Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

अझै पनि सिकाइ प्रक्रियामा सहभागि नहुने शिक्षकको हाजिरी कट्टा

विहीबार, १५ असोज २०७७

रुकुम - बिहीबार देखि शुरु शिक्षण सिकाइ क्रियाकलापमा संलग्न नहुने शिक्षक तथा कर्मचारीको हाजिरी कट्टा गरिने भएको छ । रुकुम पश्चिम स्थित मुसिकोट नगरपालिकाका अभिभावक¸ विद्यालय¸ वडा कार्यालय र नगरपालिका बीच विद्यार्थी सिकाइ सहजीकरण सञ्चालन तथा व्यवस्थापनको लागि गरिएको  सामुहिक प्रतिवद्धता पछि जारी शिक्षा सम्बन्धि साझा समझदारी पत्रमा उक्त व्यवस्था समेटिएको हो । 

'२०७७ साल असोज १५ गते देखि विद्यार्थीको शिक्षण सिकाइको प्रक्रियामा कुनै पनि रुपमा संलग्न तथा सहभागी नहुने शिक्षक कर्मचारीहरुको हाजिरी कट्टा गरी हाजिरी रजिष्टरमा गैर हाजिरी जनाई सो को विवरण नगरपालिका समक्ष पेश गर्नुपर्ने'  समझदारी पत्रमा उल्लेख छ । 

कोरोना भाईरस (कोभिड - १९)  संक्रमण जोखिमका कारण अवरुद्ध भएको पठनपाठन सञ्चालनका लागि उक्त समझदारी पत्र जारी गरिएको हो । देशका कतिपय विद्यालयमा शिक्षकहरुले जे सकिन्छ त्यही विधि र शैलीबाट बालबालिकाको सिकाइ जारी राखे पनि कतिपय विद्यालयका शिक्षकहरु बालबालिकाको पहुँचमै नपुगेको भन्दै आलोचना भईरहँदा नगरपालिकाले भने अनिवार्य उपस्थित हुने व्यवस्था गरेको हो । उक्त निर्णय कार्यान्वयनको लागि प्रधानाध्यापक बैठकमा व्यापक छलफल गरी विद्यार्थी सिकाइ सहजीकरण संचालन तथा व्यवस्थापनको लागि सामुहिक प्रतिवद्धता गरिएको छ । 

शिक्षा मन्त्रालयबाट जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम शिक्षण सिकाइ सहजीकरण प्रक्रिया संचालन गर्न नीतिगत व्यवस्था गरेको पालिकाको शिक्षा शाखा प्रमुख विनाराम खड्काले जानकारी दिए । 

विद्यालयगत शिक्षण सिकाइ सहजीकरण कार्ययोजना तयार गरी अभिभावक¸ विद्यालय, व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, स्थानीय सरकार सबैको जिम्मेवारी र भूमिका निर्धारण गरिएको छ । 

अभिभावकले निर्वाह गर्नुपर्ने भुमिका

- आफ्ना बालबालिकाको लागि घरमै उपयुक्त प्रविधि मार्फत अध्ययनको पहुँच उपलब्ध गराउन सकिने अवस्था भएमा आफ्नो बालबालिका भर्ना भएको विद्यालयमा सो अनुसार विवरण पेश गर्नुपर्नेछ । साथै विद्यालयले तोकेको समयमा बालबालिका सहित उपस्थित भई घरमा पढीरहेको अवस्थाको बारेमा प्रधानाध्यापक तथा विद्यालयका विषयगत शिक्षकहरुलाई औपचारिक जानकारी गराउनुपर्नेछ । साथै विद्यालय तथा विषयगत शिक्षकहरुले दिएको निर्देशनको आधारमा घरमा शिक्षण सिकाइ अवस्थाको सुनिश्चितता गर्नुपर्नेछ । 

- घरमा कुनै पनि प्रविधिको पहुँच छैन¸ पहुँच भएतापनि बालबालिकाको शिक्षण सिकाइमा उपयोगी छैन¸ घरमा बालबालिकाहरु सिकाइमा सरिक हुँदैनन र बालबालिकाको अध्ययनलाई प्रत्यक्ष विद्यालयमै गएर निरन्तरता दिनुपर्ने वाध्यता छ भने आफ्ना बालबालिकालाई विद्यालयमै पुगी शिक्षण सिकाइ प्रक्रियामा सहभागी हुन मन्जुरीनामा सहित विद्यालयसंग लिखित समझदारी गर्नुपर्नेछ ।

