्दा दुई भिन्न प्राणीका अङ्गलाई जोड्ने चिकित्सा विधि कहाँ गयो ? शुक्राचार्यको संजीवनी शिक्षा कहाँ हरायो ? जसले वलीलाई बचाए । हामीले यसमा गर्व गर्न सकेनौं । यहाँ प्रश्न उठ्छ, हामी कहाँ चुक्यौं, शिक्षाले कहाँबाट बाटो बिरायो ? महर्षिहरूले विश्वज्ञान दिए । विश्वशान्तिको शिक्षा दिए । गीताले निष्काम कर्मवादमा जोड दियो । पृथ्वीनारायण शाहाका दिव्योपदेश आज पनि आदर्श वाक्यको रूपमा रहेका छन् ।
राणाहरूले शिक्षालाई शत्रु देखे । उपनिवेशवादी शिक्षा सुरू गरे । पञ्चायतले सत्ता टिकाउने कवचको रूपमा शिक्षालाई प्रयोग गर्यो । २०४६ पछि शिक्षा आयातित बन्यो । शिक्षामा आफ्नोपन हरायो । विदेशीको हुबहु नक्कल भयो । नक्कल गर्नु नै आधुनिक शिक्षा रे । शिक्षामा आइएनजिओ र डोनरको प्रभाव बढ्यो । प्रधानमन्त्रीले होलीवाइनसँग लिएको शिक्षाले पत्र पत्रिकामा धेरै चर्चा पायो ।
देशमा मेकाले शिक्षा लागू भयो । शिक्षाले वौद्धिक, सीपहीन, सिर्जनशील क्षमता नभएका जनशक्ति उत्पादन गर्यो । उत्पादन गर्न नसक्ने । उपभोगमुखी । शिक्षाले विश्व बजारले खोजेको थ्रीडि कार्यका लागि उपयुक्त जनशक्ति भने उत्पादन गर्यो । हातमा प्रमाणपत्र छ, सीप नै छैन । मुख चल्छ, हात चल्दैन । हात चलायो, इज्जत जान्छ । मजदुरमात्र उत्पादन गर्नु शिक्षाको लक्ष्य बन्नु हुन्न ।
शिक्षामा लुटको नयाँ रूप
शिक्षा भित्र राजनीति प्रवेश गर्यो । राजनीतिक नेताका नाममा शिक्षालय खुले । विगतको निरन्तरता । उही सामन्तवादी सोचको निरन्तरता । ठूला मान्छेको नाममा राष्ट्रिय सम्पत्तिको प्रयोग गर्ने, व्यक्तिगत नाफा कमाउने लुटको नयाँ तरिकाको सुरू भएको छ । हात्तीका दुईथरिका दाँत जस्तै । यसमा राजनीतिक दल बीच होडबाजी नै चलेको छ । नेपालीमा एउटा उखान छ “अकबरी सुनलाई कसी लगाउनु पर्दैन“ जनप्रिय नेताको नाम प्रत्येक जनताको मन मष्तिषकमा नमेटिने गरि लेखिएको हुन्छ ।
शैक्षिक प्रमाणपत्रमा नेताको नाम भँगेरा टाउके अक्षरले लेख्दैका नेता प्रति श्रद्धामात्र होइन प्रमाणपत्र प्रति नै घृणा आउने सक्ने पनि हुन्छ । व्यक्तिका शैक्षिक प्रमाणपत्रमा व्यक्तिको नामले रङ्ग्याउने चलन अन्त्य हुनु राम्रो हुन्छ । यो शैक्षिक विकृतिको रूपमा झ्याङ्गिदै गएको छ । यो नवसामन्तवादको नयाँ प्रयोग हो ।
विधान भन्दा व्यक्ति प्रधान
पछिल्लो समय शिक्षा क्षेत्रमा पनि संविधान भन्दा कानुन, कानुन र नियम भन्दा विधि र विधिभन्दा व्यक्ति प्रधान हुँदै गएको छ । संविधानमा रहेको समाजवाद परिपत्रसम्म पुग्दा व्यक्तिवादमा परिणत हुन थाल्यो । साथै , संविधान उल्लेख भएको शिक्षाको मौलिक हक विद्यार्थी माझ पुग्दा दयावाद बन्न पगे । सेवा मुलक हुनुपर्ने निजी विद्यालय उद्योग र व्यवसाय बने । पार्टीका नेताको निर्देशन शिक्षा नीति, नियम भन्दा माथि हुन थाल्यो । शिक्षा ऐन नियम अदृष्य हातबाट तयार हुन थाले । मन्त्रालय साक्षी किनारामा सही गर्ने पात्र मात्र बन्यो ।
शैक्षिक नीति, नियम समस्या समाधान तर्फ भन्दा थप समस्या बल्झाउने तर्फ उन्मुख छन् । एनजिओ र आइएनजिओ मन्त्रालयको सल्लाहाकार बन्न पुगे । नहुने काम हुनलागे । माथिको आदेश ! संविधान, ऐन, नियम सबै चुप ।
