Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

पेशागत व्यावसायिक शिक्षा तथा तालिम र उद्योग ४.०

शुक्रबार, १२ भदौ २०७७

चेतनशील मानिसहरुको परिचालन गर्ने नेतृत्व (Leader) तथा जड श्रोतहरुको परिचालन गर्ने व्यवस्थापनको(Manager) कार्य सम्पादन तथा परिस्थितिको आँकलन गर्ने तरिकामा प्रविधिले आमूल परिवर्तन ल्याइदिएको छ । यस माथि सकारात्मकवाद (Positivism) तथा सकारात्मकताको सिद्धान्तले (Positivistic theory) त क्रान्ति (Revolution) तथा उत्पत्ति (Evolution) मा यस परिवर्तनलाई विभक्त गर्नुपर्ने अवस्था श्रृजना गरी दिएको छ । सामान्यतया प्रचलित सामाजिक परम्परा तथा विधान प्रतिकुल गरिने परिवर्तनलाई क्रान्ति भनिने हुँदा यसका उपलव्धिहरु चीरस्थायी हुदैनन् । प्राकृतिक नियम तथा विज्ञानका आधारमा भएका सकारात्मक परिवर्तनहरु, उत्पत्ति, अघिल्लो अवस्था भन्दा उन्नत तथा दीर्घ कालिन हुन्छन् । त्यसैले क्रान्तिमा जस्तो उत्पत्तिमा सारा विश्व जनमत विभक्त नभई एक मत रहेको हुन्छ । यो उत्पत्तिको श्रृङ्खलाले मानव जातीको विकास, विज्ञान प्रविधिको विकास तथा विज्ञान प्रविधिमा आधारित औद्योगिक विकासमा समेत प्रभाव पार्ने भएता पनि यो आलेखमा यसले औद्योगिकिकरणमा पार्ने प्रभाव र त्यसको व्वस्थापनकालागि आवश्यक शैक्षिक प्रणालीकावारेमा चर्चा गरिने छ ।

विश्वमा श्रोत साधनको समानुपातिक उपलव्धता तथा शिक्षामा समान पहुँच र यसको स्तरमा एकरुपता नभएकाले विश्व जनसंख्या एक अर्कामा अन्तरनिर्भर रहेको छ । त्यसैले हरेक समुदाय तथा देशले गर्ने उत्पादन उक्त समुदाय तथा देशको जिविकोपार्जनकालागि मात्र नभई अन्य समुदाय तथा देशको खपतकालागि समेत हुन्छ । यसरी घरायसी उत्पादनका अलावा व्यापारिक प्रयोजनकालागि समेत गरिने उत्पादनलाई उद्योग भन्ने गरिएको छ । यसले व्यापार व्यवसाय प्रवर्धनका माध्यमवाट अर्थिक समृद्धि सुनिस्चितताका साथै देशहरुका वीचमा आपसी सौहार्दता अभिवृद्धि गर्मा समेत सघाउ पुर्याएको छ । यही उन्नत तथा वैज्ञानिक प्रकृयालाई औद्योगिकिकरण भन्ने गरिएको छ । यसको संक्षिप्त विवेचना तलका हरफहरुमा गरिन्छ । 

मानिस तथा पशुको शारिरिक श्रमको उपयोगवाट गरिने उत्पादनको परिमाण तथा गुणस्तर तथा यसको ओसार पसारमा भएको कठिनाईलाई समाधान गर्नकालागि सत्रौं सताब्दीको अन्त तथा अठारौं सताब्दीको शुरुमा वेलायतमा वाष्प इञ्जिनको अविष्कार गरियो । यसले मानीस तथा पशुको सिमित शारिरिक वललाई प्रतिष्थापन मात्र गरेन यसका अतिरिक्त उत्पादन प्रकृया तथा परिमाणमा पनि उल्लेख्य मात्रात्मक तथा गुणात्मक परिवर्तन ल्यायो । कोइला तथा पानीका माध्यमवाट इञ्जिनलाई सञ्चालन गरी उत्पादन तथा ओसारपसारमा उपयोग गर्न थालियो । रेलको विकास यसैको ठूलो उपलव्धि हो । यसैलाई पहिलो ओद्योगिक क्रान्ति भनिन्छ । 

