Edukhabar
आइतबार, ०७ पुस २०८१
विचार / विमर्श

संशोधित पाठ्यक्रम र प्रभावकारिता

शनिबार, २० भदौ २०७७

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को पाठ्यक्रम परिमार्जन गर्यो । एक हिसाबले कर्मकाण्ड पूरा पनि गर्यो । कक्षा ११ भएका विषय समूह लाई नै तल र माथि पार्दा पाठ्यक्रममा आमूल परिवर्तन  भयो ? पाठ्यक्रममा भए झैं पूराना सूचना र ज्ञानको सङ्कलन गर्नु नै सिकाइ हो ?  सारमा भने  उही 'पुरानो रक्सी नयाँ बोतल' भनेझैं मात्र भयो । 

संविधानले राज्य समाजवाद उन्मुख हुनेछ भन्यो । दिगो विकासको लक्ष्यले शिक्षा समावेशी र समतामूलक  गुणस्तरीय हुनुपर्ने  सुनिश्चित गर्ने कुरा उल्लेख गर्यो  । विद्यालय क्षेत्र विकास योजनाले मध्यम आय भएको मूलुकमा रूपान्तरण गर्न आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लियो । पन्ध्रौं योजनाले शिक्षालाई रोजगार मूलक बनाउँदै लैजान सिपमूलक एवं व्यावसायिक शिक्षामा जोड दिंदै जनशक्तिलाई अन्तराष्ट्रिय स्तरमा समकक्षी र प्रतिस्पर्धी बनाउने, प्राविधिक शिक्षालाई हरेक स्थानीय तहसम्म सर्वसुलभ गराउने, सामाजिक र आर्थिक रूपान्तरणका लागि मानव संसाधन विकास गर्ने, उत्पादनशील एवं नवप्रवर्तनशील  मानव स्रोतको विकास गर्ने लक्ष्य लियो । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र प्रतिस्पर्धी  नागरिकको विकास गर्ने विद्यालय शिक्षाको  दृष्टिकोण रह्यो । शिक्षाले कस्तो  जनशक्ति तयार गर्नुपर्छ र गर्छ  भन्ने  स्पष्ट  आधार तयार गरेको देखिन्छ । तर , शिक्षामा भएको लगानी र व्यक्तिले प्राप्त गरेका व्यवहारिक कुशलतालाई हेर्ने हो भने शिक्षामा भएको लगानी बालुवामा पानी हाले सरह भएको छ । 

पाठ्यक्रम पूर्ण शैक्षिक योजना र पूर्ण प्रणाली पनि हो । यो गतिशील हुन्छ । देशमा आएको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन, विज्ञान तथा प्रविधिमा भएको द्रुत विकास, अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धी र नागरिकका इच्छा, आकांक्षा र आवश्यकतालाई समेत  पूरा गर्नका लागि पाठ्यक्रमको संशोधन एवं परिमार्जन गर्ने गरिन्छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमलाई समयसापेक्ष बनाउनका लागि हरेक बर्ष अद्यावधिक, प्रत्येक पाँच वर्षमा सामान्य परिवर्तन र प्रत्येक दश वर्षमा पूर्ण परिमार्जन  गर्ने अभ्यास गर्दै आएको  देखिन्छ  । पाठ्यक्रमले तोकेको उद्देश्य र त्यसको पारेको प्रभाव भने  ठिक उल्टो देखिन्छ । 'म ताक्छु मूढो बञ्चरो ताक्छ घुँडो' भने झैं भएको छ ।

संविधानले चरित्रवान्, नैतिकवान्, उद्यमशील, राष्ट्रप्रेमी व्यक्ति निर्माण गर्ने सोच लियो । विद्यालय पाठ्यक्रमको सोच  पनि यही रह्यो । कयौं  पाठ्यक्रम बने ।  राज्यले शिक्षामा प्रत्येक वर्ष वजेट मार्फत अरबौं लगानी गर्छ तर लगानी र पाठ्यक्रमको उद्देश्य  विपरित अपवाद बाहेक कामचोर, पर निर्भरमुखी, भ्रष्टहरू जन्मिए । जन्मियौं । पाठ्यक्रमले  हिन्दू धर्मको मर्मलाई कोमामा पुर्यायो । दर्शन बाहिरी नकाब बने । भ्रष्टचार, कमिसन, चाकडी, लुट, दलालतन्त्र राष्ट्रिय संस्कार बन्न पुगे । पौराणिक कथा अनुसार  हिरण्यकशिपुले आफ्नो छोरा प्रल्हादलाई गुरु शुक्रचार्य मार्फत शिक्षा प्रदान गर्दा प्रल्हादमा झन ईश्वर प्रतिको भक्तिभाव  बढ्दै गएको प्रसङ्ग उल्लेख छ  तर अहिले औपचारिक  शिक्षा जति दिए पनि व्यक्तिमा तमोगुण विकास हुँदै गएको छ । “सर्पलाई जति दूध ख्वाए पनि विषमात्र बढाउँछ “ भन्ने  उखान सरह भएको छ ।