- आफ्ना बालबालिकाको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै विद्यालयमा जाँदा स्वास्थ्य सम्बन्धी सुरक्षित उपायहरुको अवलम्वन गर्नुपर्नेछ ।

- आफ्ना बालबालिकालाई विद्यालयले तोकेको समयमा विद्यालयमा पुर्याउने र ल्याउने तथा विद्यालय समयमा बालबालिकाको अवस्थाको बारेमा प्रधानाध्यापक¸ कक्षा शिक्षक र विषय शिक्षकबाट नियमित रुपमा जानकारी लिई शिक्षकहरुबाट दिइएका सुझावहरुको कार्यान्वयन गर्ने ।

- बालबालिकालाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तत्काल उद्धार तथा उपचारको बन्दोबस्त मिलाउनको लागि विद्यालयका प्रधानाध्यापकसंग नियमित सम्पर्कमा रहने । विद्यालयले बोलाएको बखत अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुने । 

- विद्यालयका साथै घरमा समेत आफु¸ आफ्नो परिवार तथा आफ्ना बालबालिकाहरुको उचित हेरचाह¸ स्वास्थ्य सचेतना¸ कोभिड १९ बाट सुरक्षणका उपायहरु अवलम्वन गर्ने ।

- दशै तिहार चाडपर्व तथा विवाह भोज भतेर जस्ता जमघट हुने क्रियाकलाप तथा जिल्ला बाहिरबाट आउने आगन्तुकबाट आफ्ना बालबालिकालाई टाढै राख्नुपर्नेछ । कुनै नव आगन्तुक घरमा आएको भएमा सो को यथार्थ सुचना विद्यालयलाई उपलब्ध गराउनुपर्ने छ । अभिभावकले यथार्थ जानकारी तथा सुचना उपलब्ध नगराएमा बिद्यालयले विद्यार्थीलाई विद्यालयको प्रत्यक्ष शिक्षण सिकाइमा सरिक गराउन बाध्य हुने छैन ।

विद्यालय (विव्यस¸ शिअसं¸ प्रअ¸ शिक्षक¸ कर्मचारी तथा विद्यालय परिवार) ले निर्वाह गर्नुपर्ने भुमिका

- विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम स्रोत साधनको पहुँचको आधारमा विद्यार्थीको पहिचान तथा वर्गीकरण गर्ने ।

- रेडियो¸ एफएम¸ टेलिभिजन¸ कम्प्युटर¸ अनलाइन कनेक्टिभिटी तथा इन्टरनेटमा पहुँच भएका विद्यार्थीहरुको लागि विद्यार्थीको पहुँच अनुकूल शिक्षण सिकाइका सन्दर्भ सामग्रीहरु¸ समय तालिका¸ विधि तथा प्रक्रिया आदिको बारेमा विद्यार्थीलाई जानकारी गराई उपयुक्त साधन प्रयोग गर्न लगाउने । विद्यार्थीहरुले कुन विधि मार्फत अध्ययन गरिरहेको छ सोको अभिलेख राखी विषयगत शिक्षकहरुबाट साप्ताहिक रुपमा मूल्याङ्कन तथा पृष्ठपोषणको व्यवस्था मिलाउने । विद्यार्थीहरुले वैकल्पिक विधि मार्फत गरिरहेका अध्ययनलाई विद्यालयले औपचारिक मान्यता दिने व्यवस्था मिलाउने । 

- सन्चारका कुनै पनि साधनमा पहुँच नभएका तथा पहुँच भए तापनि विद्यालयमा प्रत्यक्ष उपस्थित भई अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि निजको अभिभावकको मन्जुरीमा अभिभावकसंग लिखित समझदारी गरी कोभिड १९ सम्बन्धमा नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी मापदन्डको अक्षरशः पालना गर्ने शर्तमा एउटा कक्षाकोठामा एकपटकमा २५ जना भन्दा बढी सहभागी नहुनेगरी मिति २०७७ साल असोज १५ गतेदेखि विद्यालयमा संचालन हुने विद्यालयको प्रत्यक्ष तथा नियमित पठनपाठनमा सरिक गराउने ।