बिसौं सताब्दीको शुरुमा फलाम तथा विजुलीको आविस्काले उत्पादन दरमा वृद्धिका साथै सजिलै एक ठाउँवाट अर्को ठाउँमा सार्न वा लैजान सकिने मशीनको विकास भयो । यो विकासले ठूलो परिमाणमा उत्पादन (Mass production)  तथा कलकारखानाहरुमा जोड्ने रेखा (Assembly line)  को विकास शुरु भयो । यसैलाई दोश्रो ओद्योगिक क्रान्ति भनिन्छ ।सन १९५० को दशकको अन्ततिर इलेक्ट्रोनिक्स तथा कम्प्युटरको अविस्कारले अर्को नयाँ उचाइ थप्यो । यसले उत्पादनमा भइरहेको यान्त्रिक प्रविधिलाई डिजिटल तथा स्वचालित प्रविधिले (Automation)  प्रतिस्थापन गर्यो । यसै क्रममा सूचना तथा प्रसार प्रणालीको उच्चतम विकास भयो । यसैलाई तेश्रो ओद्योगिक क्रान्ति भनिन्छ ।

तेश्रो औद्योगिक क्रान्ति एक्काइसौं सताब्दी सम्म मुस्किलले आफ्नो प्रभाव देखाउन सक्यो । एक्काइसौं सताब्दीको शुरुवातमै चौथो औद्योगिक क्रान्तिको जन्म भयो । यसले भौतिक,  गणितिय (Digital) तथा जैविक सीमाहरुलाई धुमिल गराइदियो । यो वास्तवमा सूचना प्रविधि  (Infotech) तथा जैविक प्रविधि  (biotech) को सम्मिश्रण हो । यसलाई वस्तुहरुको औद्योगिक अन्तरसञ्जाल (Industrial Internet of Things-IIoT) पनि भनिन्छ । यसले सञ्जालहरुको अन्तरसंवन्ध (Interconnectivity), स्वचालित मशीन (Automation), मशीनको सिकाई (Machine Learning) तथा वास्तविक समयका आँकडा (Real-time data) जस्ता विषयहरु समन्वय गरी अगाडि ल्याइदियो । कृत्रिम कुशाग्रता(Artificial intelligence), व्लकचेन, ड्रोन तथा रोवोटिक्स उद्योग ४.० का खास उपलव्धिहरु रहेका छन् ।

यो आलेखको उद्देश्य औद्योगिक क्रान्ति के हो भन्नु भन्दा पनि चौथो औद्योगिक क्रान्तिको व्यवस्थापन हाम्रो देशमा कसरी गर्ने भन्ने नै हो । माथि नै भनियो कि नेतृत्वले जनता (People) तथा श्रोतको परिचालन गर्नुपर्छ । त्यसैले नेतृत्वमा दर्शन (Philosophy or technology), उपभोक्ता मनोविज्ञान (Social psychology) र अर्थशास्त्र  (Economics) को सामान्य चेतना हुनैपर्छ । हामी कहाँ राजनैतिक नेतृत्वकालागि परम्परागत चुनाव तथा छनौट वाहेक सदाचार तथा आचार संहिता र योग्यताको कुनै अनिवार्य व्यवस्था नभएकाले यस्तो चेतना सम्भव नदेखिएता पनि नेतृत्वले यी विषयका ज्ञाताहरुको परामर्श चाँहि लिनै पर्छ । हामीले अहिलेको औद्योगिक उपलव्धिलाई कसरी आन्तरिकिकरण गर्ने ? यो शिक्षा तथा दर्शनको विषय हो । यसै अनुरुपको शैक्षिक प्रणालीविकास नै आजको अवश्यकता भएको छ । हाम्रा विश्व विद्यालयहरुमा त्यसै अनुरुपको पठनपाठन तथा अध्ययन अनुसन्धान हुनु जरुरी छ । विश्व विद्यालयहरुमा गरिने अध्ययन अनुसन्धान सम्वन्ध कार्यहरु प्रयोगशालामा केन्द्रीत भएर गरिने भएकाले यहाँ गरिने लगानी महँगो त हुने नै भो यसका अतिरिक्त व्यापारिक मापन तथा उपयोगको नहुन पनि सक्छ । फेरि सवै क्षेत्रमा सरकारले लगानी गर्न पनि सक्दैन । विश्व विद्यालयहरुमा अध्ययन अनुसन्धानमा व्यावसायिक घराना (Corporate House) तथा उद्योग व्यवसायलाई लगानी तथा सहकार्यकालागि प्रोत्साहित गर्न पनि जरुरी छ । विश्व विद्यालयमा प्राप्त भएको उपलव्धिको व्यावसायिक उत्पादनकालागि उद्योग व्यावसाय मै फर्कनुपर्ने त छँदैछ । 

