२०७२ साल नेपालको शैक्षिक क्षेत्रका लागि ‘कालो वर्ष’ सावित भएको छ । शैक्षिक सत्रको सुरुवातसँगै भूकम्पको झट्का, हजारौँ विद्यालय पढाउनै नमिल्ने गरी क्षतिग्रस्त, त्यसपछि वर्षे विदा, लगत्तै मधेसी मोर्चाको बन्द, संविधान निर्माणका क्रममा संघीयता पक्ष धरले चलाएको आन्दोलन र प्रदर्शनले शिक्षालयहरु महिनौं बन्द भए ।
संविधान नर्माण पछि सारा अवरोध, व्याकुलता र दुःखका आँसुहरु थामेर सुरु गर्न खोजिएको पढाइ सोमबार सय दिन पूरा भएको मधेस केन्द्रीत दलहरुको आन्दोलन पछि सबैभन्दा बढी प्रभावित भएको छ । यही बीचमा भारतले गरेको अघोषित नाकाबन्दीले त सकसमा सकस थपिदिएको छ । तराई मात्रै होइन, इन्धन अभावले शहर, पहाड र राजधानीका विद्यालल पनि खुल्न सकेका छैनन् । विद्यार्थीको पढाइ झन् झन् अन्यौलमा फस्दै गएको छ र स्थिति दुरुह ।
शैक्षिक सत्र सकिन ४ महिना बाँकी छ र बितेको ८ महिनामा मुस्किलले २ महिना पनि विद्यलाय चलेका छैनन् । तराई क्षेत्रमा त पछिल्लो साँढे ३ महिना देखि विद्यालय पूर्ण रुपले बन्द छन् । यतिखेर शिक्षा क्षेत्रमा राजनीतिको राँको झोसिएको छ । यसको रापले विद्यार्थीको पठनपाठन र सिकाइ सबैभन्दा बढी भष्म भएको छ । शिक्षाका लागि यो ऐतिहासिक सकसको वर्ष हो ।
नयाँ शैक्षिक सत्र आउन अब धेरै समय बाँकी छैन । संविधान प्रतिको आसन्तुष्टि भनिएको आन्दोलन तत्काल अन्त हुने छेकछन्द पनि देखिएको छैन । निजी विद्यलायहरुको एउटा संगठन प्याब्सनले केटाकेटीलाई हिंडाएर विद्यालय ल्याउन अभिभावकलाई गरेको अनुरोध किन सम्भव छैन भने विद्यार्थीको निवास र विद्यालयको दुरी हिंडेर जान सक्ने अवस्थको छैन । तराईमा विहान विद्यालय खोल्ने प्रस्ताव र सहमति पनि मौसम अनुकुल नभएकाले अव्यवहारिक छ । त्यसमाथि आन्दोलन यथावत रहेका बेला विहान वा बेलुका विद्यालय खोल्नु केटाकेटीको सुरक्षाका दृष्टिकोणले पनि ठीक छैन । विद्यार्थीको असुरक्षा मोर्चाको शर्तले पनि प्रष्ट पार्छ । यसले शिक्षा प्रतिको अन्यौल झन् बढाएको छ । विद्यार्थी पढ्न नपाएको चिन्ताले ग्रस्त छन् ।
यस्ता असहजता बीच अब विस्तारै परीक्षाको समय सुरु हुन्छ । कक्षा १० मा लिइने एसएलसी, त्यसपूर्वको परीक्षा, अन्य कक्षाको मध्यावधी र वार्षिक परीक्षा । यस्तो असहज परिस्थित र महिनौँ कक्षा नभएको अवस्थामा विद्यार्थीको मूल्यांकन सम्भव छ ? पक्कै छैन । पाठ्यक्रम अनुसार पढाइ हुन नसक्दा उद्देश्य अनुसारको सिकाइ हुनै सक्दैन भन्ने जगजाहेर छ । आउँदो दशक सम्म र त्यसपछिका कक्षाहरुमा पनि विद्यार्थीमा यसको प्रभाव परिरहने छ ।
समस्या कति सम्म भइसक्यो भने एसएलसीका लागि छाप्नु पर्ने उत्तर पुस्तिका नाकाबन्दीले छाप्न असहज भइरहेको छ । राष्ट्रिय स्तरको परीक्षाको तयारी गर्नु पर्ने झण्डै ५ लाखभन्दा बढी केटाकेटी के पढ्ने र पढियो भन्ने अन्यौलमै छन् । यस्तो बेला शिक्षा मन्त्रालयले औपचारिक कक्षाको विकल्प के हो भनेर सोच्न नसक्नु लज्जास्द छ ।
शिक्षा मन्त्रालयले यसबेला दुई वटा विकल्पमा काम गर्न सक्छ । पहिलो राष्ट्रिय परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि । र दोस्रो नियमित कक्षाका अन्य विद्यार्थीका लागि ।
