Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षकहरु ३ दिन भित्र विद्यालय पुग्नै पर्ने

शुक्रबार, १६ असोज २०७७

भक्तपुर - अझै पनि विद्यालय नपुगेका शिक्षकलाई ३ दिन भित्र विद्यालय पुग्न सरकारले ताकेता गरेको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै शिक्षकहरुलाई ३ दिन भित्र कार्यस्थलमा पुग्ने व्यवस्था गर्न निर्देशन दिएको हो । 

सरकारले हालै जारी गरेको विद्यालय शिक्षा सम्वन्धि आकस्मिक कार्ययोजनामा असोज पहिलो साता सम्म शिक्षकहरु विद्यालय पुग्नु पर्ने व्यवस्था उल्लेख छ । तर अझै पनि कतिपय विद्यालयका शिक्षकहरु विद्यालयमा नपुगेको र बालबालिकाको सिकाइ अवरुद्ध भएकोले केन्द्रले ३ दिन भित्र विद्यालयमा पुग्ने व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ  । 

कोरोना भाईरस (कोभिड - १९) का कारण अवरुद्ध शैक्षिक गतिविधि सञ्चालनका लागि जतिसक्दो छिटो शिक्षकलाई विद्यालय सम्म पुर्याउन जरुरी रहेको भन्दै शिक्षाका सरोकारवालाहरुले गएको बैशाख देखिनै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । शिक्षक र विद्यार्थी बिचको सम्बन्ध स्थापित गर्दै जहाँ जुन विधिबाट सकिन्छ त्यही विधिबाट सिकाइ शुरु गर्न शिक्षाविद्हरुले मन्त्रालयलाई सुझाव दिदैं आएका थिए । तर विभिन्न निर्देशिका जारी गर्न व्यस्त शिक्षा मन्त्रालय, केन्द्र र यस मातहतका तालुकदार अन्य निकायले शिक्षकलाई विद्यालय सम्म पुग्ने विषयलाई स्पष्ट रुपमा वाध्यकारी निर्देशन दिन सकेका थिएनन् । केन्द्रमा नयाँ महानिर्देशकका रुपमा बैकुण्ठ अर्यालले कार्यभार सम्हालेको भोलिपल्टै विहीबार केन्द्रले उक्त निर्देशन जारी गरेको हो । 

महामारीको अवस्था के हुन्छ भन्ने यकिन गर्न नसकिए पनि यही वहानामा शिक्षकहरु घरै बस्ने र बालबालिकाको सिकाइ अवरुद्ध गर्नु उचित नहुने आवाज निकै पहिले देखि उठ्दै आएको थियो । कति सम्म भने प्रहरी, सेना, कर्मचारी, चिकित्सक र अन्य पेशाका व्यक्तिहरु आआफ्नो कर्ममा जुट्दा अनेक वहाना बनाएर शिक्षकहरु विद्यालय नगएको र आफ्ना बालबालिका यकिन समेत नगरेको भन्दै आलोचना जारी छ । दशैं विदा नजिकिदैं गर्दा समेत आफ्ना बालबालिकाको सिकाइ र संख्या यकिन गर्न शिक्षकहरुले चासो नदिए पछि उक्त निर्देशन नै दिन परेको केन्द्र श्रोतले जनाएको छ । 

प्रतिक्रिया