हामी जस्तो लगानीकालागि कमजोर आर्थीक क्षमता भएको तथा उच्च जनसंख्यालाई रोजगारी दिनुपर्ने वाध्यता भएको मुलुक नचाहेर पनि अन्य संसारवाट अलग हुन सक्दैनौं । त्यसैले संसारले अपनाएको प्रविधिमा हामीहरु ढिलो चाँडो प्रवेश गरी यसैलाई अवलम्वन गरेर उत्पादन गर्नै पर्ने हुन्छ । यही उत्पादन तथा सेवा र शिक्षालाई सँगसँगै लैजाने भनेको व्यावसायिक शिक्षा नै हो । यही गहनतम विषयलाई नेतृत्वले दर्शनका (Philosophy) रुपमा मात्र ग्रहण गर्ने कि शिक्षा नीतिका (Education policy) रुपमा समेत ग्रहण गर्ने ? युवाहरुलाई शिक्षाको संसारवाट (World of education) कामको संसारमा (World of work) प्रभावकारी रुपमा स्थानान्तरण गर्ने काम नै शिक्षाको हो । त्यसैले परम्परागत रुपमा संज्ञानलाई (cognitive knowledge) मात्रै शिक्षा मानिएकोमा ज्ञान (knowledge), कौशल (skill) तथा आचरणलाई (attitude) पनि शिक्षाकै अङ्ग मानिएको छ ।

सञ्चार (communication), नेतृत्व विकास (leadership), समूह निर्माण (teamwork), समस्या समाधान (problem solving),संवेगात्मक कुसाग्रता (emotional intelligence), समिक्षात्मक सोचाइ (critical thinking), परिवर्तन तथा आपद् व्यवस्थापन सीप (change and crisis management skill), निर्णय गर्ने क्षमता (decision making skill) तथा वार्तालाप र सामाजिक सीप(negotiation and social skill) आदिलाई समेत व्यावसायिक शिक्षाको पाठ्यक्रममा समावेश गरिएको हुन्छ । सामान्यतया पाठ्यक्रममा रहेका यी सीपहरु कक्षा कोठामा भन्दा वास्तविक कार्यस्थलमा सिकाउँदा वढी प्रभावकारी हुन्छन् । अर्कोतिर धेरै जसो विद्वानहरुले शिक्षकले सिकाउन भन्दा पनि सिक्नमा सहयोग गर्नुपर्छ भन्ने मान्यता राखी आएकाछन् । कार्यस्थलको सिकाइ भनेको पनि यही हो । प्रभावकारी सिकाई उपलव्धिकालागि शिक्षा आर्जनकै वेलामा विद्यार्थीहरुलाई वास्तविक कामको संसारसंग साक्षात्कार वनाउने व्यवस्था शिक्षा प्रणालीमा समाहित गर्नु पनि मनोसामाजिक कुशाग्रता अन्तरगत नेतृत्वकै जिम्मेवारी हो । 

अर्कोतिर शिक्षण प्रशिक्षण स्थलको स्थापना,  त्यसको समसापेक्ष सवलीकरण तथा स्तरीकरण, पछिल्लो नविनतम प्रविधिको स्थापना तथा अनुपालन र यी सवै पक्षमा लगानी एकदमै महत्वपूर्ण विषय हो । यो लगानी तथा अन्य सम्पूर्ण प्रकृयावाट पारङगत भएर जाने विद्यार्थीहरुको प्रवीणता तथा दक्षताका उपभोक्ता समेत उद्योग व्यावसायी भएकाले लगानी तथा पठनपाठनमै शैक्षिक संस्था तथा उद्योग व्यावसायको संरचनात्मक सहभागिता सुनिस्चित गर्नकालगि नै द्वैध शिक्षा (Dual Education)  को अवधारणा विकास गरिएको हो । यो अवधारणाले प्रारम्भिक तथा अनवरत शिक्षाको अवधारणालाई समेत आत्मासात गर्दछ । लाभग्राहीको पठनपाठन, मुल्याङ्कन तथा सम्पूर्ण शैक्षिक व्वस्थापनमै सहभागिता हुने भएकाले नविनतम तथा आकस्मिक प्रविधिको प्रवेश तथा यसको सिकाई, लगानी व्यवस्थापन तथा गुणस्तर सुनिस्चितता प्रणालीमै प्रत्यक्ष हस्तक्षेप हुन गई कम खर्चमै प्रभावकारी तथा प्रतिष्पर्धि विद्यार्थी उत्पादन हुनजान्छ । 