हुनतः औपचारिक शिक्षा भन्दा अरीतिक शिक्षा र संस्कारबाट  प्राप्त भएको ज्ञानको प्रभाव व्यक्तिमा बढी परेको देखिन्छ । यसले समग्र विद्यालय शिक्षाको  पाठ्यक्रमको  प्रभावकारितालाई कमजोर बनायो । शिक्षाले समाजमा रहेको चेतना एवं सोचको परिवर्तन गर्न सकेन । व्यक्तिले प्राप्त गरेको  पैतृक ज्ञान संस्कारको रूपमा  हस्तान्तरण  हुँदै गयो । जुन औपचारिक शिक्षा भन्दा बढी प्रभावकारी रह्यो  । 

'मानिस जन्मजात रूपमानै स्वार्थी र भ्रष्टचारी हुन्छ' मेकियावेली । 

उसका  हरेक कार्यहरू इड र इगो केन्द्रित हुन्छन् । शिक्षाले व्यक्तिमा भएका  पैतृक गुणलाई  परिवर्तन गर्न   सकेन  । यसले  केवल व्यक्तिमा रहेका पैतृक गुणलाई फलाउन ,फूलाउन मात्र मलजल गर्यो । जस्तो मालिले फूलको  मलजल गर्छ तर कस्तो  फूल फुल्छ  त्यो फूलकै गुणमा भर पर्दछ ।

पहिले पाठ्यवस्तुलाई नै पाठ्यक्रम भनेर  बुझ्यौं  ।  अहिले बुझ्नेले फरक रहेछ भनी  बुझ्यौं । पाठ्यक्रमका आफ्नै मान्यता हुन्छन् । विद्यालय तहको  पाठ्यक्रम बालबालिका र समाज केन्द्रित हुनुपर्छ । विद्यालय तहको  पाठ्यक्रममा  भाषा,गणित ,विज्ञान तथा प्रविधि ,सामाजिक ,नैतिक शिक्षा ,स्वास्थ्य शारीरिक र सिर्जनात्मक क्षमता विकास हुने बिषयहरू  समेटिनु पर्छ  । यो अन्तराष्ट्रिय मान्यता पनि हो  । हालको  पाठ्यक्रमले  सामान्य ज्ञान र सीपको विकासमा जोड दिएको छ तर ,जीवनमा आइपर्ने अनेक  समस्याको समाधान गर्नसक्ने व्यवहारकुशल सीप  भने सिकाउन सकेन  । त्यसैले पाठ्यक्रमले   बालबालिकामा बोल्ने सीप, गरिखाने सीप ,सामाजीकरण हुने सीप र सिर्जनात्मक सीपको विकासमा जोड दिनुपर्छ  । पाठ्यक्रमले देशको  सबै विविधतालाई समेट्न सक्नुपर्छ । 

