Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विद्यालय भवन : छँदा हुँदाको भत्काईयो, खातामा रकम आए पछि विवाद !

विहीबार, ०१ असोज २०७७

भक्तपुर - एक दशक अघि निर्माण भएको छँदा हुँदाको भवन भत्काए पछि शुरु विवादका कारण चाँगुनारायण नगरपालिका वडा नं. ९ स्थित गणेश माध्यमिक विद्यालयमा बन्ने नयाँ भवन  निर्माण प्रकृया अन्योलमा परेको छ । नयाँ भवन बनाउने ठाउँका विषयमा विवाद हुँदा रु. ७२ लाखको लागतमा बन्ने दुईतले चार कोठे भवन बन्ने कि नबन्ने भन्ने अन्यौल भएको हो ।

विद्यालयको भौतिक पूर्वाधारका लागि आएको बजेटबाट विद्यालयले नयाँ भवन बनाउने काम अघि बढाए पछि विद्यालय व्यवस्थापन समिति, प्रशासन र स्थानीय बीच विवाद भएको वडाध्यक्ष गणेश त्यात बताउँछन् । 

विवादको चुरो

विद्यालयको भौतिक पूर्वाधारका लागि राष्ट्रिय पूनर्निर्माण प्राधिकरण अन्र्तगत शिक्षाको कार्य गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाई (डिएलपिआइयु) ले गणेश माविलाई आर्थिक वर्ष २०७६/७७ मा रु. ७२ लाख बजेट विनियोजन गरेको थियो । सो बजेट आए पछि विद्यालय व्यवस्थापन समितिले वडा कार्यालय, नगरपालिकाको अनुमति र सहमतिमा बजेट निकासाको प्रक्रिया अघि बढाएको थियो । प्रक्रिया अघि बढे सँगै डिएलपिआइयुले भवनको लागि सबै प्रक्रिया पुर्याएर मोबिलाइजेशन खर्च वापत रु. १७ लाख विद्यालयको खातामा जम्मा गरिदियो ।

त्यस लगत्तै वि.सं.२०१६ सालमा स्थापित सो विद्यालयले नयाँ भवन बनाउनका लागि गणेश डाँडामा रहेको गणेश मन्दिर र मन्दिरको दक्षिण तिर रहेको पाटी पछाडिको साविकको एउटा ट्रस भवन भत्काएको थियो । २०६१ देखि ०६६ सम्म लागू सबैका लागि शिक्षा कार्यक्रम अन्र्तगत निर्मित सो भवनमा साविकको गणेश मावि स्रोत केन्द्र रहेको थियो । सोही स्रोत केन्द्रको भवन भत्काएर विद्यालयले नयाँ भवन बनाउने योजना बनाएको थियो ।

विद्यालयले उक्त योजना बनाए पनि साविकको उक्त भवन भएको ठाउँ खाली भए पछि त्यहाँ भवन बनाउन नहुने स्थानीयले जिकिर गरे । सोही बमोजिम स्थानीय र विद्यालय व्यवस्थापन समिति पटक पटक छलफलमा बसे तर निश्कर्ष निस्केको छैन ।

साविक ताथली गाविसको वडा नं. ५ मा रहेको उक्त विद्यालयले नयाँ भवन साविक ताथली गाविसको वडा नं. ६ मा रहेको पर्ती जग्गामा बनाउन लागेको थियो । विद्यालय साविक ताथली ५ मा रहे पनि विद्यालयसँगै जोडिएको ६ नं. वडाको उक्त जग्गा भोगचलन गरी ट्रस भवन बनाएको थियो ।

अहिले नयाँ भवनका लागि ट्रस भवन भत्काए पछि विवाद बढेको स्थानीय एवं विद्यालयका पूर्व प्रधानाध्यापक सानुभाइ राउत बताउँछन् ।

स्थानीयले उक्त ठाउँमा ताथलीका धेरै व्यक्तिहरुले विभिन्न समयमा परापूर्व कालदेखि पूजाआजा गर्ने गरेको गणेशको मन्दिर, पाटी रहेको बताउँदै उक्त मन्दिरको लागि पनि ठाउँ जरुरी रहेकोले विद्यालयले सो ठाउँमा भवन बनाउन नहुने तर्क राख्दै आएका छन् । उनीहरुले सोही ठाउँमा रहेको मन्दिरमा रहेको गणेशको नामबाटै विद्यालयको नाम रहन गएको बताउँदै अहिले विद्यालयले गणेश मन्दिरै नराख्ने तरिकाले काम गर्दा स्थानीय आक्रोशित भउका हुन् । स्थानीयले उक्त ठाउँ विद्यालयको पनि नभएको र पर्ती जग्गा भएकाले सो ठाउँमा मन्दिर र पाटी नै बन्नुपर्ने जिकिर गर्दै आएका छन् ।