- प्रत्यक्ष पठनपाठन गर्दा¸ घरमै स्वअध्ययनमा रहेका बालबालिकाको साप्ताहिक मूल्याङ्कन गर्दा वा विद्यालयमा हुने सबै किसिमका शैक्षिक¸ प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिमा कोभिड १९ सम्बन्धमा संघ¸ प्रदेश¸ स्थानीय सरकारका साथै सम्बन्धित तालुक निकायहरुबाट जारी भएका मापदन्ड¸ निर्देशन तथा सुरक्षाका सबै उपायहरुको अनिवार्य रुपमा पालना गर्ने गराउने । 

- शिक्षण सिकाइको क्रममा नेपाल सरकारले स्वीकृत गरेका पाठ्यक्रम तथा पाठ्यवस्तु समायोजन ढाँचा २०७७ बमोजिम विषयगत रुपमा दैनिक¸ साप्ताहिक¸ मासिक शिक्षण सिकाइ योजना निर्माण गरी सो योजना अनुसार एउटा कक्षा र विषयमा २५ जनाभन्दा बढी संख्या भएमा सेक्सन विभाजन तथा समयतालिका निर्माण गरी शिक्षण सिकाइ गर्नु गराउनु पर्ने । २५ जनाभन्दा बढी विद्यार्थी भएका कक्षा र विषयमा विद्यालयले सबै बालबालिकालाई समान अवसर हुनेगरी साप्ताहिक रुपमा आलोपालो शिक्षणको व्यवस्था मिलाउनुपर्नेछ ।

- शैक्षिक सत्र २०७७ को सन्दर्भमा विषय विज्ञ शिक्षकहरुको परामर्शमा प्रअ बैठकको निर्णय अनुसार निर्माण हुने बार्षिक शैक्षिक क्यालेन्डर २०७७ अनुसार विषयगत तथा कक्षागत पठनपाठन अनिवार्य रुपमा सम्पन्न गर्नुपर्नेछ । विद्यालयमा अभिभावकको सुझाव¸ विद्यार्थीको शैक्षणिक अवस्था तथा स्तर पहिचान गरी पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धी सुनिश्चितताको लागि शिक्षक स्टाफ बैठक र विव्यस निर्णय अनुसार सार्वजनिक विदाको दिन समेत विद्यालय संचालन गरी शैक्षिक सत्र २०७७ को पठनपाठनलाई निर्धारित समयतालिका भित्र सम्पादन गर्नुपर्नेछ । त्रैमासिक तथा अन्य परीक्षा विद्यालयगत कार्ययोजना अनुसार र बार्षिक परीक्षा नगरपालिकाले तोकेको मितिमा संचालन गर्नुपर्नेछ । 

- कुनै कारणले विद्यालयमा उपस्थित हुनै नसक्ने बालबालिकाहरु रहेको भएमा सो को पहिचान गरी उपयुक्त विकल्प सहित सिकाइ प्रक्रियामा जोड्नुपर्नेछ । 

- प्रत्यक्ष कक्षा शिक्षण विधि वा अन्य वैकल्पिक विधिबाट नियमित पठनपाठनमा संलग्न हुने शिक्षक¸ विद्यार्थीहरु तथा शिक्षण सिकाइको क्रममा प्रयोग भएका विधि¸ पद्धति¸ प्रविधिको यथार्थ तथ्याङ्क¸ जानकारी तथा हाजिरी अभिलेख दुरुस्त रुपमा राख्नुका साथै शिक्षणक सिकाइको क्रममा उत्पन्न हुने समस्या तथा चुनौतीहरु नजिकको वडा कार्यालय तथा नगरपालिका समक्ष सम्प्रेषण गर्नुपर्नेछ । 