शिक्षा शैक्षिक उपनिवेशवादबाट थिलथिलो भएको छ । विद्यालय आवश्यकताको आधारमा भन्दा दवावको आधारमा स्थापना भए । कति त झोले विद्यालय । कति नाम मात्रका । विद्यार्थी छन्, शिक्षक छैनन्, शिक्षक छन् विद्यार्थी छैनन्, विद्यार्थी र शिक्षक छन् विद्यालयको भवन छैन । सबै छ, पाठ्यक्रम सिर्जनशील छैन । एउटै विद्यालयमा १७ थरिका शिक्षक छन् । प्रवेश पनि १७ थरिबाटै भएको छ भन्दा फरक नपर्ला । कोही स्वतः, कोही अन्तर्वार्ताबाट, कोही योग्यताक्रमको आधारमा स्थायी । नाता, धन, वाद र चाकरी करारमा शिक्षक नियुक्तिका समान योग्यता बने । स्वाभिमान चाहिँ आंशिक शिक्षक भए । समान काम, असमान ज्याला । समानता, सामाजिक न्याय, संविधानवाद मृत सरह भए । शैक्षिक संस्था छोटे राजनीति गर्ने ठाउँ बने । विश्वविद्यालयको उहीँ गति । विद्यालय र विश्वविद्यालयमा राजनीतिक भागवण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्ने टिके प्रथाको प्रयोग हावी हुँदै गएको छ ।
“कहिँ नभएको जात्रा हाँडी गाउँमा“ भन्ने उखान झैं , भएको छ । शिक्षा धागो चुडिएको चङ्गा झैं दिशा विहीन । शिक्षा न कुनै दर्शनमा आधारित छ । मन्त्रालय देखि विद्यालयसम्म पनि बडाको आशिष पाएका राजनहरूको शासन झन् सहि नसक्नु हुँदै गएको छ । चोरलाई चौतारो, साधुलाई सुली र कामचोरलाई पुरस्कार शिक्षाको संस्कृति बनेको छ ।
एउटै डालोमा शिक्षक
नेपाल सरकार सबै शिक्षकलाई एउटै डालोमा राखेर हेर्छ । कयौं शिक्षकले विद्यालय स्थापना गर्दा आफ्नो गाँस काटेर आर्थिक सहयोग गरे, न्यून पारिश्रमिक लिएर विसौं वर्षसम्म पढाए । कसैले तलब लिएर पढाए र सहयोग गरे भने कतिले नपढाएर पनि तलब लिइ दिएर राज्यलाई सहयोग गरे । विश्वविद्यालयको पनि उही गति । सरकार सबैलाई एउटै डालोमा राखेर चोरलाई साधु र साधुलाई सुली चढाउँदै छ । शिक्षकमा भएको लगानी र त्यसको उपलब्धीको आधारमा शिक्षकको मुल्याङ्कन हुनुपर्छ तर त्यसो हुन सकेन ।
शिक्षा क्षेत्र राज्यको एउटा प्रणाली हो, शिक्षक त्यसको एउटा अङ्गमात्र । मन्त्रीलगायत कर्मचारी, अभिभावक, विद्यार्थी, विद्यालय र पाठ्यक्रम शिक्षाका अन्य अङ्ग हुन् । एउटा अङ्गमा असर पर्दा अर्को अङ्गमा स्वतः असर पर्छ । तर शिक्षक माथि दोष थुपारेर सरकार पानी माथिको ओभानो भएर निर्देशन गरिरहेको छ । “धान खाने मुसो चोट पाउने भ्यागुतो “ भने झैं ।
वि.सं २०४९ सालदेखि प्लस टुमा अध्यापन गर्ने शिक्षकको सेवा अवधि २७ वर्ष पूरा भइसकेको छ । कयौं शिक्षकले सेवा अवधिभर न पूरा पारिश्रमिक लिए, न पाए । उमेरका कारण कयौं शिक्षक खाली हात घर गए । सरकार थाहा पाए पनि थाहा नपाएको झैँ गरि विवेकहीन भएको छ । न सरकारले स्थायी नियुक्तिका लागि अन्य मावि र क्याम्पसमा पढाउने शिक्षकले पाए सरह न स्वतः स्थायी गर्यो, न अन्तर्वार्ताबाट न आन्तरिक प्रतिस्पर्धा वा खुल्ला प्रतिस्पर्धाबाट । कुनै एक अवसर पनि दिएको छैन । सरकार भने सबैलाई एउटै डालोमा राखेर हेर्छ ।
सुधार कहाँबाट ?
कालो बादलको धब्बामा थोरै सेतो चाँदीको धेरा भए जस्तै शिक्षा क्षेत्रको सुधारमा केही झिनो आशा मात्र बाँकी छ । राज्य भित्र मौलाउँदै गएको अधिनायकवाद र यसको संरक्षणमा हुर्किएको भ्रष्टाचार र एनजीओकरणको प्रभाव राज्यको शिक्षा प्रणालीमा पनि परेको छ । सुधार माथिबाट तलतिर हुनु पर्ने हो । भ्रष्टचार कमिशन, नातावाद, जातिवाद, चोरलाई चौतारो हाम्रा राष्ट्रिय नयाँ मुल्य मान्यताका रूपमा विकास भए । हामीले कर्तव्य र अधिकारलाई छुट्टाछुट्टै रूपमा हेर्यौं । केही अपवाद बाहेक मन्त्री, कर्मचारी देखि शिक्षकसम्मको उद्देश्य ट्वाक्कै मिल्यो जागिरे एवं चाकडी प्रवृत्ति । शिक्षामा सुधार खोज्ने हो भने प्रधानमन्त्री, शिक्षा मन्त्री, शिक्षा सचिवदेखि शिक्षकसम्मको सोचाइमा परिवर्तन गर्नुपर्नेे बेला आएको छ । आज नवसंशोधनवाद नै शिक्षाको विकृतिको प्रमुख कारण बनेको छ ।
तदर्थवाद शिक्षाको लक्ष्य बनेको छ । शिक्षा प्रणालीमा नै नयाँ रक्त सञ्चार गर्नुको अर्को विकल्प अब छैन । आजको आवश्यकता यही हो ।
भट्टराई माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय अध्यक्ष हुन् ।
प्रतिक्रिया