स्थानीयले हाललाई विद्यालयको लागि भवन र कोठा अपुग नभएकोले पनि मन्दिरको लागि पनि ठाउँ आवश्यक भएको बताउँदै आएका छन् । विवादका कारण कोही स्थानीय विद्यालयको पक्षमा उभिएका छन्, कोही मन्दिरको पक्षमा उभिएका छन् ।

विद्यालयकी प्रधानाध्यापक निर्जला केसीले विद्यालयले साविकको स्रोत केन्द्र भएको विद्यालयको भवन भएकै ठाउँमा नयाँ भवन बनाउन खोज्दा विवाद भएर काम रोकिएको बताइन् ।

विवाद समाधान गर्न स्थानीय र विव्यस दुबैले अहिले वडा कार्यालयलाई गुहारेका छन् । सोही कारण वडाध्यक्ष गणेश त्यातले दुईटै पक्षबीचको विवाद समाधानका लागि प्रयास गरेको जानकारी दिए । ‘हामीलाई स्कुल पनि, मन्दिर पनि चाहिन्छ, यसैले दुबै पक्षले दुबैलाई फाइदा पुग्ने गरी केही भाग छोडौं, त्यही अनुसार काम अघि बढाऔं भनेर अनुरोध गरियो, तर दुबै पक्षको ढिपीले सहमति हुन सकेको छैन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकण्ठ खड्काले विद्यालयको लागि भवन आवश्यक भएको र भवनको डिजाइन अनुसार जग्गा आवश्यक भएकाले डिजाइन अनुसारको जग्गामा भवन बनाउन स्थानीयको सहमति नभए भवन बनाउन नसकिने बताए । 

‘यो स्कुल स्थानीयको पनि हो, स्थानीयलाई नै भवन चाहिँदैन भने हामी कसरी बनाउन सक्छौं र ?’

स्थानीय हरिकृष्ण राउतले समुदायका लागि विद्यालय र मन्दिर दुबै आवश्यक रहेको बताउँदै स्कुलले आफ्नो ढिपी नछोडेको कारण विवाद लम्बिएको बताए ।

यता डिएलपिआयू भक्तपुरका प्रमुख भरतबहादुर श्रेष्ठले उक्त ठाउँमा विवाद भएको कारण बजेट अनुसारको काम हुन नसकेको बताउँदै विवाद नसल्टिएसम्म कुनै काम अघि बढ्न नसक्ने बताए ।

‘भवनको लागि विद्यालयको आफ्नो जग्गा हुनुपर्छ, जग्गा नभएमा वडा कार्यालयबाट भोग चलनको लागि स्वीकृति आवश्यक छ । त्यही आधारमा डिएलपिआइयुले पैसा पठाउने गर्छ र त्यही बजेटबाट विद्यालयले भवन बनाउने गर्छ । त्यहाँ पनि त्यही अनुसारै काम हुन लागेको हो तर अहिले विवाद भएको जानकारी हामीले पाएका छौं, हामी त्यो विवाद सल्टाएर मात्र काम अघि बढाउँछौं,’ श्रेष्ठले भने, ‘पहिला नगरपालिका, वडा कार्यालयबाट भोगचलनको लागि दिइसकेको तर, अहिले मौखिक रुपमा विवाद भएको जानकारी आए पछि हामीले पहिला विवाद सल्टाएर मात्र काम अघि बढाउन भनेका छौं । विवाद भएकाले प्राविधिकबाट लेआउट पनि रोकिएको छ ।’ 

वडाध्यक्ष त्यातले विवादको समाधानको प्रयास भइरहेको बताए । विद्यालयले नयाँ भवनको लोभमा स्थानीयसँग समन्वय नगरी छँदा हुँदाको भवन भत्काए पछि एकातिर विद्यालयले पुरानो भवन पनि गुमाएको छ भने अर्कोतिर नयाँ भवन बनाउन पाउने कि नपाउने अन्योल बढेको छ ।

प्रतिक्रिया