Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

छात्रा कहाँ छन् थाहा छैन, सर मिसलाई प्याड !

विहीबार, १५ असोज २०७७

भक्तपुर - बालबालिकाको अवरुद्ध सिकाइ कसरी शुरु गर्ने भन्ने अत्तोपत्तो छैन, विद्यालयको सम्पर्कमै नभएका छात्रालाई वितरण गर्न भन्दै चाँगुनारायण नगरपालिकाले विद्यालयहरुलाई प्याड वितरण गरेको छ । बैशाखबाट सुरु हुने शैक्षिक सत्रको सुरुवातमै वितरण गर्ने प्याड असोजको दोश्रो सातामा आएर विद्यालय प्रशासनलाई जिम्मा दिईएको छ । नगरपालिकाकी उपप्रमुख बिना बास्तोला सहित शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारीहरु विद्यालयमा उपस्थित भएर प्याड जिम्मा दिएका हुन् । 

यो कार्यलाई अभिभावकहरुले नगरपालिकाको चर्चाको भोकको संज्ञा दिएका छन् । आफ्ना क्षेत्र भित्रका विद्यालयका बालबालिका कहाँ छन् भन्ने सम्म यकिन गर्न नसकेका विद्यालयलाई प्याड दिनुको औचित्य नभएको उनिहरुको तर्क छ । 

'बैशाखमा दिनु पर्ने प्याड असोजमा दिनुको पछाडी अनियमिता पनि हुन सक्छ, किन भने ६ महिना सम्म प्रयोग नभएको सामग्रीको पनि हिसाव किताव पो गर्छन् कि हेर्नु पर्छ' एक जना अभिभावकले शँका गर्दै भने, 'ल मानौं अहिले देखिकै हिसाव गरे भने पनि नगरपालिका भित्रका छात्राहरु कहाँ छन् भन्ने न विद्यालयले खोजेको छ न नगरपालिकाले कसलाई दिने प्याड ?'

हाल छात्राहरु विद्यालयमा उपस्थित हुन नसके पनि उनीहरुका लागि लागि समेत प्याडको बन्दोबस्त गरेको नगरपालिकाले जनाएको छ । तर, कति छात्राहरु आफ्नै गाउँ फर्किसकेकाले उनीहरुका नाममा आएको प्याडको हिसावकिताव पनि हेर्न जरुरी रहेको ति अभिभावक बताउँछन् । 

बैशाखबाट सुरु हुने शैक्षिक सत्रको सुरुवातमै प्याड वितरण कार्यक्रम भए पनि कोरोना संक्रमणको जोखिमको कारण रोकिएको कार्यक्रमलाई प्रधानाध्यापक र शिक्षकहरुलाई जिम्मा दिएको पालिकाको तर्क छ । विद्यालयमा विद्यार्थी नआए पनि प्रधानाध्यापक मार्फत् छात्रालाई प्याड वितरण गर्ने पालिकाको भनाई छ । 

सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १२ अध्ययन गरिरहेका छात्राहरुलाई प्याड दिने सरकारले बजेटमै उल्लेख गरेको कार्यक्रम हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार त्यसरी प्याड पाउने छात्राहरुको संख्या १ हजार ३ सय ३० रहेका छन् ।

एक छात्राले ६ महिनामा १२ वटा प्याड पाउने छ भने नगरका १ हजार ३ सय ३० छात्राले ६ महिनाभित्र १५ हजार ९ सय ६० वडा प्याड पाउने छन् ।

त्यसरी प्याड पाउने छात्राहरुमा कक्षा ६ मा १८०, कक्षा ७ मा २००, कक्षा ८ मा २४०, कक्षा ९ मा २१५, कक्षा १० मा २२७, कक्षा ११ मा २१५ र कक्षा १२ मा ५२ छात्रा रहेका छन् ।

उनीहरुलाई मासिक २ वटाको दरले प्याड वितरण गर्न पुग्ने गरी नगरपालिकाले विद्यालयलाई जिम्मा दिएको छ ।

उपप्रमुख बास्तोलाले महिनावारी भएपछि छात्राहरु स्कुल नआउने भएकाले सरकारले नै यस्तो कार्यक्रम लागू गरेको जानकारी दिँदै स्यानिटरी प्याड महिलाहरुको छात्राको लागि आवश्यक वस्तु भएको बताइन् ।

प्याड वितरणका लागि नगरपालिकाका विभिन्न विद्यालयमा पुगेकी उनले शिक्षालाई राम्रो बनाउने काम नगरप्रमुख, उपप्रमुख, शिक्षाका प्रमखुको नभएको बताइन् ।

‘शिक्षालाई राम्रो बनाउने काम नगरप्रमुख, उपप्रमुख, शिक्षाका प्रमखुको हैन, शिक्षा राम्रो बनाउने काम शिक्षकको हो, यसैले शिक्षकले मेहेनत गर्नुपर्छ ।’ उनले भनिन् ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले उपलब्ध भएको प्याड लक्षित छात्रासम्म पु¥याउने दायित्व विद्यालय प्रमुखको भएको बताउँदै विद्यालयमा छात्राहरुको भौतिक उपस्थिति नभए पनि प्याड वितरण गरिएको बताए ।

नगरपालिकाले नगरका २४ विद्यालयका छात्राहरुलाई प्याड वितरण गरेको हो ।

महिनावारी हुँदा विद्यालय अनुपस्थित भई कक्षा छुट्दा छात्राको सिकाइमा असर पुगेकोले सो असर कम गर्न नगरपालिकाले छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

 

प्रतिक्रिया