समाज वर्गीय छ । पाठ्यक्रम साझा  । अब पाठ्यक्रमले उत्पादन गर्न सिकाउनु पर्छ, उपभोग गर्न होइन । सिर्जना गर्न सिकाउनु पर्छ सिर्जनामा  रमाउन होइन । पाठ्यक्रमले आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु पर्छ तर यो एक युटोपियन कल्पना मात्र बन्यो । विद्यालयका पाठ्यक्रमले  देशको विविधतालाई समेट्न सकेन । शिक्षाको राष्ट्रिय प्राथमिकता तोकिएन, शैक्षिक गुणस्तरमा सुधार हुन सकेन , वेरोजगार मात्र उत्पादन भए, स्थानीय ज्ञान र सीपलाई वेवास्ता गर्यो । स्थानीय आवश्यकतालाई समेट्न सकेन,  पाठ्यक्रमले जीवनोपयोगी सीपको  विकास गर्न सकेन, पाठ्यक्रम बोझिलो भयो, असल संस्कार युक्त  नागरिक  बनाउन सकेन, व्यक्तिमा व्यवहार कुशल सीपको विकास हुन सकेन,  समावेशीपनलाई आत्मासात गर्न सकेन र  पाठ्यक्रम अनुसन्धानमूलक हुन सकेन भन्ने अनेक केही गहकिला  प्रश्नहरू हालको विद्यालय पाठ्यक्रम सामु  उठेका  छन् । उठ्नु सान्दर्भिक र स्वाभाविक  देखिन्छ पनि । 

पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमको निर्माण गर्दा केही  सैद्धान्तिक आधार र  विश्वव्यापी मूल्य मान्यतालाई समेत समेट्नु पर्छ । सैद्धान्तिक आधारले पाठ्यक्रममा एकरूपता र विश्वसनीयता कायम गर्छ । विश्वव्यापी रूपमा पाठ्यक्रममा समानता  ल्याउँछ ।  पाठ्यक्रमले  सक्षमतामा,सर्वाङ्गीण विकास ,बालकेन्द्रित विकास , समावेसिता ,स्थानीय आवश्यकता ,जीवनोपयोगिता ,सहभागिता,लचिलोपना ,नेपाली मूल्य,मान्यता ,शैक्षिक गुणस्तर र खोज तथा अनुसन्धानमा जोड दिनुपर्छ । 

पाठ्यक्रम र सिकाइ 

व्यक्तिले धेरै  कुरा  उसको  परिपक्वतासँगै आफैं सिक्छ । समस्याको समाधान  सँगै सिकाइ  स्वतः हुन्छ । सिकाइ  जीवन पर्यन्त चलिरहने प्रक्रिया हो । भनिन्छ ,आमाको गर्भमा समेत बालकले सिकिरहेको हुन्छ । व्यक्तिमा धेरै गुणहरू वंशानुगत रूपमा  आएका हुन्छन् । माछो आफैं पौडन्छ । बालक आफैं दूध चुस्छ । चरा उड्छ । लज्जावती झार आफैं लजाउँछ । कमलकोटीले  अर्को कीरोलाई गुँडभित्र राखेर कमलकोटी बनाउँछ । यसको अर्थ  केही सिकाइ  स्वाभाविक हुन्छन् । सिकाइले आफूजस्तै बनाउन र चाहेको जस्तो बनाउन सहयोग पुरयाउँदो रहेछ । काँचो माटोबाट विभिन्न प्रकारका सामान निर्माण गरे झैं । सिकाइ माध्यम रहेछ । 

पाठ्यक्रम धनी राष्ट्रहरूले गरीब राष्ट्र माथि औपनिवेशिकता कायम गर्ने औजार बन्दो रहेछ ।आज विद्यालय पाठ्यक्रम समेत देशकै  कुलीन र वुर्जुवा वर्गको संरक्षणको आधार र गर्विलो  ईतिहास बनेको छ । विद्यालय पाठ्यक्रम मेल्टिङ पटको रूपमा विकास  भयो । हुनतः  सिकाइको आधार पाठ्यक्रम  हो । “बाँच्नको लागि संघर्ष “भन्ने डार्विनको विकासवादी सिद्धान्त अनुरूप  व्यक्तिले  पाठ्यक्रम विनानै आफू बाँच्ने सीप आफैं सिक्दो रहेछ । 