- नगरपालिकाबाट दिइएका निर्देशन¸ सुझाव तथा राय सल्लाहलाई अभिलेखीकरण र कार्यान्वयन गर्नुपर्ने । नगरपालिकाबाट हुने अनुगमनको क्रममा विद्यालयको पठनपाठनको यथार्थ अवस्था जानकारी गराउनुपर्ने । साथै २०७७ साल असोज १५ गतेदेखि विद्यार्थीको शिक्षण सिकाइको प्रक्रियामा कुनै पनि रुपमा संलग्न तथा सहभागी नहुने शिक्षक कर्मचारीहरुको हाजिरी कट्टा गरी हाजिरी रजिष्टरमा गैर हाजिरी जनाई सो को विवरण नगरपालिका समक्ष पेश गर्नुपर्ने । 

- शिक्षण सिकाइ प्रक्रिया संचालन तथा व्यवस्थापन सम्बन्धमा शिक्षक बैठक¸ अभिभावकको परामर्श¸ विव्यसको निर्णय र वडा कार्यालय समेतको सहभागितामा थप निर्णय तथा कार्ययोजना निर्माण गरी सो को जानकारी नगरपालिकालाई गराउने ।

सम्बन्धित वडा कार्यालय र नगरपालिकाले निर्वाह गर्नुपर्ने भुमिका

- नगरपालिकाले नगरपालिका क्षेत्रभित्र र वडा कार्यालयले आफ्नो वडाको क्षेत्रमा विद्यालय बाहिर तथा विद्यालय भित्र संचालन हुने शिक्षण सिकाइ सहजीकरण प्रक्रियामा आवश्यक सहयोग तथा समन्वयको भुमिका निर्वाह गर्ने ।

-  कोभिड १९ लगायत अन्य विपद् न्युनिकरण तथा बच्ने उपाय सम्बन्धमा नेतृत्व तथा सहजीकरण गर्ने ।

-  कोभिड १९ रोकथाम¸ न्युनिकरण तथा सुरक्षणका साथै विद्यालय स्वास्थ्य¸ विद्यालय नर्सिङ्ग लगायत स्वास्थ्य सम्बन्धी अन्य सहयोगको लागि विद्यालय तोकी स्वास्थ्य सम्बन्धी जनशक्ति परिचालन गर्ने ।

- विभिन्न अनलाइन तथा अफलाइन शिक्षण सिकाइ सामग्रीहरु तथा सन्दर्भ सामग्रीका स्रोतहरु विद्यालयहरुलाई उपलब्ध गराउने । 

-  पाठ्यपुस्तक तथा पाठ्यक्रम व्यवस्थापन लगायत विद्यालय शिक्षा संचालन व्यवस्थापनको लागि प्रचलित कानुन बमोजिम निकासा हुनुपर्ने रकमहरु समयमै विद्यालयमा निकासा गर्ने । 

- विभिन्न सरकारी तथा गैरसरकारी निकाय¸ संघ¸ संस्थाहरुलाई आवश्यक समन्वय गरी विद्यालयय स्तरीय शिक्षा संचालनमा आवश्यक सहयोग परिचालन गर्ने । 

- नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी विद्यालय¸ शिक्षक¸ विद्यार्थी¸ अभिभावक¸ विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ¸ अभिभावकका साथै शिक्षामा सरोकारराख्ने सरोकारवालाहरुको राय¸ सुझावहरुको सुनुवाइ तथा सो अनुसार आफ्नो भुमिका निर्वाह गर्ने ।

- विद्यालयका प्रधानाध्यापकको बैठक र विषय विज्ञ शिक्षकहरुको सुझाव अनुसार निर्मित नगरपालिका स्तरीय बार्षिक शैक्षिक गतिविधिहरु कार्यान्वयन गर्ने गराउने । 

- विद्यालय उमेर समुहका बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चितताको लागि नगरपालिका तथा वडाको साधन¸ स्रोतको अधिकतम परिचालन गर्ने गराउने । 

- शैक्षिक संस्था सुचारु गरी नियमित पठनपाठन संचालन गर्दा आइपर्ने र उत्पन्न हुनसक्ने जोखिम न्युनिकरणको लागि नगरपालिका मार्फत जिल्ला¸ प्रदेश तथा संघीय निकाय¸ कार्यालय¸ संघसंस्था आदिसंग नियमित समन्वय गर्ने । नगरपालिका स्तरमा कुनै निर्णय गर्नुपरेमा तत्काल निर्णय गरी विद्यालयहरुलाई यथाशक्य निर्देशन दिने तथा जानकारी गराउने ।

प्रतिक्रिया