Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

जिल्ला बाहिर रहेका शिक्षकले 'पिसिआर' रिपोर्ट ल्याउनु पर्ने, खर्च आफ्नै

सोमबार, २६ साउन २०७७

भोजपुर - विद्यालय पुग्नु अघि हरेक शिक्षक कर्मचारीले कोरोना भाईरस (कोभिड - १९) को परीक्षण रिपोर्ट  'पिसिआर' लिएर आउन टेम्केमैयुङ् गाउँपालिकाले निर्देशन दिएको छ । यसरी गरिएको परीक्षणको खर्च शिक्षक कर्मचारी स्वयंले वेहोर्नु पर्ने गाँउपालिकाले जनाएको छ । उक्त विषय उल्लेख गर्दै पालिकाले आफ्नो क्षेत्र भित्रका सबै विद्यालयलाई परिपत्र गरेको छ । 

कोभिड - १९ को संक्रमण जोखिमका कारण बन्द भएको शैक्षिक गतिविधि भदौ १ गते देखि सञ्चालन गर्ने र यसका लागि शिक्षकहरुलाई विद्यालयमा उपस्थित गराउन संघीय सरकारले निर्णय गरेको छ । सोही निर्णयका आधारमा उक्त निर्देशन जारी गरिएको पालिकाले जनाएको छ । 

'जिल्ला बाहिर रहेका शिक्षकहरु आफ्नो कार्यस्थलमा आउँदा पिसिआर रिपोर्ट सहित आउनु पर्ने अन्यथा पिसिआर रिपोर्ट नभएका शिक्षकहरुले अनिवार्य रुपमा १४ दिनसम्म क्वारेण्टाईनमा बस्नु पर्ने र क्वारेण्टाईनमा बस्दा र पिसिआर गर्दा लाग्ने खर्च स्वयं सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्ने छ' सबै विद्यालयलाई पठाईएको उक्त परिपत्रमा भनिएको छ 'यात्रा गर्दा भएसम्म निजी सवारी साधन प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउनु हुन अनुरोध छ ।'   

पालिकाको उक्त परिपत्रका बारेमा अन्य जिल्लाका शिक्षकहरुले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । उक्त कार्यलाई पालिकाले आफूहरुलाई हेपेको शिक्षकको व्याख्या छ । तर स्वास्थ्य सचेतना अपनाएकै कारण आफ्नो भित्र कुनै सक्रमण फैलिन नपाएको भन्दै पालिका अध्यक्ष धुर्वराज राईले यसलाई स्वास्थ्य सावधानीका रुपमा बुझ्नु पर्ने बताए । शिक्षकहरुले कुरै नबुझि भाइरल बनाएको उनको भनाई छ । 

'कतिपय शिक्षकहरुले विरोध गर्दै भाईरल बनाएका रहेछन्, तर यत्तिको सचेत भएकैले हामीले पालिकालाई सुरक्षित राख्न सकेका छौं' उनले भने 'अहिले कोरोना भएको जिल्लाबाट भकाभक मान्छे छिर्न दिने हो भने र सोत्तर भईहाल्छ नी, म पनि अहिले काम विशेषले धरान झरेको छु फर्के पछि १४ दिन त म आफूँ पनि क्वारेण्टाईनमै बस्ने हो । शिक्षकहरुलाई पनि १४ दिन क्वारेण्टाईनमा बस्नु भन्दा किन आपत्ति हो ?'

पालिका भित्रका विद्यालयमा वितेका ४ महिना देखि कुनै पनि शैक्षिक गतिविधि शुरु भएको छैन । बाहिर रहेका शिक्षक नआएको भन्दै पालिका भित्रकै शिक्षक पनि चुपचाप बसेका छन् । तराई मधेस र अन्य बाहिरी जिल्लाका १४ जना शिक्षक पालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत छन् । पालिकामा ४५ वटा सामुदायिक र एउटा निजी विद्यालय छ । सामुदायिक विद्यालयका शिक्षकको तलबमा बार्षिक ९ करोड रुपैंया खर्च हुन्छ । वितेको ४ महिना देखि शिक्षकहरु कुनै शैक्षिक गतिविधिमा संलग्न छैनन् ।  

'हामीसँग न रेडियो न टिभी बालबालिका त यसै खेलेरै बसेका छन्' अध्यक्ष राईले भने 'अब भदौ १ गते देखि शिक्षकहरु आउलान् र केही शुरु होला भनेको अर्को उत्पात मच्चाउन थालेछन् ।'

संकटको बेलामा पनि दायित्व प्रति प्रतिवद्ध शिक्षकहरुले अनेक उपाय अपनाएर बालबालिकाको सिकाइ निरन्तर गरेका थुर्पै उदाहरण छन् । 

पढ्नुहोस् संकटका बेलामा पनि शिक्षकले गरेका केही नयाँ अभ्यास : 

हेलिकप्टर चढेर विद्यालयमा हाजिर

शिक्षक विद्यालयमा मात्रै हैन, पुग्न थाले टोल टोलमा

चौतारो र चौरमै शिक्षक : गफ चुट्नेहरु बसिरहेछन्, काम गर्नेहरु अघि बढि सके !

प्रतिक्रिया