Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षक अनिवार्य रुपमा विद्यालयमा हाजिर हुनुपर्ने, मासिक प्रतिवेदनका आधारमा पुरस्कार र दण्ड

बुधबार, ३१ भदौ २०७७

ललितपुर - कोरोना भाईरस कोभिड १९ का कारण ५ महिना देखि रोकिएको पठनपाठनलाई निरन्तरता दिन असोज १ गते (बिहीबार) बाट शिक्षकलाई अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन बागमती गाउँपालिकाले सूचित गरेको छ । बुधबार एक सूचना जारी गर्दै पालिकाले 'विद्यालयहरु बन्द रहँदा बालबालिकाको निरन्तर सिकाइमा परेको असरलाई कम गर्न विविध विकल्पहरुको उपयोग गरी सिकाइलाई निरन्तरता दिने प्रयास गरेको' जनाएको छ ।

सिकाइ सहजीकरणमा प्रधानाध्यापकले शिक्षकको सहभागिता र भूमिकाको मुल्याँकन गरी पालिका शिक्षा शाखामाा महिनाको एक पटक प्रतिवेदन बुझाउनु पर्ने छ । सोही प्रतिवेदनका आधारमा पालिकाले शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गरेको पालिकाले जनाएको छ   

शिक्षा मन्त्रालयबाट जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसारका सिकाइ सहजीकरण गतिविधिहरुका साथै गाउँ शिक्षा समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार बालबालिकाको सिकाइ हुने पालिकाले जनाएको छ । जस अनुसार शिक्षक विद्यालयमा हाजिर हुने, बाहिर रहेका शिक्षकलाई बाटोको म्याद दिएर विद्यालयमा बोलाउने, बाहिरबाट आउने शिक्षकलाई विद्यालयले उचित व्यवस्था गरिदिने र शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमणको शंका लागेमा पालिकामा जानकारी दिने व्यवस्था मिलाएको पालिकाले जनाएको छ ।

यसैगरी सिकाइ निर्देशिकाले गरेको व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालयले आआफ्नो जिम्मेवारी पुरा गर्ने, पालिकाले तयार पारेको अभ्यास पुस्तिकाको प्रयोग गर्ने र सोही आधारमा मूल्याँकन गरी अभिलेख राख्न पनि पालिकाले भनेको छ  ।

प्रत्येक विद्यालयले गाउँपालिका शिक्षा शाखाको समन्वयमा समुदाय अनुकुल वैकल्पिक सिकाइका विविध विकल्पहरुको खोजी गरी उपयुक्त विधिको प्रयोग गर्ने, सिकाइ सहजिकरण गर्दा सिकाइ केन्द्रमा संक्रमणबाट सुरक्षित रहने उपाय अवलम्बन गर्ने र सिकाइ केन्द्रको व्यवस्थापनमा आवश्यक सहयोग, निर्देशन र मुल्याँकनको काम विव्यसले गर्ने गरी पालिकाले तोकेको छ ।  

प्रतिक्रिया