माथि चर्चा गरिएका सामाजिक मनोविज्ञान तथा शैक्षिक अर्थशाष्त्र दुवैले कार्यस्थलको सिकाईलाई जोड दिएकाछन् । यही कारणले यसलाई प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम (Technical and vocational education and Training-TVET) भनिएको हो । यसलाई नेपाल सरकारले शिक्षाको मूल प्रवाहमा ल्याउन शुरुवाती कदमहरु चालिसकेको छ । यो किसिमको शिक्षाको व्यवस्थापनमा सम्वन्धित पेशागत संघ संस्थाहरुलाई पनि जिम्मेवारी दिने प्रकृया केही देशहरुमा प्रचलनमा रहेकाले हाल यसलाई पेशागत व्यावसायिक शिक्षा तथा तालीम (Professional and vocational education and Training- PVET) समेत भन्ने गरिएको छ । प्रारम्भिक तथा अनवरत शिक्षामा शिक्षण संस्था तथा उद्योग व्यवसायमा गई शैक्षिक प्रमाणपत्रमा अङ्क नदिइने पठन पाठन तथा पेशागत तालीम लिने समेत प्रचलन रहेकाले समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई पेशागत व्यावसायिक शिक्षा तथा तालीम भन्ने गरिएको हो ।

अव हाम्रो पेशागत व्यावसायिक शिक्षा तथा तालीमलाई चौथो औद्योगिक क्रान्तिको नतिजा उद्योग ४.० संग कसरी जोड्ने ? उद्योग ४.० ले उत्पादन लाइन (production line) तथा आपूर्ति श्रृङ्खलालाई (supply chain) असर पार्दछ । यसमा आँकडाको अन्तरसञ्जाल (Internet of data), मानीसहरुको अन्तरसञ्जाल (Internet of people), सेवाको अन्तरसञ्जाल (Internet of services) तथा सामाग्रीहरुको अन्तरसञ्जालहरु (Internet of things) अन्य सञ्जालहरुमा समेत विभक्त भएका हुन्छन् । यी सञ्जालहरुको एकिकृत व्यवस्थापन र सोही वमोजिमको शिक्षण प्रशिक्षण नै शिक्षाको आयामिक परिवर्तन हुन सक्छ । त्यसैले सोही अनुरुपको पाठ्क्रम, सिकाई स्थल तथा संरचनागत र व्वस्थापकीय कार्यक्रम तथा श्रोत व्यवस्थापन तथा परिचालन तर्फ अग्रसर रहन ढिलो गर्नु हुदैन । हामीकहाँ इञ्जिनियरिङग क्षेत्रमा पहाडी सडक, सुरुङ्ग तथा जलविद्युत तथा उद्योग क्षेत्रमा पर्वतारोहण, कृषि तथा पर्यटन मूख्य रहेकाले यिनै क्षेत्रमा उद्योग ४.० को उपयोग गरी आत्मनिर्भर हुन सकिन्छ भने यिनै क्षेत्रमा उत्कृष्ट जनशक्ति उत्पादन गरी उच्च प्रविधियुक्त जनशक्ति निर्यात गरी नागरिक वेचेर धानिएको र विश्व राजनैतिक मञ्चमा खासै उपस्थिति नदेखिएको देशवाट उच्च गरिमामय गौरवशाली मुलुकमा उक्लन सकिन्छ । विप्रेषण तथा विचौलिया अर्थतन्त्रवाट उत्पादन तथा आत्मनिर्भर अर्थतन्त्रमा उक्लन सकिन्छ । त्यसैले औद्योगिक क्रान्ति ४.० को उपज उद्योग ४.० को सकारात्मक उपयोग गरी कार्यस्थलमा आधारित पेशागत व्यावसायिक शिक्षा तथा तालीमका माध्यमवाट उन्नत, दिगो तथा प्रतिष्पर्धि उत्पादन तथा सेवाको विकास तथा विस्तार गरी स्वाभिमानी तथा विकसित नेपाल वनाउने तर्फ हाम्रो शैक्षिक नेतृत्व लागिपर्नु विज्ञानसम्मत सकारात्मक उत्पत्तिको अनुशरण मात्र नभई परिवर्तित समय अनुसार पनि अत्यन्तै अवश्यक रहेको छ ।यसकालागि नेतृत्वयथास्थिति मानसिकतावाट (Fixed mindset) माथि उठी परिवर्तन चाहने तथा स्विकार गर्न सक्ने उदार मानसिकतामा (growth mindset) जानु एकदमै आवश्यक छ । यो विवेकशील मानवीय (Homo sapience) यात्रावाट दैवी निर्गुणी मानवीयतातर्फको (Homo deus) प्रस्थान पनि हुन सक्छ । 

भट्टराई, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिका निर्देशक हुन् ।

प्रतिक्रिया