Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

शिक्षा सचिवको अवकास, औपचारिकतामै वित्यो नौ महिना

विहीबार, १८ बैशाख २०७७

काठमाडौं - शिक्षा सचिव महेश प्रसाद दहालले अवकास पाएका छन् । सचिवको कार्यकाल ५ महिना बाँकी नै रहे पनि उमेर हदका कारण दहालले बिहीबार अवकास पाएका हुन् । उनको अवकास सँगै मन्त्रालयको सचिवको जिम्मेवारी स्वतः विज्ञान तथा प्रविधि तर्फका सचिव डा. सञ्जय शर्मा मातहत भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । सचिवको सरुवा र जिम्मेवारी तोक्ने काम मन्त्रीपरिषद्को हो ।

दुईवटा मन्त्रालय एक आपसमा गाभिए पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा र विज्ञान तर्फ छुट्टा छुट्टै सचिवले काम गर्दै आएका थिए । शिक्षा सचिवको जिम्मेवारी पनि शर्मालाई नै तोकिनुको अर्थ दहालको अवकास सँगै मन्त्रालयमा एउटै सचिव राख्ने मन्त्रीको योजना रहेको अड्कल काटिएको छ । गत बर्ष भदौ २ गतेको मन्त्रीपरिषद् बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दहाललाई शिक्षा सचिव बनाउने निर्णय गरेको थियो । 

दहालको नौ महिने कार्यकालमा शिक्षा क्षेत्रमा खास उल्लेखनीय कार्य भने केही भएनन् । प्रधानमन्त्री निकट मानिएका सचिव दहाल शिक्षा मन्त्रालयमा आएसँगै उनी अघिका सचिव खगराज बरालले गरेको त्रुटि सच्चिने, शिक्षा क्षेत्रका उल्झन् समाधान हुने र शिक्षा प्रशासन चुस्त हुने अपेक्षा गरिएको थियो । तर, उनको कार्यकाल पनि उल्लेख्य काम नभई औपचारिकतामै सकिएको छ ।

संघीयता कार्यान्वयनको चरणमा शिक्षाका विषयलाई आवश्यक गति दिन नसकेको, शिक्षाका कर्मचारी समायोजनमा विभेद भएको तथा शिक्षकका नेताहरुको मागमा ’ल्याप्चे लगाएर’ स्थानीय सरकारबाट विद्यालय शिक्षाका अधिकार कटौतीको प्रयास गरी संविधानको मर्म विपरित कार्य गरेको आरोप लागेका  बरालको कार्यशैली दहालबाट सच्चिने अपेक्षा गरिएको थियो । स्थानीय सरकारले कडिकडाउ गर्न थाले पछि उनीहरु मातहत नबस्ने शिक्षकका नेताहरुको मागमा बरालले मन्त्रालयका तर्फबाट लिखित सहमती गरेका थिए । जुन विषय संघीयताको मर्म विपति तथा शिक्षा क्षेत्रको सुधारको वाधकका रुपमा ईतिहासमा अँकित भएको छ । 

दहालको कार्यकालमा राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरिए पनि नीति सहित शिक्षाको समग्र व्यवस्था कार्यान्वयन गर्ने गरी राष्ट्रिय शिक्षा ऐन जारी हुन सकेन । सचिव दहालका अघिल्तिर बरालले गरिसकेका गल्ती सच्याउने र शिक्षा क्षेत्रलाई गति दिने सुवर्ण मौका थियो । तर, मुख्य काम नै नभई उनको कार्यकाल सकिएको छ ।

२०४४ सालमा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका दहालले लामो समय श्रम र स्थानीय विकास मन्त्रालय अन्र्तगतका निकायहरुमा रहेर कार्य गरेका थिए । उनको शुरुको पोष्टिङ् नै तत्कालिन श्रम र समाज कल्याण मन्त्रालयमा भएको थियो । ०४९ मा उपसचिव र ०६३ सालमा सहसचिव भएका दहाल हँङकङ्को महावाणिज्य दूत पनि भएका थिए । उनी ०७२ साल असोजमा सचिवमा बढुवा भएका हुन् । 

यसैबीच शिक्षा मन्त्रालयको योजना महाशाखाका प्रमुख तथा सहसचिव डा. कमल पोखरेलको सरुवा भएको छ । सुदुरपश्चिम प्रदेशमा सरुवा भइसकेका पोखरेल केही दिनमा रमाना लिएर जाने तयारीमा रहेको मन्त्रालय श्रोतले जनाएको छ । उनी अघि नै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलको पनि अवकास भईसकेको छ । सत्ताधारी दल भित्र रस्साकस्सि जारी रहेकाले ति निकायमा तत्काल सहसचिव सरुवा नहुने अवस्था देखिएको मन्त्रालय श्रोतको दावी छ ।

तस्विर : शिक्षा मन्त्रीका स्वकीय सचिव केसीको फेसबुकबाट *

* सच्याईएको - सं.

प्रतिक्रिया