Edukhabar
विहीबार, २९ कार्तिक २०८१
खबर/फिचर

रोकिएका परीक्षा गरि छाड्ने, अवस्था सामान्य भएको तीन साता पछि परीक्षा

शनिबार, १३ बैशाख २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को जोखिम न्यूनिकरण गर्न सरकारले अपनाएको विधिका कारण रोकिएका विद्यालय तहका परीक्षा गरेरै छाड्ने शिक्षा मन्त्रालयले तयारी गरेको छ । कोरोना संक्रमणको त्रासका कारण उत्पन्न परिस्थितीले विद्यार्थी तथा अभिभावकको मनस्थितीमा  असर पारेको हुँदा चलिआएको परीक्षाको विधि परिवर्तन गरेर आन्तरिक मूल्याकंन विधिबाट कक्षोन्नति गर्न सकिने विज्ञहरुले सुझाव दिदैं आए पनि मन्त्रालय परीक्षा गरिछाड्ने पक्षमा देखिएको हो । शनिबार शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले आफू पनि सकेसम्म परीक्षा गर्ने पक्षमा रहेको बताए । कक्षा १२ विद्यालय तहको अन्तिम परिक्षा भएकाले गर्नैपर्ने उनको तर्क छ ।

राष्ट्रिय परीक्षा बोर्ड, सिटिईभिटि र विभिन्न विश्वविद्यालयले भने अनुसार स्थिती सामान्य भएको तीन साता पछि परीक्षा लिन सकिने उनले बताए ।  

'स्थिती सामान्य भएको तेस्रो सातामा परीक्षा सञ्चालन गर्न सकिने गरी बोर्डले तयारी गरेको छ' उनले भने 'घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाईने छ ।'

अबको पहिलो साता नतिजा निकाल्ने, त्यस पछिको सातामा भर्ना गर्ने गरी बाटो खोल्ने तयारी भएको पनि उनले बताए । त्यस लगत्तै उनले जारी लकडाउनको अन्त्य भए पनि सबै भन्दा पछि मात्रै शैक्षिक संस्था खुल्ने पनि बताए । मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालय अघि बढ्ने पनि बताए । मन्त्रालयले गठन गरेको विज्ञ समितिले आइतवारसम्ममा प्रतिवेदन बुझाउने र मन्त्रिपरिषद्ले सोमबार सकिने लकडाउन लगायतका विषयमा थप निर्णय गर्ने भएकाले त्यसकै आधारमा शिक्षाका योजना बनाईने पनि उनले बताए । अहिलेको अवस्थामा शिक्षा क्षेत्र सञ्चालनका विकल्पहरुबारे सुझाव दिन मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति र त्यस अन्र्तगत विभिन्न ६ वटा विषयगत समिति गठन गरेको छ ।

सयौ विद्यार्थी भेला हुने र कक्षा कोठामा पनि उल्लेख्य संख्या रहने भएकाले सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउन पछि सबै भन्दा अन्तिममा खुल्ने पोखरेलले बताएका छन् ।

'अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएकाले पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव देखिदैन, त्यसैले नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको खोजी भईरहेको छ' उनले भने 'दशैं अघि सम्ममा नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न सके पनि शैक्षिक सत्र विग्रदैंन, जाडो–गर्मी विदा, चाडपर्वका विदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किनबाट रोक्न सकिन्छ ।'

अहिले सम्म अवस्था जटिल नबने पनि जाडोको महिनामा कोरोनाको अर्को चरण शुरु हुने भन्ने विज्ञको आंकलनलाई मध्यनजर गर्दा पहिलेको कक्षा कोठाको बसाईका हिसाबले पठन पाठन हुन नसक्ने पनि उनको भनाई छ । कोभिड १९ संक्रमण, रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, स्वास्थ्य मन्त्रालय र विज्ञ समितिका सुझावका आधारमा शिक्षाका तत्कालिन, मध्य र दीर्घकालिन योजना बनाइने पनि उनले बताए ।

उनले बोल्ने क्रममा कतिपय कुरा आफैंले एकछिन अघि बोलेको कुराको विपरित बोलेका थिए । प्रेस मिट भनिए पनि मन्त्री पोखरेलले एकोहोरो बोलेर आफ्ना धारणा व्यक्त गरेका कारण उनका त्यस्ता अस्पष्ट धारणा स्पष्ट हुन सकेनन् । समयमा मन्त्रीको 'डिभाईस कनेक्ट' नहुँदा तोकिएको समय भन्दा एक घण्टा ढिलो मात्रै भर्चुअल प्रेस मिट शुरु भएको थियो । उक्त समयमा आफू अरुनै काममा व्यस्त हुनु पर्ने भएकोले पत्रकारहरुसँग दोहोरो कुरा गर्न समय नभएको भन्दै मन्त्री पोखरेल एकोहोरो बोलेर गएका थिए ।  

भर्चुअल प्रेस मिटमा काठमाडौं र विभिन्न जिल्लाका गरी झण्डै तीन दर्जन पत्रकार सहभागी थिए । महामारीका कारण उत्पन्न असहज परिस्थितीमा पनि शिक्षा अधिकार सुनिश्चितताका सवालमा बहस पैरवी आवश्यक रहेकोले समूहले शिक्षाका समसामयिक बिषयबस्तुमा केन्द्रीत रही अन्र्तक्रियात्मक भर्चुअल प्रेस मिटको शृखला सुरु गरेको अध्यक्ष तुला अधिकारीले बताए । शुक्रबार समूहले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग छलफल गरेको थियो । 

प्रतिक्रिया