पाठ्यक्रम र यसको प्रभाव

पाठ्यक्रमको निर्माण गर्दा शिक्षाको  बिषयगत ,तहगत ,राष्ट्रिय उद्देश्य  ख्याल गर्नु पर्दछ । प्रत्येक बिषयका  बियषयगत र तहगत सक्षमता तोकिएका छन् । विद्यालयको  आधारभूत तहमा १२ वटा र माध्यमिक तहमा १५ वटा सक्षमता तोकिएका छन् । पाठ्यक्रमले  विषयगत  एवं तहगत सक्षमता पूरा गर्नुपर्छ । तर पाठ्यक्रमको प्रभावकारिताका सम्बन्धमा भने  मुल्याङ्कन हुन सकेको छैन । पाठ्यक्रमको प्रभावकारिता विद्यार्थीले प्राप्त गरेको ग्रेडका आधारमा होइन उनीहरूले कार्य क्षेत्रमा गरेको कार्यको आधारमा गर्नुपर्छ ।  गाउँपालिको वडाको सदस्य देखि राष्ट्रपतिम्म , बालविकासमा पढाउने शिक्षक देखि त्रिविका प्राध्यापकसम्म ,कार्यलयमा काम गर्ने सहयोगीदेखि मुख्य सचिवसम्म ,श्रममात्र पूजी भएको श्रमिक देखि ठूला उद्योगपति सम्म बनाउने आधार पाठ्यक्रम नै हो । शिक्षाको लगानी बालुवामा पानी हाले सरह भएको छ । केही अपवाद बाहेक पाठ्यक्रले नेतामा भ्रष्टाचार गर्न,सत्ता र शक्तिको आडमा राष्ट्रिय सम्पत्तिको दोहन गर्न,कमिसन खान सिकाएछ । शिक्षकदेखि प्राध्यापकसम्म सरकारी विद्यालयमा राम्ररी  नपढाउने ,सरकारी तलब कुम्ल्याएर निजी विद्यालयमा काम गर्ने ठग बुद्धि सिकाएछ । कर्मचारीमा भ्रष्टाचार गर्ने , कमिसन खाने , राष्ट्रिय सम्पत्ति सकेसम्म दोहन गर्ने बुद्धि सिकाएछ । श्रमिकमा मत्स्य न्याय गर्न सिकाएछ । व्यापारी र उद्योगपतिमा कर छली गर्ने ,मिसावट गर्ने बुद्धि सिकाएछ  । सबैमा आएको यो चोर बुद्धि पाठ्यक्रम कै उपज हो वा पा्ठ्यक्रमले  त्यसो गर्न वाध्य बनायो ? 

पाठ्यक्रम र राजनीति 

२००४ सालमा आधार शिक्षाको पाठ्यक्रम लागू भयो । व्यावसायिक शिक्षामा जोड दियो । राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ ले व्यवसायिक विषयहरूलाई समेत अनवार्य विषयको रूपमा पाठ्यक्रममा समावेश  गर्यो । स्थानीय ज्ञान ,सीप र प्रविधिको विकासमा जोड दियो । नैतिक र संस्कृत शिक्षाको पढाइले व्यक्तिमा सत्कर्ममा लाग्न प्रेरित गर्थ्यो ।   पापको डर  हुन्थ्यो । विं सं २०५२ सालमा तत्कालिन माओवादीले शुरु गरेको शसस्त्र संघर्षले नैतिक र संस्कृत शिक्षालाई विद्यालय शिक्षाबाट जबरजस्त हटायो । यसको महत्वलाई ख्यालै नगरी सरकारले  समेत  माओवादीकै बाटो लियो । यसले एक हिसाबले आदर्शवादी शिक्षाको  अन्त्य भयो । कहिं कतै जनवादी शिक्षाको सुरूवात भयो भनियो । धेरैले नैतिक शिक्षा र संस्कृत शिक्षा हटाउनुनै  जनवादी शिक्षा रहेछ भनी बुझे र बुझ्यौं पनि । जनवादी शिक्षाको आधारमा बनेको नेकपाको दुई तिहाई नजिकको सरकारको शासन कालमा कक्षा ११ को पा्ठ्यक्रमबाट परिवर्तन हँदै छ । कक्षा ११ ले जनवादी शिक्षा कि मेकाले कुन शिक्षा आउने हो हेर्न बाँकि छ ।

दर्शन र पाठ्यक्रम 

शिक्षा कस्तो हुनुपर्छ ? यस प्रतिको समग्र हेराई नै शिक्षाको दर्शन हो । राज्य व्यवस्था र  राजनीति प्रणालीको प्रभाव पाठ्यक्रममा  पर्छ । विश्वमा पूँजीवाद,समाजवाद,उदारवाद, धार्मिकवादले पाठ्यक्रममा  प्रत्यक्ष प्रभाव पारेको छ ।  संविधानमानै देशलाई समाजवाद उन्मुख भनेको छ ।अब,  देशको शिक्षाको मुल दर्शन भनेको समाजवाद तर्फ उन्मुख भएकोछ  । त्यसैले समाजवाद पाठ्यक्रम निर्माणको पहिलो आधार बन्न पुगेको छ । करीब ८३ प्रतिशत हिन्दू बसोबास गर्ने देशको शिक्षा हिन्दु दर्शनमा आधारित   हुनुपर्छ । यो पाठ्यक्रम निर्माणको दोस्रो आधार बन्नुपर्छ । तर आज देश पाठ्यक्रमको माध्यमबाट  धार्मिक औपनिवेश बन्दैछ । हाम्रो दरिद्र मानसिकताको प्रभाव समग्र पाठ्यक्रममा समेत परेको छ ।

मावि तहको पाठ्यक्रम

मावि तहको अबको पाठ्यक्रम कस्तो हुनुपर्छ ? यस सम्बन्धमा सरकारी स्तरमा निकै छलफल भएको हुनुपर्छ । तर पाठ्यक्रम भने  दोष मुक्त हुन सकेको    छैन । कतै न कतै नव संशोधनवाद र  विदेशीको प्रभाव परकै छ । मावि  पाठ्यक्रमले साक्षर मात्र बनायो, कार्यमूलक हुन सकेन ,बालबालिको चाहना र    आवश्यकतालाई सम्बोधन गर्न सकेन, तहगत सक्षमता हासिल हुन सकेन । विधागत ज्ञान र सीप (हार्ड स्कील) बाहेक व्यवहार कुशल सीप ( सफ्ट स्किल)मा जोडदिन सकेको छैन भन्ने आरोप लागेको  छ  । त्यसैले हाल कायम रहेका साधारण , संस्कृत र धार्मिक मावितह (९ – १२)लाई व्यावसायिक माविको रूपमा परिणत गर्ने  र मावि तह (९–१२)मा  गरिखाने व्यावसायिक एवं प्रविधि सम्बन्धी  सीप ,व्यवहार कुशल( सफ्ट स्किल ) सीप र नागरिक शिक्षा सम्बन्धी पाठ्यक्रम  मात्र समावेश गर्नुपर्छ । 

भाषा , गणित  ,विज्ञान  नैतिक र स्वास्थ्य सम्बन्धी आधारभूत सीप आधारभूत तहमानै सिक्नु पर्छ । सिकाइनु पर्छ । कक्षा १२ सम्मको औपचारिक शिक्षा लिइसक्दा समेत नेपाली र अंग्रेजी वर्ण राम्रोसँग लेख्न नसक्ने , जोड घटाउसम्म नजान्ने ,अदब कुन चराको नाम हो थाहा नहुने,म को हुँ भनेर चिन्न पनि नसक्ने  शिक्षा लिनु र नलिनु ,दिनु र नदिनुमा के फरक छ ? यस्तो शिक्षाले शैक्षिक क्षति मात्र  बढाएको छ ।

रोजगारी मात्र बढाएको छ । बरू प्राविधिक एवं  व्यावसायिक शिक्षा पायो भने कम्तिमा सीप बेचेर सजिलै बाँच्न त सक्छ । स्वावलम्बी नागरिक बन्छ ।  करीब ७५५ विद्यार्थीहरूको कक्षा १२ को शिक्षा अन्तिम शिक्षा बन्ने गरेको छ । कक्षा (९–१२)सम्मको शिक्षा अनिवार्य प्राविधिक एवं  व्यावसायिक हुनुपर्छ । भद्रगोल विषयलाई स्नातक  तहमा राख्नु अर्थ संगत होला । उच्च शिक्षामा भने विद्यार्थीको रुचि अनुसार  बिषयको छनौट गर्ने अवसर दिनुपर्छ । उच्च शिक्षा विषयगत विशिष्टीकरण र अनुसन्धानमूलक हुनुपर्छ । मावि तहको शिक्षामा विगतमा उमाविमा तहमा भएको विषयको फेहरिस्त भन्दा नागरिक शिक्षाको साथमा व्यावसायिक विषयमात्र राख्नुपर्छ  ऐच्छिक विषयलाई भने स्नातक तहबाट मात्र छनौट गर्ने व्यवस्था गर्नु उपयुक्त  हुन्छ । 

भट्टराई माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय अध्यक्ष हुन् । 

प्रतिक्रिया