तराईको सबै ठाउँ आन्दोलनमा छैन । निश्चित स्थान मात्रै आन्दोलनले पीडित छ । त्यसैले त्यहाँ भएका शिक्षकलाई पायक पर्ने टोलमा कक्षाहरु चलाउने, पाठ्यक्रम र पाठ्यभार अनुसार प्रश्न उत्तरहरुमा छलफल गराउने गर्दा विद्यार्थीका लागि त्यो सहयोगी हुन सक्छ । उद्देश्य अनुसार केही मात्रामा सिकाइलाई अघि बढाउ पनि सकिन्छ । यसका लागि स्थानीय एफ एम, राष्ट्रिय प्रसारणका अन्य विद्युतीय सञ्चार माध्यमलाई पनि विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ ।
अहिले गाउँ गाउँमा डिभिडी चलाउन सकिन्छ । सिकाइका सिडि र डिभिडी मार्फत पनि सिकाइ प्रकृया अघि बढाउन सकिन्छ । र अर्को प्रभावकारी माध्यम भनेको मोबाइल पनि हो । हरेक घरमा कम्तीमा एउटा मोबाइल छ । सिकाइलाई अघि बढाउन सके विकल्पको प्रयोग र सिकाइ एकैसाथ जान सक्छ । यसका लािग मन्त्रालयले अग्रसरता लिन ढला गर्नु हुन्न ।
शिक्षा मन्त्रालयको भूमिका विद्यालय खोल्न निर्देशन दिने भन्दा पर गएर सोच्ने तहमा पुगेकै छैन । आफ्ना निकायहरुलाई स्थान, अवस्था अनुसार समय व्यवस्थापन गरेर औपचारिक कक्षाको वैकल्पिक व्यवस्था गर्ने काम मन्त्रालयले तत्काल थाल्नु पर्छ । यसमा ढिला हुनु भनेको पछुताउनु मात्रै हुनेछ ।
हो, विद्यालय बन्द छन् । फुर्सदिला केटाकेटी रमाईलोका लागि आन्दोलनमा पनि सहभागि छन् । केहीलाई आन्दोलनमा प्रयोग पनि गरिएको छ । नैतिक शिक्षा र भविष्य बारे जान्नु पर्ने नानीहरु ध्वंसमा सहभागी भएर आफ्नो भविष्य भत्काउन लागिरहेका छन् । दुर्भाग्य, त्यसमा उनीहरुकै अभिभावक र राज्य सहयोगी बनिरहेको छ ।
अभिभावक सितै केटाकेटी सडकमा टायर बालिरहेका छन् । प्रहरी चौकीमा आगो झोस्न पुगेका छन् । सवारीमा पेट्रोल खन्याएर त्यसलाई डढाउन उद्दत छन् । यसरी झोसिएको आगोबाट बल्ने राँकोले क्षणिक उज्यालो दिन्छ भन्ने ती अभिभावकले बेलैमा बुझ्नु जरुरी छ र आफ्ना केटाकेटीलाई पनि बुझाउनु पर्छ । यो क्षणिक उज्यालो एक छिनलाई हो । यसले नानीहरुलाई भविष्य पहिल्याउन सघाउँदैन । यो क्षणिक आगो निभेपछि नानीहरुका लागि संसार ज्ञान र सिकाइका हिसाबले अँध्यारो हुनेछ । सन्ततीका लागि दीर्घकालीन रुपमा भविष्य हेर्न त आखिर शैक्षिक उज्यालो नै चाहिन्छ । जुन कुरा अहिलेको आन्दोलन र बन्दबाट सम्भव छैन भन्ने आन्दोलनरत पक्षले नसम्झिने हो भने यो आत्मघाती कदमले उनीहरुलाई नै अन्धकारमा धकेल्ने छ ।
यसका लागि सरकार र आन्दोलनकारी दुवै पक्ष वार्ताबाट समस्या समाधान गर्न संवेदनशील हुनै पर्छ । विद्यालय खोल्न र सुरक्षित रुपमा बालबालिकाले पढ्न पाउने अधिकारको दुवैले सम्मान गर्नु पर्छ । भोलि हाम्रा नानीहरुले २०७२ लाई पढ्न नपाएको कालो वर्षका रुपमा सम्झिने छन् । र, उनीहरुले २०७२ सालमा मेरो स्कुल किन खुलेन ? मेरो कक्षा किन चलेन ? मैले किन पढ्न पाइन ? भनेर पक्कै सोध्ने छन् । त्यसका लागि जवाफ दिने ठाउँ राख्न पनि अहिले उनीहरुलाई पढ्न दिनु जरुरी छ ।
प्रकाशित मिति २०७२ मंसिर ८ गते
प्रतिक्रिया