Edukhabar
मंगलबार, २७ फागुन २०८१
खबर/फिचर

कक्षा १२ को आन्तरिक मूल्याँकन पठाउने म्याद निर्धारण

बुधबार, २६ कार्तिक २०७७

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आन्तरिक मूल्याँकनको प्राप्ताङ्क पठाउने म्याद निर्धारण गरेको छ । स्थगित भएको सात महिना पछि मंसिर ९ गते देखि परीक्षा सञ्चालन गर्ने गरी रुटिन सार्वजनिक गरेको बोर्डले मंसिर ८ गते भित्र प्राप्ताङ्क पठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ मा तोकिएको ढाँचा अनुसार प्राप्ताङ्क भरेर बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचित गरेको हो । 

डेढ घण्टा अवधिको यो परीक्षा ४० प्रतिशतको लागि मात्रै गर्न लागिएको हो । बाँकी ६० प्रतिशत मध्ये  ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी उक्त कार्यविधिमा व्यवस्था गरिएको छ । यसका लागि कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिक तर्फ प्राप्त विषयगत प्राप्तांकलाई सत प्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ । यसैगरी कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्यांकनको अङ्कभार सैद्धान्तिक तर्फको कूल पूर्णाङ्कलाई सत प्रतिशत मानि २० प्रतिशत हुने कार्यविधिमा उल्लेख छ ।  

यसरी हुन आउने अँकलाई तोकिएको एक्सेल सिटमा भरेर बुझाउनु पर्ने छ । यो काममा बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले निर्देशन दिएको छ । 

गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिमका कारण चैत २५ गते स्थगित गरिएको थियो । 

कोभिड संक्रमित विद्यार्थीको परीक्षा कोरोना मुक्त भए पछि छुट्टै व्यवस्था गरिने बोर्डले जनाएको छ । 

कोभिडका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भई परीक्षामा सहभागी हुन असमर्थ परीक्षार्थीहरुले यस अघि पेश गरेको विवरणका आधारमा परीक्षामा सहभागी हुन सक्ने व्यवस्था मिलाईएको छ । यस प्रयोजनका लागि काठमाडौं उपत्यकाका तीन जिल्लालाई भने उउटै जिल्ला मानिएको छ । यसका लागि बोर्डले गत भदौमा विद्यार्थीको विवरण संकलन गरेको थियो । 

अन्य विद्यार्थीका हकमा पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्नु पर्ने छ । प्रयोगात्मक परीक्षा गर्नै बाँकी विद्यालयले मंगलबार भित्र सकी बोर्डका सम्बन्धित कार्यालयमा बुझाईउन म्याद दिईएको थियो । 

कक्षा १२ को परीक्षा बिचमा परेका शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सक्ने गरी रुटिन सार्वजजनिक गरिएको छ ।

प्रतिक्रिया