Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

अनलाईनबाट पठनपाठनको निर्देशन, विकल्प विना आएको भन्दै आलोचना

शुक्रबार, १२ बैशाख २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड-१९) को जोखिम न्यूनिकरण गर्न भन्दै जारी लकडाउनका कारण रोकिएको पठन पाठन सञ्चालन गर्ने बारेमा अन्योल जारी रहेका बेला त्रिभुवन विश्वविद्यालयले अनलाईनबाट पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले देश भरका विभाग तथा क्याम्पसहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले शुक्रबार अनलाईन पठन पाठनका लागि तयार रहन शिक्षक, विद्यार्थी र कर्मचारीलाई सूचीत गरेका छन् । अहिलेको अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकोले विद्यार्थीको शैक्षिक बर्षमा असर नपरोस् भन्ने ध्येयले विश्वविद्यालयका प्रयोगात्मक बाहेक सबै कार्यक्रम र विषयहरुलाई अनलाईनबाट अध्यापन गर्न आवश्यक व्यवस्था प्राज्ञिक परिषद्बाट भएको जनाईएको छ ।

'त्रिवि कार्यकारी परिषद्ले तत्कालको अवस्थामा कार्यान्वयनमा ल्याएको विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७७ बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीन कार्यालयहरुमा पत्र पठाई सकिएको छ' उक्त सूचनामा भनिएको छ, 'आआफ्नो डीन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यामबाट कक्षा सञ्चालन गर्नु गराउनु हुन त्रिविका सबै आँगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी, विद्यार्थीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

विश्वविद्यालयको उक्त तयारीलाई केही विद्यार्थीले भने आलोचना गरेका छन् । विश्वविद्यालयले तत्कालै कक्षा शुरु गर्ने गरी सूचना जारी गरे पछि ईण्टरनेटको पहुँचमा रहन सक्नेहरु समेत बञ्चित हुने भन्दै उनीहरुले आलोचना गरेका हुन् । लकडाउनसँगै आआफ्ना घर गएका कतिपय विद्यार्थी तत्काल फर्कन सक्ने अवस्था नहुने र गाउँ घरमा ईण्टरनेटको सहज पहुँच नहुने हुँदा उनीहरुको अवस्था विश्लेषण विनै विश्वविद्यालयले कार्य गरेको भन्दै उक्त आलोचना भईरहेको छ ।  यस्तै कतिपय विद्यार्थीसँग अनलाईन पढ्नका लागि आवश्यक ल्यापटप, कम्प्युटर, लगायतका सामग्री नभएको र किन्ने हैसियत पनि नभएकोले उनीहरुका बारेमा विकल्प विनै कार्यक्रम शुरु गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा पहुँच भएका विद्यार्थीले आलोचना गरेका छन् ।

कतिपय विद्यार्थीले विश्वविद्यालयले हतारमा उक्त कार्य गरेको भन्दै अनलाईनका नाममा प्रविधि खरीद गर्दा चलखेल भएको त छैन भन्दै शंका पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया